मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन् २०२४ मा उत्कृष्ट कमाइ गर्ने फिल्म बन्यो ‘स्त्री २’, यी हुन् उत्कृष्ट दश कमाइ गरेका बलिउड फिल्म

काठमाडौँ– बलिउडमा हरेक वर्ष सयौँ फिल्म निर्माण हुने गरेको छ । सन् २०२३ मा मात्रै भारतमा २० भन्दा धेरै भाषामा १५ सयदेखि २ हजारभन्दा धेरै फिल्म र टेलिफिल्म बनेको बताइन्छ । तीमध्ये अधिकांश फिल्म हिन्दी भाषामा निर्माण भएका छन् ।

आठ महिना बित्नै लाग्दा सन् २०२४ मा पनि थुप्रै हिन्दी फिल्म रिलिज भएका छन् । तर, रिलिज भएका सबै फिल्म सफल नै हुन्छन् भन्ने पनि छैन । तीमध्ये दर्जनौँ फिल्मले लगानी पनि उठाउन सकेका छैनन् । तर, केही फिल्मले भने यो वर्ष राम्रो कमाइ गरेका छन् ।

आज हामी सन् २०२४ मा रिलिज भएर सबैभन्दा धेरै कमाइ गर्ने हिन्दी फिल्मका बारेमा चर्चा गर्न चाहन्छौँ ।

यो सूचीमा भएका केही फिल्म अझै पनि सिनेमा हलहरुमा चलिरहेका छन् । आखिर यो वर्ष रिलिज भएर सबैभन्दा धेरै कमाइ गर्ने १० उत्कृष्ट हिन्दी फिल्म कुन होलान् ?

स्त्री २

सन् २०२४ मा रिलिज भएको सबैभन्दा धेरै कमाइ गर्ने शीर्ष स्थानमा स्त्री २ को नाम आउँछ । हरर जनरामा निर्मित यो फिल्मको निर्देशन अमर कौशिकले गरेका हुन् भने यसमा राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अभिषेक बेनर्जी, अपारशक्ति खुरानाजस्ता कलाकारको अभिनय रहेको छ । गत अगस्ट १५ मा रिलिज भएको यो फिल्म सन् २०१८ को स्त्रीको सिक्वल हो । यो फिल्मले हालसम्म ६०० करोडभन्दा धेरै कमाइ गरिसकेको छ ।

फाइटर

सिद्धार्थ आनन्दको निर्देशन रहेको फाइटर सन् २०२४ मा रिलिज भएको सबैभन्दा धेरै कमाइ गर्ने हिन्दी फिल्म हो । गत जनवरी २५ मा रिलिज भएको हो । यो फिल्ममा भरपूर एक्सन देख्न सकिन्छ ।

फिल्ममा ऋतिक रोशन, दिपिका पादुकोण, अनिल कपुरजस्ता कलाकारको अभिनय रहेको छ । २५० करोडको बजेतमा निर्माण भएको यो फिल्मले बक्स अफिसमा ३३७ करोड भारु कमाइ गरेको छ ।

शैतान

शैतान हरर जनराको फिल्म हो । यो फिल्म गत ८ मार्चमा रिलिज भएको थियो । विकास बहलले निर्देशन गरेको यो फिल्म गत वर्ष रिलिज भएको गुजराती फिल्म वशमा आधारित छ । यो फिल्ममा  अजय देवगण, आर माधवन, ज्योथिका, जानकी बोदिवालाजस्ता कलाकारको अभिनय रहेको छ । ६०–६५ करोड आसपास लगानीमा निर्मित यो फिल्मले २११ करोड भारु कमाइ गरेको छ ।

क्रु

नारीप्रधान कमेडी फिल्म क्रुको निर्देशन राजेश ए कृष्णन् गरेको हुन् । यो फिल्म गत २९ मार्चमा भएको थियो । फिल्मको निर्माण एकता कपुर, रेहा कपुर, अनिल कपुर र दिग्विजय पुरोहितले गरेका हुन् । फिल्ममा तबु, करिना कपुर, कृति सनोन, कपिल शर्माजस्ता कलाकारले अभिनय गरेका छन् । यो फिल्म ७५ करोडमा निर्माण भएको थियो । यो फिल्मले बक्स अफिसमा १५७ करोड कमाइ गरेको छ ।

