मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस

विश्वमा कुन देशले कति मात्रामा आणविक हतियार राखेका छन्?

काठमाडौँ– आज अगस्ट २९ अर्थात् आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस । सन् २००९ डिसेम्बर २ का दिन संयुक्त राष्ट्रसंघ महासभाले अगस्ट २९ लाई आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

त्यसयता हरेक वर्ष यो दिवस मनाइन्छ । आणविक हतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर यो दिवस मनाउने गरिएको छ ।

विश्वमा सर्वप्रथम सन् १९४५ जुलाई १६ का दिन आणविक परीक्षण गरिएको थियो । त्यसयता २ हजारभन्दा धेरै आणविक हतियारको परीक्षण भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

युद्धमा भने दुईपटक मात्र आणविक हतियारको प्रयोग गरिएको छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ को अगस्ट ६ र ९ का दिन अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसालेको थियो ।

पछिल्लो समय आणविक हतियारको उत्पादन, परीक्षण र प्रयोग निरुत्साहित गर्न विभिन्न प्रयासहरु हुँदै आएका छन् । यद्यपि अझै पनि केही शक्तिशाली मुलुकहरुले आणविक हतियारको उत्पादन, भण्डारण र परिचालनलाई भने निरन्तरता दिइ नै रहेका छन् ।

आज हामी कुन मुलुकसँग कति परिमाणमा आणविक हतियार रहेको छ भन्नेबारे चर्चा गर्न चाहन्छौँ ।

हाल विश्वका ९ मुलुकसँग कुल १२ हजार १ सय आणविक हतियार रहेको हतियार नियन्त्रण नीतिबारे शोध गर्ने संस्था आम्र्सकन्ट्रोलले जनाएको छ । यसमध्ये ९ हजार ६ सय आणविक हतियार सैन्य सेवामा परिचालित छन् ।

दुई मुलुकहरु रुस र अमेरिकासँग मात्र विश्वको कुल आणविक हतियारको करिब ९० प्रतिशत भण्डारण छ । आखिर कुन कुन हुन् त आणविक हतियार सम्पन्न मुलुकहरु ? र, उनीहरुको आणविक हतियारको क्षमता कति छ ?

संयुक्त राज्य अमेरिका

अमेरिकाले संसारमा सबैभन्दा पहिले आणविक हतियार परीक्षण गरेको थियो । अमेरिकाले सन् १९४५ मा ट्रिनिटी कार्यक्रमअन्तर्गत न्यू मेक्सिकोमा पहिलो पटक आणविक हतियारको परीक्षण गरेको थियो ।

आर्मस्कन्ट्रोलका अनुसार अमेरिकाससँग ५ हजार ७ सय ४९ आणविक हतियार छन् । तीमध्ये २ हजार हतियार सैन्य सेवाबाट हटिसकेको उक्त संस्थाले जनाएको छ । बाँकी ३ हजार ७ सय ४८ हतियार सैन्य मौज्दातमा कायम छन् भने अरु १ हजार ४ सय १९ हतियार रणनीतिक रुपमा परिचालन गरिएको छ ।

अमेरिका युद्धको समयमा आणविक हतियारको प्रयोग गर्ने एक मात्र मुलुक पनि हो । दोस्रो विश्वयुद्धमा अमेरिकाले सन् १९४५ मा जापानका दुई शहरमा आणविक हतियार प्रहार गरेको थियो ।

रुस

संसारमा सबैभन्दा धेरै आणविक हतियार भएको मुलुकको दोस्रो स्थानमा रुस पर्छ । रुस सन् १९९१ मा विघटन भएको सोभियत संघको उत्तराधिकारी मुलुक पनि हो ।

शीतयुद्धका बेला सोभियत संघले निर्माण गरेका आणविक हतियार रुसको स्वामित्वमा छन् । सोभियत संघले सर्वप्रथम सन् १९४९ मा आणविक हतियार परीक्षण गरेको थियो ।

रुससँग कुल ५ हजार ५ सय ८० आणविक हतियार रहेको आम्र्सकन्ट्रोलले जनाएको छ । जसमध्ये १ हजार २ सय हतियारलाई सैन्य सेवाबाट हटाइएको छ । हाल रुसका ४ हजार ३ सय ८० आणविक हतियार सैन्य मौज्दातमा रहेका छन् भने बाँकी १ हजार ५ सय ४९ हतियारलाई रणनीतिक परिचालनमा सामेल गरिएको छ ।

चीन

संसारमा सबैभन्दा धेरै आणविक हतियार रहेको मुलुकको सूचीमा चीनको नाम तेस्रो स्थानमा रहेको छ । चीनसँग जम्मा ५ सय आणविक हतियार रहेको आम्र्सकन्ट्रोलले उल्लेख गरेको छ ।

चीनले सन् १९६४ मा पहिलो पटक आणविक हतियारको परीक्षण गरेको थियो । चीनसँग पनि जमिन, आकाश र समुद्रबाट आणविक हतियार प्रहार गर्ने क्षमता रहेको छ ।

पछिल्लो समय चीनले तीव्र गतिमा आणविक हतियारको विकास गरिरहेको स्विडेनको हतियारसम्बन्धी शोध गर्ने संस्था स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले जनाएको छ ।

फ्रान्स

फ्रान्ससँग हाल २९० आणविक हतियार छन् । फ्रान्सले ९८ वटा रणनीतिक प्रक्षेपण प्रणालीअन्तर्गत ती हतियार परिचालन गरेको आम्र्सकन्ट्रोलले जनाएको छ ।

फ्रान्सले सर्वप्रथम सन् १९६० मा अल्जेरियामा आणविक हतियार परीक्षण गरेको थियो । फ्रान्सेली सेनासँग समुद्र र आकाशबाट आणविक हतियार प्रहार गर्ने क्षमता रहेको छ ।

फ्रान्स सरकारले आणविक हतियारको आधुनिकीकरणका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यद्यपि फ्रान्ससँग आणविक हतियारको सङ्ख्या बढाउने कुनै योजना भने नरहेको बताइएको छ ।

बेलायत

संसारमा सबैभन्दा धेरै आणविक हतियार रहेको मुलुकको सूचीमा बेलायत पाचौँ स्थानमा आउँछ । बेलायतसँग हाल २ सय २५ आणविक हतियार छ । बेलायतले दोस्रो विश्वयुद्धका बेला नै आणविक हतियारको विकास गर्न थालेको थियो ।

यद्यपि सन् १९५२ मा मात्रै बेलायतले अस्ट्रेलियाको मोन्टेबेलोमा आणविक हतियारको परीक्षण गरेको थियो । बेलायतसँग समुद्रबाट आणविक हतियार प्रहार गर्ने क्षमता रहेको छ । बेलायती नौसेनाको ट्राइडेन्ट पनडुब्बीमा यस्तो क्षमता रहेको बताइन्छ ।

भारत

भारत विश्वमा सबैभन्दा धेरै आणविक हतियार हुने मुलुकको सूचीमा छैठौँ स्थानमा आउँछ । पश्चिमी छिमेकी पाकिस्तानजस्तै भारतसँग पनि १ सय ७२ वटा आणविक हतियार छ ।

भारतले सन् १९७४ मा पहिलो पटक आणविक हतियारको परीक्षण गरेको थियो । त्यस बेला राजस्थानको पोखरानमा ‘स्माइलिङ बुद्ध’ को नामबाट भारतले आणविक हतियार परीक्षण गरेको थियो ।  भारतसँग पनि जमिन, समुद्र र आकाशबाट आणविक हतियार प्रहार गर्नसक्ने क्षमता रहेको छ ।

पाकिस्तान

संसारमा सबैभन्दा धेरै आणविक हतियार रहेको मुलुकको सूचीमा पाकिस्तानको नाम सातौँ स्थानमा आउँछ । आम्र्सकन्ट्रोलका अनुसार पाकिस्ताननसँग हाल १ सय ७० जति आणविक हतियार रहेको छ । छिमेकी मुलुक भारतसँग गहिरो दुश्मनी रहेको पाकिस्तानले पनि आणविक हतियारको विकास गरेको छ ।

धेरै वर्षदेखि आणविक हतियारको विकास गरिरहेको भएपनि पाकिस्तानले सर्वप्रथम सन् १९९८ मा आणविक हतियारको परीक्षण गरेको थियो । पाकिस्तानसँग पनि जमिन, समुद्र र आकाशबाट आणविक हतियार प्रहार गर्ने क्षमता रहेको छ ।

इजरायल

मध्यपूर्वी मुलुक इजरायलसँग करिब ९० वटा आणविक हतियार रहेको आम्र्सकन्ट्रोलको अनुमान छ । हालसम्म इजरायलले आफूसँग आणविक हतियार रहेकोेबारे सार्वजनिक रुपमा स्वीकार गरिसकेको छैन ।

यद्यपि सन् १९६० र ८० का दशकको बीचमा दक्षिण अफ्रिकासँग मिलेर गोप्य रुपमा इजरायलले आणविक हतियारको विकास गरेको विश्वास गरिन्छ ।

उसले आणविक हतियार कहाँ, कहिले र कति पटक परीक्षण गरेको छ भन्ने विषय पनि गोप्य नै रहेको छ । आणविक हतियार कार्यक्रमबारे कुनै पनि विवरण सार्वजनिक नगरे पनि इजरायली सेनासँग जमिन, समुद्र र आकाशबाट आणविक हतियार प्रहार गर्नसक्ने क्षमता छ ।

उत्तर कोरिया

उत्तर कोरिण आणविक कार्यक्रमका कारण बारम्बार चर्चा र विवादमा आउने गरेको छ । आणविक कार्यक्रमकै कारणले गर्दा उत्तर कोरियाले विभिन्न प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

उत्तर कोरियाले सर्वप्रथम सन् २००६ मा आणविक हतियारको परीक्षण गरेको थियो । आम्र्सकन्ट्रोलका अनुसार हाल उत्तर कोरियासँग ५० वटा आणविक हतियार छन् । उत्तर कोरियाले जमिन र समुद्रबाट आणविक हतियार प्रहार गर्ने क्षमता राख्छ ।

आणविक हतियार प्रहार गर्ने उद्देश्यले उत्तर कोरियाले बारम्बार अन्तरमहादेशीय क्षेप्यास्त्र समेत प्रक्षेपण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?