काठमाडौँ– शनिबार राष्ट्रिय नाचघर जमलमा गजलकारहरुका गजल शेरहरुकाे धुनले गजलप्रेमीहरु मन्त्रमुग्ध भए ।
आदि गजलकार मोतीराम भट्टको १५९ औँ जन्मजयन्तीको अवसरमा नेपाल गजल प्रतिष्ठानले गजल मुशायराको पाँचौँ शृङ्खला अन्तर्गत लोकेश संघात, सविता बराल, परिविक्रम गजलकारहरुले गजलका निकै चोटिला र प्रभावशाली शेरहरू प्रस्तुत गरेका थिए । तीन जना स्रष्टाले आफ्ना पाँच/पाँचवटा तथा अन्य तीन जनाका एक/एकवटा गजल वाचन गरेका थिए ।
कार्यक्रममा ‘विश्वव्यापी गजल प्रतियोगिता–२०८०’का विजेता कुशलनाथ योगीको गजलकृति ‘कोहिनूर’ सार्वजनिक समेत गरियो । प्रा.डा. देवी नेपालले कृतिमाथि टिप्पणी गर्दै योगी नयाँ पुस्ताका कुशल र अब्बल गजलकार रहेका बताए ।
गीतकार एवं गजलकार करुण थापाले अब नेपाली गजलले सही बाटो पहिल्याउन थालेको र नयाँ पुस्ताले नेपाली गजललाई उचाइ दिनेमा आफू विश्वस्त रहेको बताए ।
उक्त अवसरमा नेपाल गजल प्रतिष्ठानले गरेको ‘विश्वव्यापी गजल प्रतियोगिता–२०८१’को नतिजासमेत सार्वजनिक गरिएको थियो । प्रतियोगितामा रेशम अधिकारीले प्रथम स्थान हासिल गरे । अधिकारीसहित नारायण सिटौला ‘इरादा’, मिलनकुमार ढुङ्गाना, चित्र थापा, विपिन नेपाल गजल उत्कृष्ट पाँचमा परेका थिए ।
नेपाली गजलको विकास र विस्तारको मूलमन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने र सुनाउने कार्यक्रम गर्दै आइरहेको छ भने बहर–बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षणसमेत दिदै आएको छ ।
आगामी दिनमा नेपाली गजललाई लेखनमा परिष्कारसहित गायनमा समेत तीव्रता दिइने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया