मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

स्विमिङ पुलमा पौडी खेल्दा रोग सर्ने डर कत्तिको हुन्छ ?

चर्को घाम र पसिनाबाट शरीरलाई शीतलता प्रदान गर्न हामी स्विमिङ पुलमा गएर पौडिएर आनन्द लिने गर्छौं । गर्मीमा पौडिनुको मज्जा नै बेग्लै हुन्छ । पौडी खेल्दा शरीरलाई शीतलता प्रदान गर्नुका साथै मन चङ्गा भएर शरीर पनि फूर्तिलो हुन्छ ।

अहिले त वयस्क मात्रै नभएर बालकदेखि वृद्धासम्म स्विमिङ पुलमा गएर पौडिन रमाउँछन् । पौडी खेल्दा गर्मीबाट राहत दिनुका साथै यो सम्पूर्ण शरीरको व्यायाममा पनि फाइदाजनक छ । यद्यपि पौडी खेलनुअघि हामीले केही सावधानी अपनाउन जरुरी छ । पौडी खेल्दा के कस्ता कुराहरूमा सावधानी अपनाउनुपर्छ लगायतका विषयमा यौन तथा चर्मरोग विशेषज्ञ डा. अनुपमा कार्कीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

स्विमिङ पुलमा पौडी खेल्दा हामीले के–कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?

स्विमिङ पुलको पानीमा क्लोरीन हुन्छ जुन हाम्रो छालाका लागि हानिकारक मानिन्छ । क्लोरीनका कारण छालामा सुख्खापन, दाद, चिलाउने तथा पोल्ने जस्ता समस्या सिर्जित हुन सक्छन् । यसर्थ पौडी खेल्नु अघि र पछि आफ्नो छालालाई स्वस्थ र चम्किलो राख्न यसको हेरचाह गर्नु निकै आवश्यक छ । पौडी खेल्न जानुअघि र ध्यान दिनुपर्ने कुरा धेरै छन् । पौडी खेल्न जानुअघि चिसो पानीले नुहाएर स्विमिङ पुलभित्र जानु उपयुक्त हुन्छ । यसले छालालाई क्लोरिनबाट हुनसक्ने समस्याबाट केही हदसम्म जोगाउँछ ।

यसरी स्विमिङ पुलमा जानुअघि शरीर भिजाउँदा क्लोरिन पानी छालामा कम सोस्छ । यदि शरीर नभिजाइकन जाँदा छालाले क्लोरिनयुक्त पानी धेरै सोस्न सक्छ । जसले गर्दा छालामा विभिन्न किसिमका समस्या हुनसक्छ । यस्तै स्विमिङ पुलमा जानुअघि छाला चिल्लो हुने क्रिमको प्रयोग गर्नुपर्छ, जसले पानीलाई छालाभित्र छिर्न रोक्छ । त्यस्तै, पानीका साथै छालालाई घामबाट जोगाउन सनब्लक क्रिम लगाउनुपर्छ । यो स्विमिङ पुल जानुभन्दा १५–२० मिनेटअघि लगाउनुपर्छ । यसले छाला कालो हुनबाट जोगाउँछ । यस्तै, सनब्लक क्रिम वाटर रेजिस्टेन्स भएको ३० प्लस एसपीएफ भएको लगाउनुपर्छ ।

स्विमिङ गर्दा छालाको साथै कपालको पनि ध्यान पुर्‍याउनुपर्छ । त्यसैले स्विमिङ गर्नुअघि कपालमा कन्डिसनर लगाएर नुहाएर क्याप लगाउनुपर्छ । किनभने स्विमिङ पुलमा भएको क्लोरिनले कपाल सुक्खा हुने, टुक्रिने र चाया पर्ने हुनसक्छ । स्विमिङ गरिसकेपछि स्याम्पु लगाएर कपाल पनि नुहाउनुपर्छ ।

क्लोरिनले निम्त्याउनसक्ने जोखिम पनि कम हुनसक्छ । यसबाहेक आँखामा असर पुग्न नदिन स्विमिङ चश्मा अनिवार्य लगाउने, कानभित्र पानी नछिरोस् भनेर इयर प्लग राख्ने र यौनाङ्गमा संक्रमण हुन नदिन पौडी खेल्दा लगाएको कपडा तुरुन्तै फेर्नुपर्छ ।

पौडी खेलेपश्चात् कस्तो सावधानी अपनाउने ?

स्विमिङ गरिसकेपछि वा स्विमिङ पुलबाट निस्किसकेपछि पहिले सफा पानीले शरीर पखाल्नुपर्छ । यसले शरीरमा टाँसिएका क्लोरिन तत्वलाई पखाल्ने काम गर्छ । छालामा नकारात्मक असर हुनबाट जोगाउँछ ।

हामीहरु स्विमिङ पुल जाँदा दिनभर जस्तो नै पौडी खेल्ने गर्छौँ, स्वास्थ्यका दृष्टिकोणले कति समय स्विमिङ गर्नु उचित हुन्छ ?

स्विमिङ बढीमा एकदेखि दुई घण्टा मात्र गर्दा राम्रो हुन्छ । त्यस्तै, छालालाई घामबाट जोगाउन स्विमिङ बिहान १० बजे अघि र दिउँसो ४ बजे पछि गर्नु राम्रो हुन्छ । किनकि यस अवधिमा चर्को घाम नहुने भएकाले छालालाई धेरै असर गर्दैन ।

कस्तो अवस्थामा स्विमिङ गर्नु हुँदैन?

छालामा चोटपटक लागेको छ वा छालासम्बन्धी कुनै समस्या भएको अवस्थामा स्विमिङ नगर्नु नै राम्रो हुन्छ । किनकि यसले अरुलाई पनि छालाको रोग सर्न सक्छ ।

स्विमिङ पुलमा प्रयोग हुने क्लोरिन के हो ? र किन प्रयोग गरिन्छ ?

स्विमिङ पुलको पानी सफा राख्न क्लोरिन तत्व मिसाइएको हुन्छ । क्लोरिन एक प्रकारको रासायनिक पदार्थ हो । यो मुख्यतया पानी निर्मलीकरण र पानीमा भएको कीटाणु र ब्याक्टेरियालाई नष्ट गर्न प्रयोग गरिन्छ ।

स्विमिङ गर्दा सावधानी नअपनाए के–कस्ता जटिलताहरू निम्तन सक्छन् ?

स्विमिङ गर्दा सावधानी नअपनाएमा क्लोरिनको कारण छाला सुक्खा हुने, छाला चिलाउने, छालामा घाउ आउने, छालामा दाद आउने, एलर्जी आउने हुनसक्छ । साथै छाला चिलाउनाले इन्फ्लामेसन अर्थात् सुन्निने समस्या, एक्जिमा अर्थात् छालामा रातोपन आउने लगायत समस्या हुनसक्छ । कसैकसैलाई पहिलैदेखि छालाको रोग भएमा स्विमिङ गर्दा समस्या झन बल्झिने जोखिम हुनुका साथै अन्य छालासम्बन्धी संक्रमण हुने खतरा बढ्छ । त्यस्तै, पानीमा भएको क्लोरिनले कपाल टुक्रिने, सुक्खा हुने र पातलो हुँदै जाने हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?