मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफ्ना नानी बाबुलाई सुनाउनुस् यी लोकप्रिय बाल गीत (भिडियोसहित)

काठमाडौँ– सङ्गीतलाई मन नपराउने विरलै होलान् । बालबालिकादेखि किशोर, वयस्क र पाको उमेरका सबैका लागि सङ्गीतको ध्वनी उत्तिकै प्रिय लाग्छ । उमेर र रुचिअनुसार मानिसको रोजाइमा सङ्गीतको स्वाद फरक हुन्छ ।

बालबालिकाका लागि बाल गीत उत्तिकै सर्वप्रिय छन् भने किशोर तथा वयस्क उमेरकालाई पप तथा आधुनिक सङ्गीत रोजाइमा छन् । त्यस्तै पाको उमेरका स्रोताका रोजाइमा भजन र भक्तिभाव दर्शनका गीतसङ्गीत पर्छन् ।

यीमध्ये बालगीत स–साना बालबालिकादेखि स्कूल जाने उमेरका बालबालिकामा पनि उत्तिकै प्रिय छन् । बाल गीतले बालबालिकाहरुमा उमेरअनुसारको भाषिक सिप, साङ्गीतिक आनन्द तथा मनोरन्जन र शब्दभण्डार वृद्धि गर्न विशेष भूमिका खेलेको देखिन्छ ।

साना बालबालिकालाई उमेरअनुसार साङ्गीतिक आनन्द प्रदान गर्न तथा शब्दभण्डारको वृद्धि गर्ने उद्देश्यले नै बालगीतहरू तयार गरिएको छ ।

हामीले तिनै १० लोकप्रिय बालगीतहरुबारे यहाँ चर्चा गर्दैछौँ ।

म्याउँ म्याउँ बिरालो

‘म्याउँ म्याउँ बिरालो’ नर्सरी तहका स्कूले बालबालिकाहरुमा अत्यन्तै लोकप्रिय गीत हो । गीतले यो समाचार तयार पार्दासम्म १ सय ३६ मिलियन भ्युज बटुलेको छ । बालबालिकालाई मुसाले दुःख दिएपछि त्यसको आक्रोश गीतमा पोखिएको छ ।

सानी नानी, बिरालो र मुसो एनिमेसन भिडियोमा देखाइएको छ । नानी बाबु च्यानलमा सार्जजनिक यस गीतमा रोज बज्राचार्यसँगै दैस्य बज्राचार्यको स्वर र फिरोज बज्राचार्यको सङ्गीत संयोजन रहेको छ ।

ताली बजा

‘ताली बजाउ’ गीतको लय, शब्द र भाका विशेषत एक वर्षदेखि तीन/चार वर्ष उमेरका बालबालिकाहरुमाझ निकै लोकप्रिय छ । साना बालबालिकाको स्वरमा सुन्दर कार्टुन चित्रसहितका दृश्यमा बालबालिकाहरु असाध्यै रम्न सक्छन् ।

‘नानाबाबु नेपाली राइम्स’ युट्युब च्यानलबाट झण्डै चार वर्षअघि सार्वजनिक भएको यस गीतमा समाचार तयार पार्दासम्म ३६ मिलियन भ्युज छ । फिरोज बज्राचार्यको सङ्गीत संयोजन रहेको गीतमा रोज बज्राचार्य र दैस्य बज्राचार्यको स्वर समावेश छ ।

सात बार सात दिन

कवि एवम् बालसाहित्यकार रामबाबु सुवेदीको ‘सात बार सात दिन’ सदाबहार बालगीत सिर्जनाभित्र पर्छ । नेपाली पाठ्यक्रममा समेत समावेश यस गीतलाई सुवेदीले नै डिजिटल भर्जनमा राखेका हुन् । गीतमा रामेश श्रेष्ठको सङ्गीत र स्वर्णिम स्कूलका विद्यार्थीहरुको स्वर रहेको छ ।

बालबालिकाहरुलाई सात बारहरुलाई चिनाउने उद्देश्यले सिर्जना गरिएको यस गीतमा सुवेदीले एनिमेसन भिडियो समेत जोडेका छन् । जुन गीतमा यो समाचार तयार पार्दासम्म ३६ मिलियन भ्युज छ ।

