मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

गर्भपतन गराएपछि कस्तो सावधानी अपनाउनुपर्छ?

काठमाडौँ– बच्चाको चाहना नहुँदा नहुँदै गर्भ रहेमा गर्भपतन गराउने चलन नेपालमा पनि बढ्दो छ । सामान्यतया गर्भपत दुई कारणले हुन्छ । गर्भपतन भनेको गर्भको भ्रुण खेर जानु हो । सामान्यता गर्भपतन दुई अवस्थामा हुन्छ ।

पहिलो भनेको गर्भमा हुर्किरहेको बच्चा केही स्वास्थ्य समस्याका कारण प्राकृतिक रुपमै खेर जाने हुन्छ र अर्को भनेको सन्तानको योजना नहुँदै गर्भमा सन्तान रह्यो भने शल्यक्रिया र औषधी सेवन गरेर गरिने गर्भपतन हो ।

महिलाको सुत्केरी अवस्थापछिको अवस्था जति संवेदनशील हुन्छ गर्भपतन पश्चात् पनि उनी सोही रुपमा कमजोर र संवेदनशील हुन्छिन् ।

सुत्केरी पश्चातको स्वास्थ्य अवस्था, आहार र स्याहारका विषयमा प्राय सबैजना अवगत नै हुन्छन् । गर्भपतनपश्चात् भने महिलाको स्वास्थ्य अवस्था कति जटिल बन्न सक्छ ? के–कस्ता स्वास्थ्य सावधानी अपनाउनुपर्छ भन्ने कुरामा त्यति सचेत भएको पाइँदैन । त्यसकारण गर्भपतन के हो, यसका कारण र यसमा कसरी सावधानी अपनाउने भन्ने सन्दर्भमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. सुमी मुनकर्मीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

गर्भपतन कस्तो प्रक्रिया हो र कस्तो अवस्थामा हुन्छ ?

गर्भपतन भनेको बच्चा स्वयम् आमाको शरीरभन्दा बाहिर निस्किने प्रक्रिया हो । बाहिर आएपछि आफैं धान्न नसक्ने अवस्थामा गर्भबाट निस्कन गएको अवस्थामा गर्भपतन भनिन्छ । नेपालको कन्टेक्समा कुरा गर्दा यदि कोही महिलाको २२ हप्ताभन्दा अगाडि बच्चा गर्भबाट डेलिभरी हुन्छ अथवा पाँचसय ग्रामभन्दा मुनिको बच्चा गर्भबाट डेलिभरी हुन्छ भने यो अवस्थामा गर्भपतन भएको मानिन्छ ।

गर्भपतन हुनुको कारणहरु के के छन् ?

गर्भपतन हुनुका विभिन्न कारणहरु हुन्छन् । गर्भ रहेको पहिलो तीन महिनामा हुने गर्भपतन र गर्भ रहेको ६ महिनामा हुने गर्भपतन हो । पहिलो तिन महिनामा हुने कारण भनेको महिलाको पहिले नै पटक–पटक गर्भपतन भएको छ भने अण्डामा समस्या भएर, पुरुषको शुक्रकिटमा समस्या भएर, गर्भमा बनेको बच्चा स्वस्थ भएन र केही जेनेटिक समस्याहरुका कारण पनि गर्भपतन हुनसक्छ ।

यस्तै, महिलाहरुमा सुगर, थाइराइड, महिलाको पाठेघरको संरचना असामान्य छ, पिसिएसको समस्या छ भने गर्भपतन हुन सक्छ । कहिलेकाहीँ भने निकै सामान्य कारण जस्तै खानपान नमिल्दा, अस्वस्थ हुँदा, धुम्रपान, मद्यपान गर्ने बानीले समेत गर्भपतन गराउन सक्छ ।

गर्भपतनको कति समयपछि फेरि गर्भधारण गर्न सकिन्छ ?

गर्भपतनपश्चात् कहिले बेबी प्लान गर्ने सन्दर्भमा मुख्यकुरा के कारणले गर्भपतन भइरहेको छ भन्ने कुरा प्रमुख रहन्छ । महिलाको केही स्वास्थ्य समस्याका कारण गर्भपतन भइरहेको छ भने त्यो रोग पत्ता लगाएर उपचार गरेपछि मात्रै पुनःसन्तानको योजना बनाउनुपर्छ । यसो गरियो भने पछिको प्रेग्नेन्सीहरु गर्भपतन हुनबाट जोगिन्छ ।

मेडिकल औषधीले गर्भपतन गरिएको छ भने पाठेघर सफा भएको छ कि छैन, ब्लिडिङ भइरहेको छ कि छैन भन्ने कुरा मुख्य हुन्छ । सामान्यतया गर्भपतन भएको तीन महिनापछि गर्भधारण गर्न सकिन्छ ।

गर्भपतनपछि कति समय आराम गर्नुपर्छ ? यस्तो अवस्थामा के–कस्ता कुरामा सावधानी अपनाउनुपर्छ ?

गर्भपतन एकदमै दक्ष, जानकार र सुरक्षित ठाउँमा गएर गर्भपतन गराउनुपर्छ । चिकित्सकको सल्लाह र परामर्श यो समयमा अत्यन्त आवश्यक छ । अरुले थाहा पाउलान् की भनेर जस्तोसुकै संस्था र डाक्टरहरु मार्फत गर्भपतन गराउनु हुँदैन । अर्को ध्यान दिनुपर्ने कुरा के छ भने सबैजसो सरकारी अस्पतालमा गर्भपतनको सेवा उपलब्ध छ ।

केही निजी स्वास्थ्य संस्थाले पनि गर्भपतनको सेवा दिने गरेका छन् । तर जथाभावी गर्भपतन गराउनु असुरक्षित हुन्छ । त्यसैले गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ । गर्भपतन गर्दा महिलाले अत्यधिक रक्तस्रावको सामना गर्नुपर्ने हुन्छ । जसकारण रक्तअल्पता हुने खतरा रहन्छ । शरीरमा रगतको कमी पूर्ति गर्न पौष्टिक खानेकुरा खानुपर्छ ।

साथै भिटामिन ‘सी’को सेवनले शरीरमा आइरनको अवशोषण पनि बढाउँछ । यसले बिरामीको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । पालुङ्गो, चुकन्दर, खजुर, सागसब्जी, फलफूल, ड्राइफ्रुट, माछामासुले शरीरमा रगत बढाउन र तागत दिन मद्दत गर्ने हुँदा यी खानेकुरा खान सकिन्छ । तर जंक, प्रशोधित खाना, चिनीयुक्त पेय पदार्थ नखानु उचित हुन्छ । गर्भपतनपछि महिलाले भारी वस्तु उठाउनु हुँदैन ।

वास्तवमा रगतको कमीका कारण शरीरमा कमजोरी बढ्छ र ढाड दुख्ने समस्या पनि रहन्छ । यस्तो अवस्थामा दुई हप्तासम्म कसरत नगर्न पनि सल्लाह दिइन्छ । भारी सामान उचाल्दा वा शारीरिक गतिविधि गर्दा रक्तस्राव हुने खतरा हुन्छ । गर्भपतनपछि महिलाले मानसिक तनावको सामना गर्नुपर्ने हुन्छ ।

यो समस्या समाधान गर्न परिवारका सदस्यको सहयोग लिनु उपयुक्त हुन्छ । शरीरमा हर्मोनल परिवर्तनका कारण डिप्रेसन, उदासी र चिन्ता बढ्छ । यस समस्याबाट बाहिर आउन परिवारको सहयोग आवश्यक हुन्छ ।

गर्भपतनको कति समयपछि शारीरिक सम्पर्क सुरक्षित हुन्छ ?

महिलाको अवस्था कस्तो छ भन्ने कुरा महत्वपूर्ण हो । उसको पाठेघर राम्रोसँग सफा भएको छ कि छैन ?, ब्लिडिङ बन्द भएर महिला स्वस्थ भएपछि सम्बन्ध बनाउनुपर्छ ।

कति पटकसम्म गर्भपतन गराउँदा जोखिम हुन्छ ?

जति पटक हाम्रो गर्भपतन हुन्छ त्यति नै प्राकृतिक गर्भधारण हुर्ने सम्भावना घट्दै जाने हुन्छ । यसकारण गर्भपतन हुँदा के कारणले भयो त्यो राम्ररी बुझ्नुपर्छ र यसको समाधानको निक्र्योलतर्फ लाग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?