मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ ।

उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ ।

किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ ।

तत्कालीन समयमा रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छ भने गढी वरिपरि बङ्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । भगवती मन्दिरमा दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

बुद्धेश्वर गुफामा रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेला लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा तीन चुल्हाको पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ ।

त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ ।

चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानकार बताउँछन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङको सिमानामा पर्ने मझुवागढी पछिल्लो समय कुरुप बन्दै गएको छ ।

प्राकृतिक रूपमै पर्यटकीय क्षेत्र रहेको मझुवागढीलाई पर्यटन प्रवर्द्धनको नाममा अनावश्यक भौतिक संरचना निर्माण गर्दा कुरुप बन्दै गएको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्नेमा त्यसलाई असर गर्नेगरी भौतिक संरचना बनाएर अनुत्पादक क्षेत्रमा लगानी गरेको जनाउँदै आलोचना सुरु भएको छ ।

कोशी प्रदेश सरकार तथा नगरपालिकाको साझेदारीमा कालिका भगवती देवीको मन्दिरभन्दा केही तल अवस्थित बुद्धेश्वर गुफा नजिकै सिमेन्टको कङ्क्रिट प्रयोग गरेर भौतिक संरचना निर्माण गरेपछि आलोचना सुरु भएको हो ।

समपूरक अनुदानअन्तर्गत कोशी प्रदेशको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी एक करोड ३६ लाख ८४ हजारमध्ये ९६ लाख ६६ हजार दुई सय ८९ लागतमा ठेक्कामार्फत बुद्धेश्वर गुफा अगाडि टावर निर्माण गरिएको छ । निर्माणाधीन टावरका लागि २०८१ साल असार २४ गतेसम्म सक्नेगरी निर्माण कम्पनीले २०८० साल माघ ९ गते सम्झौता गरेको थियो ।

निर्माणाधीन आयोजनाको रु ७५ लाख सात हजार चार सय ९६ भुक्तानी भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए ।

मझुवागढी सौन्दर्यकरणका चालु आर्थिक वर्षमा पनि कोशी प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

अघिल्लो स्थानीय सरकारले विभिन्न ठाउँमा टावर, आँखा पोखरी, देवीथानलगायत अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको र वर्तमान स्थानीय सरकारले पनि बुद्धेश्वर गुफा अगाडि टावरलगायत संरचना निर्माण गरेको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजु लयालुले आरोप लगाए ।

मझुवागढी आसपासका क्षेत्रमा भ्यूटावर, धर्मशाला, प्रतिक्षालय, खानेपानीको ट्याङ्कीलगायत करोडौँका संरचना निर्माण भइरहेका छन् । दिक्तेलबजारस्थित हाटडाँडाबाट नै सिमेन्ट र बालुवा प्रयोग गरेर कङ्क्रिटको पदमार्ग निर्माण गरिएका छन् ।

नगरप्रमुख तीर्थराज भट्टराईले भने पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकलाई आकर्षित गर्न मझुवागढी आसपासका क्षेत्रमा भौतिक संरचना बनाइएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?