मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देउसी खेलेको रकमले आमा समूहको भवन निर्माण

जोयनेपाल
65
Shares
सांकेतिक तस्विर

रामपुर ‘पाल्पा’ – पाल्पाको रामपुर नगरपालिकामा देउसी भैलो खेलेर सङ्कलित रकम सामाजिक क्षेत्रमा लगानी गरिएको छ । रामपुर नगरपालिका–१० स्थित राहुडाँडाका चेतनशिल आमा समूहले गत वर्ष देउसी भैलो खेलेर सङ्कलन गरेको रकमले सामाजिक हितका लागि समूहको भवन निर्माणमा लगानी गरेका हुन् ।

समूहका लागि बैठक बस्न, विभिन्न गतिविधि सञ्चालन गर्न तथा सामान राख्न भवन आवश्यक परेकाले तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकमले भवन निर्माण गरिएको चेतनशिल आमा समूहका अध्यक्ष विष्णुमाया खाम्चाले बताइन् ।

“देउसी भैलोबाट उठेको रकम सही ठाउँमा लगाइएको छ, देउसी भैलोबाट सङ्कलित रकमले मात्रै भवन निर्माण सम्पन्न नहुने भए पछि भवन निर्माणमा रामपुर नगरपालिका, विभिन्न स्थानीय सङ्घसंस्थाको सहयोग रहेको छ”, उनले भने ।

कुल रु १६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । रामपुर नगरपालिकाको रु ६ लाख ५० हजार, चेतनशिल आमा समूहको रु ६ लाख २० हजार, बाबा समूहको रु एक लाख, सिर्जनशील युवा क्लवको रु २० हजार तथा स्थानीयको श्रमदानमा भवन निर्माण गरिएको निर्माण समितिका संयोजक भुवान सिं सिञ्जालीले जानकारी दिए ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हालै नवनिर्मित भवन उद्घाटन गर्दै जनतासँग जोडिएर सामाजिक क्षेत्रका काममा नगर सरकारले सहयोग गर्दै आएको बताए । जनताले राहत र सुविधा लिने कार्यमा नगर सरकारले कुनै पनि कन्जुस्याई नगरीकन काम गर्दै आएको उनी बताउछन् ।

“स्थानीय सरकार जनताको आफ्नै सरकार हो भन्ने अपनत्व दिने गरी नगरपालिकाले काम गरिरहेको छ, स्थानीय सरकारबाट बनेका संरचनाको बेला–बेलामा अनुगमन गर्ने र आवश्यकताको आधारमा पूर्वाधार निर्माणमा वजेट विनियोजन गर्ने काम भइरहेको छ”, नगर प्रमुख थापाले भने ।

भवन निर्माण सम्पन्न भएपछि विभिन्न समूह, क्लब, टोल विकास संस्थालगायत विभिन्न संस्थाको बैठक बस्न, तालिम सञ्चालन गर्न, विभिन्न कार्यक्रम गर्न सजिलो भएको हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?