तेरी बातोँ मेँ ऐसा उलझा जिया

शाहिद कपुर र कृति सनोनको मुख्य अभिनय रहेको तेरी बातोँ मेँ ऐसा उलझा जिया साइन्स फिक्सन रोमान्टिक कमेडी जनरामा आधारित फिल्म हो । यो फिल्म गत ९ फेब्रुअरीमा रिलिज भएको थियो ।

फिल्मको निर्देशन अमित जोशी र आराधना शाहले गरेका हुन् भने दिनेश विजन, ज्योति देशपाण्डे र लक्ष्मण उतेकरले निर्माण गरेका हुन् । ४५ करोडमा निर्माण भएको यो फिल्मले १३३ करोड भारु कमाइ गरेको छ ।

मुन्जा

आदित्य सपोदारले निर्देशन गरेको मुन्जा गत जुन ७ मा रिलिज भएको हो । हरर जनरामा निर्मित यो फिल्मको निर्माण अमर कौशिक र दिनेश विजनले गरेका हुन् । यो फिल्म भारतीय ग्रामीण क्षेत्रमा सुनिने ‘मुन्जा’ कहानीसँग मिल्ने बताइएको छ ।

यो फिल्ममा सारवरी, अभय वर्मा, सत्यराजलगायतका कलाकारको अभिनय छ । बक्स अफिसमा यो फिल्म सफल मानिएको छ । जम्मा ३० करोड लगानीमा निर्मित यो फिल्मले १३२ करोड कमाइ गरिसकेको छ ।

ब्याड न्यूज

आनन्द तिवारीले निर्देशन गरेको ब्याड न्यूज कमेडी फिल्म हो । यो फिल्म गत १९ जुलाईमा रिलिज भएको थियो । फिल्ममा विक्की कौशल, तृप्ती दिम्री, एममी व्रिकलगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मलाई सन् २०१९ मा रिलिज भएको ‘गुड न्यूज’ को सिक्वल मानिएको छ । ८० करोड लगानीमा बनेको यो फिल्मले हालसम्म ११५ करोड भारु कमाइ गरिसकेको छ ।

आर्टिकल ३७०

आर्टिकल ३७० सन् २०१९ मा भारत सरकारले कश्मीरलाई दिएको विशेष राज्यको मान्यता खारेज गरेको राजनीतिक घटनाक्रमलाई समेटिएको फिल्म हो । यो फिल्म गत फेब्रुअरी २३ मा रिलिज भएको थियो ।

आदित्य सुहास जाम्बलेले निर्देशन गरेको यो फिल्ममा यामी गौतम धर, प्रियामनी, राज अर्जुन, वैभव तत्ववादीजस्ता कलाकारको अभिनय रहेको छ । २० करोड भारुमा निर्माण भएको यो फिल्मले ११० करोड भारु कमाइ गरेको छ ।

बडे मियाँ छोटे मियाँ

अली अब्बास जाफरले निर्देशन गरेको बडे मियाँ छोटे मियाँ यसै वर्षको ११ अप्रिलमा रिलिज भएको हो । साइन्स फिक्सन जनरामा निर्मित यो फिल्ममा अक्षय कुमार, टाइगर श्रोफ, पृथ्वीराज सुकुमारन्, मानुसी चिल्लरजस्ता कलाकारको अभिनय रहेको छ ।

३५० करोड भारुमा बनेको यो फिल्म बक्स अफिसमा भने फ्लप भयो । यो फिल्मले केबल १०२ करोड भारु मात्र कमाउन सफल भयो ।

चन्दु च्याम्पियन

कबिर खानले निर्देशन गरेको चन्दु च्याम्पियन गत १४ जुनमा रिलिज भएको थियो । साजिद नादियावालासँग मिलेर कबिर खानले उत्पादन गरेको यो फिल्म पारा ओलम्पिक पदक विजेता मुरलीकान्त पेटकरको जीवनकथामा आधारित छ ।

यो फिल्ममा कार्तिक आर्यन, विजय राज, भुवन अरोराको मुख्य भूमिका छ । ७० देखि १४० करोड लगानीमा निर्मित यो फिल्मले ८८ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?