कुखुरी काँ

‘कुखुरी काँ’ बोलको बाल गीत पनि बालबालिकामाझ निकै लोकप्रिय गीत हो । पुरानो बालगीतलाई डिजिटल भर्जनमा समेत बालबालिकाहरुले निकै रुचाएका छन् । समाचार तयार पार्दासम्म ३१ मिलियन भ्युज रहेको यस बाल गीतमा रोज बज्राचार्य र दैस्य बज्राचार्यको स्वर रहेको छ । गीत नानी बाबु च्यानल मार्फत सुन्न र हेर्न सकिन्छ ।

लाली हाम्री गाई

‘लाली हाम्री गाई’ गीतमा बालबालिकालाई गाईका गुण र विशेषताहरु वर्णन गरिएको छ । साना एक दुई वर्षका बालबालिकाहरुलाई यसको भिडियोले मनोरञ्जन दिन्छ भने स्कूले बालबालिकाहरुलाई यसले गाईबारे सजिलैसँग बुझाउन सघाउँछ ।

तीन मिनेट ११ सेकेन्डको गीतमा पनि रोज बज्राचार्य र दैस्य बज्राचार्यकै स्वर रहेको छ । गीतको एरेन्ज पनि फिरोज बज्राचार्यले नै गरेका छन् । गीतले यो समाचार तयार पार्दासम्म २४ मिलियन भ्युज बटुलेको छ ।

ताराबाजी लै लै

हुन त ‘ताराबाजी लै लै’ पुरानो पाठ्यक्रममा समावेश बालगीत हो । यद्यपि यसलाई अहिले डिजिटल भर्जनमा ल्याएपछि बालबालिकाहरुले निकै रुचाएका छन् ।

मामा, माइजु, पापा, सोली जस्ता बालबालिकाहरुका प्रिय शब्द यस गीतमा प्रयुक्त छन् । यसमा समावेश सङ्गीतको ध्वनी र भिडियोका दृश्यहरु समेत उतिकै सुन्दर छन् । गीतको भिडियोमा यो समाचार तयार पार्दासम्म १७ मिलियन भ्युज छ । 

पानीमुनि माछा

भर्खरै स्कूल गएका नर्सरी तहका साना बालबालिकाहरुको रोजाइमा अहिले ‘पानीमुनी माछा’ बोलको गीत छ । स्कूलमा समेत यही गीतको ध्वनी बजेको सुनिन्छ । उत्तम पौडेलको संकलन रहेको गीतमा कृपा बिसी र एरेन्ज पदम बिसीले गरेका छन् ।

एक त सानी नानीको स्वर अर्कोतिर कार्टुन चित्रसहितको नृत्य भिडियो समेत गीतमा समावेश छ । बालबालिकाहरुको चञ्चलता र बालापन समेत समेटिएको भिडियो युट्युबमा पनि रुचाइएको छ ।

चीँ मुसी चीँ

‘चीँ मुसी चीँ’ बालबालिकामाझ अर्को लोकप्रिय बालगीत हो । नानी बाबु च्यानलबाट सार्वजनिक भएको गीतमा रोज बज्राचार्य र दैस्य बज्राचार्यकै स्वर र फिरोज बज्राचार्यको एरेन्ज छ । समाचार तयार पार्दासम्म १० मिलियन भ्युज बटुलेको गीतको भिडियोमा बालबालिका र मुसाको रोचक दृश्य कार्टुनमै प्रस्तुत गरिएको छ ।

अ बाट अनार

बालबालिकाहरुमा नेपाली स्वरवर्णलाई चिनाउने उद्देश्यले ‘अ बाट अनार’ बालगीत सिर्जना भएको छ । डिजिटल भर्जनमा बालबालिकाहरुले भिडियोसँगै नेपाली स्वरवर्णलाई चिन्न सक्छन् । नानी बाबु च्यानलबाट सार्वजनिक गीतमा १० मिलियन भ्युज छ ।

सुँगा

‘म सुँगा’ बोलको गीत पाँच महिनाअघि मात्र सार्वजनिक भएको हो । नानी बाबु च्यानलबाट सार्वजनिक गरिएको गीतमा सुँगाको वर्णन गरिएको छ । यो समाचार तयार पार्दासम्म झण्डै दुई मिलियन भ्युज बटुलेको गीतमा रोज बज्राचार्य र दैस्य बज्राचार्यकै स्वर अनि फिरोज बज्राचार्यको एरेन्ज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?