मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुमघाम

सिन्धुलीगढी घुमेर हेर्दा…

काठमाडौँ– ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो’ । वि. सं. २०३६ मा रचना गरिएको यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय छ ।

यो गीत मात्रै नभई सिन्धुलीगढी क्षेत्र पनि पहिले जस्तै अहिले नि सुन्दर र ऐतिहासिक छ । यो स्थान नेपालको ऐतिहासिक क्षेत्रको रुपमा परिचित छ ।

विश्वको सबै देशलाई पराजित गर्दै हिँडेको अंग्रेज फौज सिन्धुलीगढीमा नेपालसँग हार व्यहोरेर भाग्न बाध्य भएको भन्ने इतिहासमा छ । सोही हारको कारण आज पनि नेपालमा विश्वमा एक मात्रै स्वतन्त्र मूलुकको रुपमा परिचित छ । अझ भनौँ कुनै पनि राज्यको उपनिवेशमा नपरेको देशको रुपमा रहेको छ, नेपाल ।

काठमाडौँमाथि हुन लागेको आक्रमणलाई रोक्नका लागि वि.सं. १४११ र १४५२ को बीचमा तत्कालीन राजा जयस्थिति मल्लले सिन्धुलीगढीको निर्माण गर्न लगाएका थिए ।

युद्धमा जित्नका लागि पूर्वतयारीसँगै निर्माण गरेको सिन्धुलीगढीबाट आधुनिक हतियारसहित आएका अंग्रेजलाई हराउन सफल भएका थिए । अंग्रेजका लडाकुलाई हराउनका लागि नेपालले अंरिगालको गोला, ढुंगालगायत स्थानीय हतियारको प्रयोग गरेको थियो । जुन अहिले पनि इतिहासको रुपमा सिन्धुलीगढीमा देख्न र हेर्न सकिन्छ ।

लडाइँका लागि कप्तान किनलकको नेतृत्वमा २ हजार ४ सय जना अंग्रेज आएका थिए । त्यसमध्ये १६०० जनाको मृत्यु भएको थियो । बाँकी ८०० जना फर्केका थिए ।

ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी पर्यटकीय हिसाबले पनि उत्तिकै लोकप्रिय छ । यहाँ घुम्नको लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

काठमाडौँबाट करीब १२५ किलोमिटरको दूरीमा रहेको सिन्धुलीगढी सिन्धुली जिल्लाको कमलाईमाई गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ । काठमाडौँबाट विपि राजमार्गबाट बर्दिबास हुँदै हामी सिन्धुलीगढीमा पुग्न सक्छौँ । बर्दिबासबाट सिन्धुलीगढी पुग्नका लागि करीब १० किलोमिटरको दूरी पार गर्नपर्छ । त्यहाँसम्म जानका लागि हामीले व्यक्तिगत सवारी साधनसँगै स्थानीय सवारी साधनको पनि प्रयोग गर्न सक्छौँ ।

हामी सिन्धुली बजार हुँदै सिन्धुलीगढीमा पुग्न सक्छौँ । तर सिन्धुलीगढी क्षेत्रमा बस्नका लागि होटेल तथा रेष्टुरेन्ट छैन । त्यसैले गर्दा तपार्इं सदरमुकाम वा सिन्धुलीमाडीमा भएका होटल तथा रेष्टुरेन्टमा बास बस्न सक्नुहुन्छ ।

सिन्धुली जिल्ला जुनारको लागि प्रख्यात भएकाले सिन्धुलीबजारमा जुनारको शालिक निर्माण गरिएको छ । होटेलको बसाइ तथा खाना नास्तापछि तपाईं सिन्धुलीगढीको यात्रामा निस्कन सक्नुहुन्छ ।

सिन्धुली बजारबाट जापानले बनाएको नागबेली सडक पार गर्नुपर्छ । गोलाकारको बाटोमा सेल्फी वा तस्वीर कैद गर्नुको मज्जा बेग्लै हुन्छ । केही समयको यात्रामै बाटोमा तपाईंले भद्रकाली मन्दिर भेटाउनु हुनेछ ।

सो मन्दिर पृथ्वीनारायण शाहले विजय प्राप्तिका लागि निर्माण गरेको भन्ने मान्यता रहेको छ । सो मन्दिर निर्माण भएसँगै पृथ्वीनारायण शाहले विजय हासिल गरेका थिए ।

मन्दिरको दर्शनपछि अब सिन्धुलीगढीतर्फ जान सक्नुहुन्छ । गढी जाने बाटोमा गेट निर्माण गरिएको छ । सो गेटमा युद्धको समयमा अंग्रेजलाई हराउनका लागि अरिंगालको गोलाहरु राख्ने गरेको भन्ने मान्यता रहेको छ । अंग्रेजहरु लडाइ गर्न आएका बेला अरिंगालको गोलामा नेपाली सैनिकले ढुंगाले हान्ने र अरिंगाल रिसाएर विपक्षीलाई आक्रमण गर्ने गरेको पाइन्छ ।

सिन्धुलीगढीमा सानो गढी र ठूलोपौवा गढी गरी दुई गढी रहेका छन् । सानोगढी जाने बाटोमा वीर गोर्खालीका तस्वीर राखिएको छ । सानो गढीमा ढुंगाका पर्खाल निर्माण गरिएको छ । पर्खालसँगै वरिपरि डाँडाकाँडा र हिमालहरुलाई नजिकबाट नियाल्न सक्नुहुन्छ ।

सो गढीबाट देखिने दृश्यले तपाईंको मनलाई आनन्दित मात्रै नभई मोहित पनि बनाउँछ ।

केही बेरको रमाइलो पछि अब हामी ठूलो गढीमा घुम्नको लागि जान सक्छौँ । ठूलो गढी जाने बाटोमा वीर गोर्खालीहरुको फोटो बनाएर राखिएको छ । ठूलो गढीमा प्राकृतिक मनोमोहक दृश्यसँगै ऐतिहासिक महत्व पनि रहेको छ । अर्थात् यस क्षेत्रमा युद्ध जित्नको लागि निर्माण गरेको सामग्री तथा पूर्वाधारहरु अहिले पनि उस्तै छन् ।

यहाँ भएको पूर्वाधारले पनि पुर्खाले कसरी जित्यो भन्ने इतिहास भेटाउन सकिन्छ । यहाँ पार्कको निर्माण गरेको छ । यसका साथै युद्धको समयमा पानी पिउनका लागि ढुंगाको आकर्षक इनारको निर्माण गरिएको छ । जुन अहिले पनि रहेको छ ।  तत्कालीन समयमा पानीका पिउनका लागि निर्माण गरेको इनारमा अहिले पैसा फाल्ने गरेको पाइन्छ ।

यसैगरी सोही क्षेत्रमा पानीको स्रोतका लागि ढुंगा काटेर इनार निर्माण गरेको छ । युद्धका लागि ठूला ठूला ढुंगाहरु राखिएको छ । जहाँबाट लुकेर नेपालीले अंग्रेजहरुको सामना गरेका थिए ।

सिन्धुलीगढीको अर्को आकर्षण भनेको त्यहाँको दरबार हो । लामो समयसम्म दरबारको संरक्षण हुन नसकेकाले जीर्ण हुँदै गएको थियो । अहिले सो दरबारको पुनर्निर्माण कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?