बसीबसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ ।
योसंगै शुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस् पेटमा जमेको बोसो सजिलै घटाउन सकिन्छ । त्यसका लागि दैनिक १० मिनेट पनि पर्याप्त छ । तर कसरी ?
त्यसका लागि प्रभावकारी उपाय हो – कुम्भकासन अर्थात् ‘प्ल्यांक’ । प्ल्यांक शरीर घोप्टो पारेर गरिने व्यायाम हो। यो एकपटकमा दुई मिनेट मात्र गर्नुपर्छ। दुई मिनेटभन्दा धेरै गरे पनि यसको फाइदा नथपिने डाक्टरहरू बताउँछन्।
‘पुस अप’ अभ्यास जस्तै हात र खुट्टाले टेकेर गरिने यो अभ्यासले शरीरका सम्पूर्ण मांसपेशीलाई मजबुत बनाउने तथा पेटमा भएको मोटोपन घट्ने फिटनेस ट्रेनरहरू बताउँछन् ।
प्ल्यांक गर्ने सही तरिका
यो सामान्य अभ्यास हो । तर धेरैले सही तरिकाले गरिरहेका हुँदैनन् । जति नै लामो समय वा जति पटक गरे पनि सही तरिका भएन भने अभ्यासको उपलब्धि शून्य हुन्छ ।
सही तरिकाले प्ल्यांक गर्नका लागि यी चरणहरू गर्नुपर्छ :
– चार पाउले टेक्ने । शरीरको भार हात र खुट्टालाई पर्ने गरी खुट्टा फैलाउने/टेक्ने ।
– खुट्टाको रखाई दुई काँधको चौडाइमा सीधा हुनुपर्छ । दुवै हत्केला काँधको सीधा मुनि दबाब पर्ने गरी हुनुपर्छ ।
– मेरुदण्ड र पेट, पाखुरा र खुट्टाका मांसपेशीमा दबाब पर्ने गरी घाँटी तन्काउनुपर्छ र भुईँतिर हेर्नुपर्छ ।
– यही अवस्थामा कम्तीमा १० देखि ३० सेकेन्ड वा १ मिनेटसम्म रहनुपर्छ । त्यसपछि आराम गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया