मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

महिनावारी गडबड हुने कारण के हो?

सामान्यतया महिनावारी चक्र हरेक २८ दिनमा हुन्छ । तर सबै महिलाहरुमा यहि चक्र नदोहोरिन पनि सक्छ । कतिपयलाई महिना पुग्नु भन्दा ७–८ दिन अगावै हुने गर्छ कतिपयलाई महिना पुगेर १०–१२ दिन पछाडि पुग्ने हुन्छ ।

यो सामान्य र प्राकृतिक प्रक्रिया भए पनि कतिपय महिलामा भने पन्ध्र दिनमै पुन रजस्वला हुन्छ र महिनावारी भएको डेढ महिना दुई महिना बितिसक्दा पनि हुँदैन । यसलाई भने असामान्य रूपमा लिइन्छ । महिनावारीमा गडबड भइरहे चिकित्सकको परामर्श लिनुपर्छ ।

महिनावारी गडबढ किन हुन्छ, के कारणले हुन्छ, यसले भविश्यमा के–कस्ता जटिलताहरु निम्त्याउन सक्छ लगायतका विषयमा स्त्रीरोग विशेषज्ञ डा. ममता बरालसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले कुराकानी गरेकी छिन् ।

महिनावारी अनियमितता के हो ?

कुनै पनि किशोरी या महिलामा २२ दिनदेखि ४५ दिनसम्म महिनावारी हुनुलाई सामान्य मानिन्छ । तर कतिपय महिलाहरुलाई यो भन्दा कम या बढी समयमा पनि महिनावारी हुन्छ । यो समयबाहेक पनि कसैलाई छिटो वा कसैलाई ढिलो महिनावारी हुनसक्छ, जसलाई महिनावारी गडबडी वा अनियमित महिनावारी भनेर बुझिन्छ ।

के कारणले महिनावारीमा गडबडी हुने गर्छ ?

हर्मोनको गढबढी, खराब जीवनशैली र खानपानको कारण, मोटोपन र कोही एकदमै पातलो छन् भनेपनि महिनावारी गढबड हुनुक्छ । 

के हर्मोनको प्रभावले गडबडी हुने हो?

कोही युवतीहरु ११–१२ वर्षको उमेरमा नै महिनावारी हुने गर्छन् । यसो हुँदा एकपटक रजस्वला हुने र दुई–तीन महिना पुन नहुने हुन सक्छ । यदि महिलामा रजस्वला सुक्ने समय भएको छ भने पनि सेल्सहरु सुक्ने र हर्मोनहरुको गडबडका कारण महिनावारी अनियमित हुनसक्छ ।

त्यस्तै, यदि शरीर दुब्लो छ वा अचानक तौल घटिरहेको छ भने पनि महिनावारी अनियमित हुनसक्छ । अत्यधिक दौडधुपले खानपानमा उचित समय नदिनु, पौष्टिक आहार कम खानु, कोही तौल बढ्ने चिन्ताले क्यालोरी नियन्त्रण गर्न आवश्यक खानेकुराभन्दा कम खाने युवतीमा तौल घट्न सक्छ । कोही जति खाए पनि शरीर अत्यधिक दुब्लो छ भने पनि अण्डाशयको लागि आवश्यक हर्मोन उत्पादन हुन बन्द हुनसक्छ ।

अर्को भनेको अत्यधिक तौल पनि नियमित महिनावारीमा असर गर्ने कारक बन्न सक्छ । मोटो शरीर भएमा एस्ट्रोजेन हर्मोनको उत्पादन चाहिनेभन्दा बढी हुन्छ । जसले महिनावारी नियमित हुन दिँदैन ।

यदि विवाहित महिलाहरुमा अनियमित महिनावारीको समस्या छ भने त्यो गर्भनिरोधक चक्कीहरुको प्रयोगका कारण हुनसक्छ । विवाहित अधिकांश महिलाहरुले गर्भ नरहोस् भन्नका लागि पिल्स चक्की सेवन गर्ने गर्छन् । यसैकारण पनि महिनावारी अनियमित हुनेगर्छ ।

त्यति मात्र नभएर यदि कुनै महिलामा घाँटीमा हुने थाइराइड ग्रन्थीले पनि जैविक प्रकृयाहरुसँगै अन्य मासिक चक्रलाई धेरै हदसम्म नियन्त्रण गरेको हुन्छ । केही कारणवश यसमा हुने ‘हाइपो–थाइरोडिज्म’ तथा ‘हाइपर–थाइरोडिज्म’का कारण कार्यप्रणालीमा प्रभाव पार्ने केही अवस्थाहरुले महिलाको मासिक चक्रमा समेत अनिमियतता निम्त्याउँछ ।

हाइपर–थाइरोडिज्मको अवस्थामा ग्रन्थीले शरीरको मेटाबोलिजम बढाउने साथै थायरोक्सिन नामक अति सक्रिय हर्मोनको उत्पादन गर्दछ । जसले महिनावारीको चक्रलाई अनियमितताको निम्ति बढावा दिँदै केही महिनौसम्म टाढा लैजान्छ ।

साथै गर्भवती भएर मासिक चक्र रोकिएको छ र शंका लागेमा महिनावारी रोकिएको हप्ता दिनपछि मात्रै आफ्नो गर्भ जाँच गराउनु उचित रहन्छ । अन्यथा यस्तो अवस्थामा गरिएको जाँचको नतिजा गलत देखा पर्ने सम्भावना रहन्छ ।

यस्तो अवस्थामा के–कस्ता लक्षणहरु देखिन सक्छन् ?

महिनावारी गडबडी हुँदा धेरै रिगंटा लाग्ने, शारीरिक कमजोरी महसूस हुने, टाउको दुख्ने, खाना अरुचि हुने कतिपयलाई बान्ता हुने, अत्याधिक रक्तश्राव हुने लगायतका लक्षण देखा पर्छ ।

महिनावारीको समयमा अत्याधिक पेट दुख्ने किन हुन्छ ?

पाठेघरको मुखमा समस्या भएर पनि रगत बग्न सक्दैन । जसले रगतभित्रै बस्दा महिनावारी कष्टकर हुनसक्छ । कुनै महिलाको पाठेघरको भित्री मुख जसबाट रक्तस्राव हुने गर्छ, त्यो एकदमै कसिएको हुन्छ । यस्तो अवस्थामा पनि महिनावारी निकै कठिन हुन्छ । साथै योनी तथा पाठेघरमा संक्रमण हुँदा महिनावारी अनियमित हुन्छ । यस्तोमा महिनावारी हुँदा अत्यधिक दुखाइ पनि हुनसक्छ ।

कस्तो अवस्थामा अस्पताल जाने त?

महिनावारीको समय ४० दिनभन्दा बढी नाघेमा, नियमित भइरहेको महिनावारी अचानक रोकिएमा, महिनावारी हुँदा अत्यधिक पीडा साथै रक्तस्राव भएमा, एक साताभन्दा बढी समयसम्म रक्तस्राव भइरहेमा र महिनावारी हुँदा अत्यधिक पेट दुखाइ भएमा अस्पतालमा चिकित्सकको परामर्श लिनुपर्छ । अत्यधिक पेट दुखाइ हुनु, रक्तस्राव धेरै हुनु र गर्भ रहन पनि समस्या भइरहेको छ भने पाठेघरको परीक्षण गराउनुपर्ने हुन्छ ।

महिनावारी पीडामा के कस्ता घरेलु उपायहरु अपनाउन सुझाव दिनुहुन्छ?

तनाव व्यवस्थापन गर्ने, पेट दुख्दा हट वाटर ब्यागले सेक्ने, तातो पानीले नुहाउने, आवश्यक शारीरिक सक्रियता बढाउने, पौष्टिक आहार बढी खाने, जंक फुड नखाने र अत्याधिक व्यायाम नगर्दा पनि महिनावारी समस्यामा राहत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?