घरको भित्तामा लाग्ने दागहरू मध्ये तेलको दाग पनि एक हो । यो दाग हामीले खाना पकाउँदा वा कहिलेकाहीँ हात भित्तामा दल्नाले पनि लाग्ने गर्छ । जसले घरको सुन्दरतालाई बिगारिरहेको हुन्छ ।
यस्तो किसिमको दागलाई हटाउन गाह्रो पनि हुन्छ । आज हामी घरको भित्तामा लागेको तेलको दागलाई सजिलै सफा गर्न सकिने केही उपाय बारे जानकारी दिँदै छौँ ।
त्यसका लागि एक महत्त्वपूर्ण उपाय हो भिनेगरको प्रयोग । मसलाको रूपमा प्रयोग हुने भिनेगर भित्तामा लागेको दाग हटाउन एकदमै प्रभावकारी हुन्छ ।
सफा स्पन्जमा थोरै भिनेगर हालेर भित्तामा लागेको दागमा घोट्नुहोस् । दागमा तबसम्म रगड्नुहोस् जबसम्म दाग सफा हुँदैन । दाग सफा भइसकेपछि भिनेगर हटाउनका लागि अर्को सुख्खा कपडाले पुछ्नुहोस् ।
त्यस्तै मकैको पिठो पनि यसको अर्को विकल्प हुन सक्छ । एक कप पानीमा तीन चम्चा मकैको पिठो हाल्नुहोस् र पेस्ट बनाउनुहोस् । त्यो पेस्टलाई दाग लागेको ठाउँमा लगाएर केही समय छोड्नु होस् । त्यसपछि चिसो कपडाले पेस्ट निकाल्नुहोस् । तेलको दाग सफा नहुँदासम्म यो प्रक्रिया गरिरहनुहोस् ।
यो बाहेक तातोपनको सहयोगले पनि भित्तामा लागेको दाग सजिलै हटाउन सकिन्छ । यसका लागि तपाईँले आइरनको प्रयोग गर्न सक्नुहुन्छ । तर आइरन सिधै भित्तामा प्रयोग गर्नु हुँदैन । त्यसका लागि आइरनलाई तताउनुहोस्, केही पेपर टावेल दोब्राएर दाग लागेको ठाउँमा राख्नुहोस् ।
एक हातले पेपर टावेल समात्नुहोस् र अर्को हातले तताएको आइरनले थिच्नुहोस् । यसरी पेपर टावेलले भित्ताको तेल सजिलै सोस्ने काम गर्छ । यो प्रक्रिया तेलको दाग ननिस्किँदासम्म गरिरहनु होस् । तेलको दाग निस्के पछि साबुन पानीले सफा गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया