मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बौद्धमार्गीहरूले मनाए पञ्चदान पर्व

भक्तपुर– भक्तपुरमा आज पञ्चदान पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज बौद्धमार्गीहरूले भव्य रूपमा मनाएका हुन् । नेपाल सम्वत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले यो पर्व प्रचलनमा ल्याएको इतिहास छ ।

आज पाँच दीपंकरहरूलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइएको छ ।

काठमाडौँस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरूलाई भक्तपुर नगर परिक्रमा गराइएको छ ।

यस पर्वमा बौद्धमार्गी नेवारहरूले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाइ अन्न, फलफूल र दक्षिणा दान दिएका छन् । बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भने उक्त टोल टोल पुगेर अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी भएका छन् ।

काठमाडौँ उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले जानकारी दिए । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरूलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइने उनले बताए ।

दीपंकर बुद्धसँगै बौद्धमार्गीहरू बौद्ध परम्पराअनुसार पिण्डपात्र ९गुलुपा० हातमा लिएर भिक्षाटनमा सहभागी हुने बज्रचार्यले जानकारी दिए । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिने परम्परा रहेको छ ।

आज अपरान्ह पाँच दीपंकरहरूलाई टौमढीमा एकैपटक भेला गराइ संयुक्त पञ्चदान पर्व मनाएर समापन गरिने उनले बताए । टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएर संयुक्त पञ्चदान गरिने उनले बताए ।

यस पर्वको प्रमुख विशेषता गुँलाबाजा बजाउनु नै हो भन्दै पुष्परत्न शाक्यले टौमढीमा बौद्धमार्गीहरूले दानगाथा र स्त्रोत्र वाचनसँगै गुँलाबाजा बजाउने परम्परा रहेको बताए । बौद्धमार्गीहरुको पञ्चदान पर्वमा मात्रै बजाइने गुँलाबाजा दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, प्वंगाबाजा, दाफा भजन शृङ्गभेरी बाजाको साङ्गीतिक समूहहरूले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको उनले बताए ।

विहार र बहीहरूमा संरक्षित बौद्ध सम्पदाहरूको प्रदर्शनसमेत गर्ने परम्परा रहेको छ । बौद्धमार्गीले आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दिने प्रचलन रहँदै आएको शाक्यले बताए ।

देवचन्द्र बज्राचार्यले पाँच दीपंकर बुद्धलाई पाँच पाण्डव भनेर विभिन्न समाचारदेखि व्यक्तिहरूले चर्चा गरेकामा गुनासो गर्दै यो पाँच पाण्डव नभइ पाँच दीपंकर भएको स्पष्ट पारे । भक्तपुर नगरपालिकासँगै मध्यपुर थिमि, काठमाडौँ, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइने प्रचलन रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?