काठमाडौँ – सवारीचालक अनुमतिपत्र ‘ड्राइभिङ लाइसेन्स’ छपाइको काम २० दिनयता रोकिएको छ । मेसिनमा समस्या आएपछि कार्ड छपाइ कार्य पूर्ण रुपमा ठप्प भएको हो । प्रिन्ट गर्ने मेसिनमा समस्या आएपछि सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् ।
यातायात व्यवस्था विभागले जर्मनीबाट छ लाख थान कार्ड ल्याएर गत असारदेखि तीन सिफ्टमा छपाइ थालनी गरेको थियो । तर, प्रिन्टरको पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा २० दिन यता लाइसेन्स छपाइ रोकिएको विभागले जनाएको छ ।
सिस्टममा पर्सनलाइजेसनका लागि मद्रास सेक्युरिटी प्रिन्टर्सले एउटा समय राखिदिएको हुन्छ । समय सकिएपछि उता कम्पनीबाट यो मेसिनबाट अर्डर आउनु पर्ने हुन्छ । त्यही नआएकाले समस्या देखियो,” विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले भने । उनका अनुसार तीन लाख प्रति छपाइ भएपछि यस्तो समस्या आएको हो ।
गत जेठमा पनि पर्सनलाइजेसन सिस्टममा समस्या आउँदा केही समय छपाइ रोकिएको थियो ।विभागले जर्मनीबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सबाट छपाइ मेसिन ल्याएको हो । मेसिनले कार्ड रिड ‘चिन्न’ गर्न नसक्ने समस्या पटकपटक दोहोरिएको बताइएको छ ।
नियमित छपाइ बन्द भए पनि विभागले वैदेशिक रोजगारी वा अध्ययनका लागि जाने नागरिकका लागि अत्यावश्यक लाइसेन्स छापिरहेको छ । नयाँ कार्ड मसिनले चिन्न नसकेपछि पुरानो मेसिनबाट अत्यावश्यक लाइसेन्सको छपाइ भइरहेको प्रवक्ता पनेरुले बताए ।
उनका अनुसार पुरानो मेसिनबाट हाल अत्यावश्यक लाइसेन्स दैनिक तीन सयदेखि पाँच सय प्रति छापिने गरेको छ । लाइसेन्स नवीकरण, हराएका र नयाँ गरी हाल दैनिक चार हजार कार्डको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया