मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

नौ हजार चित्र बनाएर विश्वभर लोकप्रियता कमाएका पल क्ले

काठमाडौँ– चित्रकार पल क्लेले आधुनिक चित्रकलाको फाँटमा आफ्नो अद्वित्तीय छाप छोडेका छन् । उनका मूर्त तथा अमूर्त चित्रहरुमा अभिव्यक्तिवाद, घनवाद र अतियथार्थवाद कलात्मक चेत पाइन्छ ।

उनका कलामा देखिने सामान्य स्टिक फिगर, मुहार, आँखा, माछा, प्रयुक्त रङ र रेखाहरुमा बालबालिकाहरुको परिप्रेक्षमा समेत गहन रूपमा हेर्न सक्ने सिर्जनाका झलकहरु आउँछन् ।

यही उनको शैली नै कला जगतमा लोकप्रिय छ ।

कलामा विशेषत: उनले आफ्नो मनोभावना र विचारहरु पोखेका छन् । ‘फिस म्याजिक,’ ‘सेन्सिओ,’ ‘कास्टल एण्ड सन,’ ‘हिरोइक रोजेज’ जस्ता उनका प्रसिद्ध चित्रहरुमा तत्कालीन परिवेशहरुबाट उथलपुथल भएको मानसिक संवेग र संवेदनाहरु रङका माध्यममा अभिव्यक्त भएका छन् । चित्रमा रङकै माध्यममा गर्ने उनका दृश्यहरु उत्तिकै सशक्त छन् ।

सन् १८७९ मा स्विटजरल्याण्डमा जन्मेका पलका बुवा हान्स विल्हेम क्ले जर्मनका सङ्गीत शिक्षक र आमा इडा मारी क्ले (फ्रिक) स्विस गायिका समेत थिए । साङ्गीतिक करिअरकै यात्रामा भेट भएका यी दुवै अन्ततः विवाह बन्धनमा बाँधिए ।

आफ्नो जीवनको शुरुवाती समयमा बुवाआमाकै लयमा पलले पनि सङ्गीतमा नै रुचि देखाएका थिए । यद्यपि किशोरावस्थासम्म आइपुग्दा उनले चित्रकलाको संसारलाई रोजे । एक त उनको विद्रोही स्वभाव अर्कोतिर आधुनिक सङ्गीतप्रतिको अरुचिले उनले दृश्य चित्र सिर्जनालाई अगाडि बढाए ।

तत्कालीन समयमा साङ्गीतिक क्षेत्रको गिरावटलाई समेत मध्यनजर गर्दै उनले चित्रकला नै छनोट गरे । अठारौं र उन्नाइसौं शताब्दीको परम्परागत सङ्गीत साधनालाई उनी भावनात्मक रूपमा बाँधिएको महसूस गर्थे  ।

यस्तो परिस्थितिमा उनले ललितकलामा नै कलाकारको रूपमा स्वतन्त्रताको लयमा आफ्नो विचार र शैलीहरूलाई खोजी गरे । स्कूले जीवनमा नै उनले पुस्तकहरुमा गरिने क्यारिकेचर र रेखाचित्रहरुमा आफ्नो अभिरुचि देखाएका थिए ।

स्कूलको अध्ययन र कला सिर्जनको अलवा उनी उनी दैनिक डायरी समेत लेख्थे । त्यही उनको लेखन कार्यले उनी कला सिर्जनासँगै लेखनमा समेत देखिए । उनी एक चित्रकारसँगै कला सिद्धान्त र सौन्दर्य शास्त्रका लेखक समेत हुन् ।

पललाई चित्रकार बनाउन आमाबाबुले चाहेका थिएनन् । र पनि १८८९ मा उनले म्यूनिखको एकेडेमी अफ फाइन आट्र्समा कला विषयमा अध्ययन गर्न थालनी गरेका थिए ।

शुरुवाती समयमा उनी चित्रकलामा पोख्त भए पनि उनको सिर्जनाहरुमा प्राकृतिक रंग भावनाहरु त्यति देखिँदैनथ्यो ।

त्यसपछि निराश बनेका उनले आफूले चित्र सिर्जना गर्न सक्दिनँ भन्ने सोचेका थिए । पछि उनले यही क्रममा महिला कलाकार र मोडेलहरूसँग समय बिताए । जसमा उनले मानवीय भावना र चिन्तनलाई बुझे ।

कलामा डिग्री हासिल गरेपछि पल १९०१ मा थप अध्ययनकै लागि मित्र हर्मन हलरसँग इटाली गए । जहाँ उनले रोम, फ्लोरेन्स र नेपल्स जस्ता ठाउँमा बसेर शताब्दी पुराना मास्टर पिस चित्र र चित्रकारहरूको अध्ययन गर्ने मौका पाए ।

त्यहाँ उनले कला मात्र नभएर त्यहाँको मानवीय समाज र मानवतावादलाई समेत नियाले ।

त्यसपछि उनले मानवीय संघर्ष, आशा र निराशा सबैलाई रङमा देखाउन थाले । त्यहाँबाट फर्केपछि परिवारसँगै बसेर उनले कला सिर्जनाहरुमा नयाँ प्रविधिहरुको खोजी कार्य शुरु गरे । त्यही क्रममा १९०६ मा उनले ‘पोट्र्रेट अफ माई फादर’ जस्ता चित्रहरु बनाए ।

त्यतिबेलाका उनका कलामा उनले विचित्र पात्रहरू चित्रण गरेका थिए ।

सन् १९१० मा स्विटजरल्याण्डको बर्नमा एकल कला प्रदर्शनी गरेका उनका यही कलाकृतिहरु स्विसका तीन वटा शहरहरुमा प्रदर्शनी गरिएको थियो । तथापि १९१४ पछि मात्र उनले आफ्नो कला सिर्जनामा सफलता हासिल गर्न थाले । त्यतिबेलासम्ममा उनमा रङ, चित्र र प्रकृति आफैं हो भन्ने धारणा स्थापित भइसकेको थियो ।

त्यसै समयदेखि उनी अझै अमूर्त विधा र रोमान्टिकवाद कला शैलीमा जान थालेका थिए । उनका रेखाचित्र होस् या रङ्गिन ब्लकहरुसहितको चित्रकलाहरुमा कलाप्रेमीहरुले सङ्गीतको लय भेट्टाउँछन् । जसमा उनको शुरुवाती समयको सङ्गीत र साङ्गीतिक पारिवारिक माहोल समेत प्रतिबिम्वत छन् । 

रङहरुमा आधुनिकता र कला सिद्धान्तहरुमा खोजी गर्ने उनले १९१२ मा पेरिसको यात्रा गर्ने अवसर पाए । यही यात्रामा उनले कलामा घनवाद र अमूर्त विधालाई अझै बुझ्ने मौका पाए । कलाकार रोबर्ट डेलानयान्ड मौरिस डे भ्लामिन्कका बोल्ड रङका कलाकृतिले अझै उनी प्रेरित भए ।

त्यही शैलीमा उनले पनि फिक्का वाटर कलरहरूमा आफ्नै रङ प्रयोगहरू गर्न थाले र केही मौलिक तथा आदिम परिदृश्यहरू सिर्जना गरे । यसमा उनले चित्रमा रङको भूमिका, संयोजन, शैली र यसको प्रयोगलाई गहन रुपमा बुझेर आफ्नो सिर्जनालाई अझै परिस्कृत रुपमा लैजाने अठोट लिए ।

त्यसपछि रङ र चित्रको सम्बन्धलाई जोड्ने लयमा नै उनी केन्द्रीत भए । पेरिस यात्रामै रहँदा उनले जर्जेस सेउराट, पल सेजेन र भिन्सेन्ट भ्यान गग जस्ता विश्व प्रसिद्ध कलाकारहरुका कलाकृतिहरु समेत नियाले ।

भ्यान गगका चित्रमा प्रयुक्त रङले बोलिरहेको भावना होस् या रङको अभिव्यक्तिबाट उनी त्यति नै प्रभावित भए

पहिलो विश्वयुद्ध ताका बनेका उनका चित्रहरुमा युद्धका बाछिटाहरु भेटिन्छन् । शुरुवाती समयमा युद्धलाई उनले बेवास्ता गरे । जब युद्धमा उनका साथी म्याके र मार्क दुवै युद्ध मारिए, तब उनले आफ्नो पीडालाई बाहिर निकाल्न उनले ‘डेथ फर द आइडिया (१९१५) शीर्षकमा युद्धका विषयहरूमा कलम र मसीका माध्यमहरुमा लिथोग्राफ  सिर्जना गरे ।

त्यही बेला अमूर्त तथा अर्ध अमूर्त विधाका सिर्जनाहरु समेत कोरे । यही सिर्जना यात्राकै क्रममा उनी १९१६ मा प्रथम विश्वयुद्धमा सहभागी भएपनि आफ्नो बुवाकै कारण रणमैदानमा उत्रेनन् । त्यता पनि उनले सिजना कर्म नै जारी राखे । युद्धका समयमा समेत जारी उनका सिर्जनाहरुले अझै लोकप्रियता कमायो ।

स्विट्जरल्याण्डको मुराल्टो, लोकार्नोमा २९ जुन १९४० मा निधन भएका उनले त्यही देशमा जन्मिए पनि स्विस नागरिकता नपाएरै देह त्याग गरे । स्विस जनप्रतिनिधिहरुले उनको सिर्जना कार्यलाई क्रान्तिकारीको संज्ञा दिएका थिए । उनको मृत्यु भएको छ दिन पछि मात्र उनलाई स्विस कलाकारका रुपमा स्वीकार गरिएको थियो । उनका नौ हजारको हारहारीमा कलाकृति छन् । जुन कला सिर्जना विश्वमै लोकप्रिय छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?