अहिले विश्वका विभिन्न मुलुकहरुमा निकै भाइरल बनिरहेको मङ्कीपक्स रोग नेपालमा पनि भित्रिने क्रममा छ । तर नेपालीहरुमा नै भने देखिसकेको प्रमाणित भएको छैन ।
विदेशबाट नेपाल आएकी एक महिलामा भने देखापरेको छ । छालामा समस्या देखिने यो रोग निकै घातक पनि छ । उक्त रोगबाट बच्न शतर्कता अपनाउन अधिकारीहरूले आह्वान गरेका छन् । यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशहरूका उष्ण तटीय वर्षा वन नजिक रहेका दुर्गम भेगहरूमा पाइन्छ ।
अफ्रिकाबाट नै यो भाइरस अन्य देशहरुमा फैलिएको हो । हालसम्म १११ देशमा यो भाइरस देखिइसकेको छ । यसकारण यतिबेला आम मानिसहरु मङ्कीपक्स रोगसँग निकै त्रसित भइरहेका छन् । यसकारण हामीले ‘मङ्कीपक्स कस्तो रोग हो ?, यो रोग लाग्ने कारण के हो ?
साथै यो रोग सर्छ या सर्दैन र कतिको जटिल रोग हो’ लगायतका प्रश्नहरुमा केद्रीत भएर छालारोग विशेषज्ञ डा.सुदिप पराजुलीसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं ।
मङ्कीपक्स कस्तो रोग हो ?
मङ्कीपक्स एक प्रकारको भाइरल सङ्क्रामक रोग हो । जसलाई ‘एमपक्स’ पनि भनिन्छ । यो रोग मङ्कीपक्स भन्ने भाइरसको सङ्क्रमणबाट लाग्छ । यो रोग लाग्दा शुरुमा ज्वरो आउँछ, त्यसपछि रातो र्यासेज दागहरु आउँछ र पानी फोका जस्तो बन्छ । यसको दाग ६ देखि ८ हप्तासम्म रहन्छ ।
के कारणले यो रोग लाग्ने गर्छ ?
यो भाइरसको इतिहास केलाउँदा यो बाँदरबाट मानिसमा सरेको हो । अहिले मानिसबाट मानिसमा नै यो रोग सरिरहेको छ । यो रोग सर्ने कारण भनेको संक्रमित व्यक्तिको सम्पर्कमा रहनु नै हो ।
यो रोग कसरी पत्ता लाग्छ ?
यो भाइरस पनि कोरोना भाइरस जसरी नै पिसिआर कै माध्यमबाट चेकजाँच गरेर पत्ता लगाइन्छ ।
यसका लक्षणहरु के–कस्ता देखा पर्छन् ?
ज्वरो आउनु, टाउको दुख्नु, जिउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु लगायतका लक्षणहरु देखा पर्छन् । एक पटक ज्वरो आएपछि शुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ । त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुन सक्छन् । डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ । सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ ।
यो रोग एक व्यक्तिमार्फत अरुमा सर्छ या सर्दैन ? सर्छ भने कसरी सर्छ ?
सङ्क्रमित व्यक्ति वा जनावरको निकट सम्पर्कमा आउँदा मङ्कीपक्स सर्नसक्छ । फुटेको छाला, श्वासनली वा आँखा, नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ । शारीरिक सम्बन्धको क्रममा पनि यो सर्न सक्छ । त्यस्तै, बाँदर, मुसालगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।
यो रोगले कस्तो जटिलता निम्त्याउन सक्छ ?
यो सङ्क्रमण कोभिडजस्तो डरलाग्दो भने छैन । तर कोभिड जस्तैः धेरै डरलाग्दो नभए पनि मङ्कीपक्सले सङ्क्रामक रूप लिन सक्ने भएकाले सतर्क भने बन्नुपर्छ । प्रायः यो भाइरसले मध्यम खालका असरहरू गर्छ । कहिलेकाहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ । यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामीको मृत्यु भएको समेत पुष्टि भएको छ ।
सङ्क्रमणबाट कसरी बच्ने ?
मङ्कीपक्सको सङ्क्रमणबाट बच्नका लागि सङ्क्रमणको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा जानु हुँदैन । त्यस्तै, सङ्क्रमितको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिका लुगा, ओछ्यान र भाँडा तातोपानी वा साबुन पानीले धुनुपर्छ ।
मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्नुपर्छ ।
यो रोगले कुन उमेरसमूहका व्यक्तिहरु ग्रसित भइरहेका छन् र मृत्युदर कस्तो छ ?
यो रोगले मुख्यगरी एडल्ट ग्रुप अर्थात् घरबाहिर काममा निस्किने व्यक्तिहरु ग्रसित भइरहेका छन् । मृत्युदरको कुरा गर्नुपर्दा न्युनतम मात्रै छ ।
यसको उपचार विधि के छ ?
मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ । यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति बिफरविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ । त्यसैले अझै पनि उक्त खोपको प्रयोग गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया