मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘स्मृतिका लयहरु’मा युद्धको घाउ

काठमाडौँँ– नेपालमा चलेको दशवर्षे जनयुद्ध औपचारिक रुपमा सकिएको झण्डै दुई दशक हुन लागेको छ ।

जनयुद्धका नेतृत्वकर्ताहरुको सत्तामा हालीमुहाली छ । यद्यपि जनयुद्धमा आफ्नो सपना र जीवनलाई अर्पण गरेकाहरुको बलिदानलाई भने नेतृत्वकर्ताहरुले केवल युद्धमै सीमित गरे ।

‘ज्यानको आहुति दिएका ती हजारौं योद्धाहरु, घाइते भएका सयौं लडाकुहरु अनि बेपत्ता बनाइएका मानिसहरुको हाल तिनको परिवारको पीडा कस्तो छ ? भन्ने प्रश्न ‘स्मृतिका लयहरु’ नाटकले गरेको छ ।

मण्डला थिएटर नेपालले जर्बजस्ती बेपत्ता पारिएका परिवारहरुको सञ्जालसँग मिलेर ती योद्धाहरुको कलामार्फत स्मरण गरेको हो । प्रत्येक वर्ष ३० अगस्टलाई मण्डलाले सन् २०१५ देखि विभिन्न नाट्य प्रस्तुतिहरु मार्फत दिवसलाई मनाउँदै आएको छ ।

दिवसकै अवसरमा शुक्रवार मण्डलाले रङ्गकर्मी उमेश तामाङको परिकल्पना तथा निर्देशनमा साङ्गीतिक नाटक प्रस्तुत गरेको हो । नाटकमा संयोग गुरागाईंले आफ्नो कविता ‘तस्वीरमा उपस्थित मान्छे,’ वेदना राईले ‘एक जोर पाइला,’ अन्जान प्रदीपले ‘बाँदरमुढे : एक मृगमरीचिका,’ अनुप न्यौपानले ‘होलटाइमर,’ समृद्धी नेपालले लक्ष्मी बर्देवाको कविता ‘नभेटिएको तिमी’ जस्ता सिर्जनाहरुमा रङ्गकर्मीहरुले नाट्य प्रस्तुति दिएका थिए ।

रङ्गकर्मीहरुले प्रस्तुत गरिएको कवितामा वास्तविक द्वन्द्व पीडितका कथाहरु समेटिएको थियो । रङ्गकर्मीहरुले देशका विभिन्न क्षेत्रमा रहेका द्वन्द्व पीडितहरुलाई प्रत्यक्ष भेटी तिनका भावनाहरुमा आधारमा नै कविता सिर्जना गरी नाटकको स्वरुपमा ढालेका थिए । जुन नाट्य प्रस्तुतिमा प्लेब्याक, थिएटर अफ अप्रेस्डका विधिहरुमा सहभागितामूलक नाटक विधालाई समेट्ने जमर्को गरिएको थियो ।

जुन नाटकहरुमा राज्य सत्ताले ओझेल पारिरहेको द्वन्द्वका घाउ र पीडाहरुलाई उत्खनन गरिएको थियो । मञ्चमा कलाकारहरु सागर खाती कामी, मिलन कार्की, सन्तोष गिरी र अकाश नेपालीको पनि प्रस्तुति रहेको थियो ।

द्वन्द्व पीडितहरुको चासो र पीडाहरुलाई समेटेर सम्बन्धित निकायमा पुर्‍याउन कलाका माध्यम प्रयोग गरिएको कार्यक्रम संयोजक सोमनाथ खनालले बताए । यसलाई मण्डलाले समाजसँग जोडिराख्ने एउटा कडीका रुपमा लिएको छ ।

मण्डला परिवारका अनुसार यो एउटा स्मृति कार्यक्रम मात्र नभएर न्यायमूलक शान्ति चाहने समग्र द्वन्द्वपीडितहरुको आवाजप्रतिको ऐक्यवद्धता पनि हो ।

नाटक प्रस्तुति हेर्नकै लागि सहभागी सशस्त्र द्वन्द्वमा होमिएकी योद्धा प्रविना गोलेले बिर्सिएका युद्धका कथाहरु कलामार्फत हेर्दै गर्दा युद्धकै प्रत्यक्ष झलक आएको सुनाइन् । रङ्गमञ्चभित्र मात्र नभएर सडकहरुमा समेत यस्ता युद्धका घाउहरु देखाएर सत्तालाई झकझकाउनुपर्ने उनले बताइन् ।

एडभोकेसी फोरम नेपालको सहकार्यमा नाटक प्रस्तुत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?