काठमाडौँ– नाटकमा समकालीन समय होस् या पुस्तालाई सम्बोधन गर्दै त्यसलाई रङ्गमञ्चीय स्वरूपमा ढाल्न खप्पिस छन्, रङ्गकर्मी आशान्त शर्मा ।
उनका लागि केवल नाटक रङ्गमञ्चमा प्रस्तुत हुने दृश्य र कलाकारहरुले गर्ने अभिनय मात्र होइन । यो समय र पुस्ताको भोगाइ र पीडाहरुलाई उनी टपक्कै टिप्छन् र नाटककै रुपमा बुनेर रङ्गमञ्चमा प्रस्तुत गर्छन् ।
सिङ्गो मानव समुदायले भोगेको समकालीन मुद्दामा जति उनी सचेत छन्, त्यो भन्दा बढी रङ्गमञ्चमा प्रस्तुत हुने दृश्यहरुमा देखिन्छन् । त्यसैले त उनका नाटक सिर्जनाहरुले बालबालिकादेखि किश्वरावस्था, वयस्क र पाको उमेरकाहरुको भावनाको प्रतिनिधित्व गर्छन् ।
‘कथा एक्सप्रेस’ होस् या ‘एल.आइ.जी.पिकनिक’ वा ‘ढल्केको सालैजो,’ ‘साथी साथी आइदेऊ न’ जस्ता उनका नाटकहरुमा समकालीन समाजकै भोगाइ र विषयहरु केन्द्रीय रुपमा आएका छन् ।
समाज, मानवीय प्रवृत्ति, भोगाइ, पीडा र कथाव्यथा खोतल्दै जाने क्रममा यसपटक भने शर्मा अर्का रङ्गकर्मी मुक्तिसँग ठोक्किन पुगेका छन् । र त शर्मा र मुक्तिको जुगलबन्दीमा नाट्यप्रेमीहरुमाझ यतिबेला नाट्य सिर्जनाका रुपमा नाटक ‘काँचो धागो’ आएको छ ।
मुक्तिको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन शर्माले गरेका छन् । टेकुस्थित कथा घेरा कौसी थिएटरमा भदौ ६ गतेदेखि मञ्चन थालनी गरिएको नाटकमा विशेषत मानव प्रवृत्तिलाई प्रकृति र पर्यावरणसँग जोडेर प्रस्तुत गरिएको छ । नाटकको शुरुवाती दृश्यमै प्रस्तुत गरिएको लोक भाकाको लय र नृत्यले नाटकको कथा उठान कुनै ग्रामिण बस्तीबाट गरिएको छ भन्ने भान हुन्छ ।
नाटककार मुक्तिका अनुसार गण्डकी क्षेत्रको कुनै गाउँमा घटेको घटना र त्यससँग सम्बन्धित विषयवस्तुलाई नाटकमा बुनिएको छ । नाटकभित्र भने ‘गौरादी गाउँपालिका, कपासे डाँडा’को परिवेशमा बाँचिरहेकी मनमाया लाउर्नी आमा(आयुश्मा मगर)ले भोगेको सिङ्गो जीवनको कथा छ ।
नाटकमा लाउर्नी आमा अर्थात् लाहुरेनीको भोगाइहरुमा नै कपासे डाँडा गाउँको कथा पनि जोडिन्छ । ती कथाहरुमा नै प्रकृति, वातावरण र जीवजनावरहरुसँग मानवीय सम्बन्धहरु समेटिएका छन् । लाउर्नी मार्फत समकालीन समयले भोगिरहेको तीतो यथार्थतालाई नाटकले प्रस्तुत गरेको छ ।
युवाविहीन बन्दै गएको गाउँबस्तीमा कसरी उमेर काटेका बाआमाहरु सन्तान र मृत्युको बाटो कुरेर बसेका छन् भन्ने हालको अवस्था नाटकमा देख्न सकिन्छ ।
नाटकमा लाउर्नी आमा अर्थात् मनमाया मुख्य पात्रका रुपमा उभिएकी छिन् । लाहुरे दिलुसँग नाचगानकै क्रममा माया प्रेम बसेपछि मनमायाले उनैसँग विवाह गर्छिन् । अन्तरजातीय विवाहकै कारण घरपरिवारमा दुवैजनाको निर्णय पूर्ण रुपमा स्वीकार हुँदैन ।
त्यसपछि परिवारको सुखका लागि लाहुर पसेका दिलु उतै अस्ताउँछन् । कान्छो छोरो गर्भमा र अरु भएका स–साना छोराछोरीहरुलाई दुःखले हुर्काएर लाउर्नीले आफ्नो खुट्टामा उभिने बनाउँछिन् । लाउर्नी आमाको जेठो छोराको सन्तान नै सरकारी जागीरमा छन् ।
कान्छो छोरोको सन्तान नै अमेरिकामा छन् । यता उनी जेठी बुहारीसँग बसेर घर कुरिरहेकी छिन् । उमेरले ८४ वर्षकी हुनै लागेकी उनलाई छोराहरुले रोजेको शहर र विदेशी भूमिभन्दा गाउँघर नै प्रिय छ । न त उनलाई जेठो छोरासँगै शहरमा बस्न मन छ, न त कान्छोसँग अमेरिकामा जान नै ।
आफू बाँचेकी भूमिमा उनी छोराछोरी र नातानातिनीहरु कुरैर बसेकी छिन् । श्रीमान्, छोराछोरी र नातानातिनीहरुसँग बिताएका पलहरु नै साँचेर उनी त्यसैमा बाँचिरहेकी छिन् । बेला–बेलामा छोरा र नातानातिनीहरुसँग हुने भर्चुअल कुराकानी नै उनका लागि अडिने आशाहरु हुन्छन् ।
उनका मात्र नभएर गाउँमा धेरैजसोका छोराहरु गाउँमा छैनन् ।
गाउँ रित्तो हुँदै गएपछि खेतबारी बाँझै छन् । वनजङ्गल रित्ता छन् । वनजङ्गल र खेतबारी रित्तै भएपछि बाँदरहरु खाना खोज्न बस्ती छिरेका छन् । बस्ती छिरेका बाँदरहरु व्यवस्थापनकै लागि वडा अध्यक्षले गाउँलेहरुलाई बन्दुक र गोली थमाएको छ ।
त्यही गाउँ पसेकै बाँदरहरुमध्ये एउटासँग लाउर्नी आमाको सम्बन्धलाई नाटकले निकै सुन्दर ढंगले स्थापित गरेको छ । लाउर्नी आमा र बाँदरको सम्बन्धलाई नै नाटकले रोचक रुपमा प्रस्तुत गरेर त्यसैलाई वियोगान्तमा ढालेको छ ।
नाटकमा देखाइएको लाउर्नी आमा र बाँदरको सम्बन्धलाई थुप्रै दृष्टिकोणबाट नियाल्न सकिन्छ । जसमा मानव उत्पत्ति, मानवीय कल्पना र मृत्युपछिको संसारलाई बुझ्न सकिन्छ । नाटकमा मानव र बाँदरको सम्बन्धलाई हेदौ झट्ट विकासवादी सिद्धान्तका पिता चाल्स डार्विनको स्मरण हुन्छ ।
तथापि नाटकमा भने प्रकृति, जीवजनावर र मानिसबिचमा रहेको अन्योन्याश्रित सम्बन्धलाई स्थापित गर्ने प्रयत्न गरिएको छ । मान्छेको मृत्युपछि अनेक जीवजनावरको जुनीका रुपमा बाँचिन्छ भन्ने हाम्रो मान्यता र यससँग सम्बन्धित थुप्रै मिथकहरु समेत छन् ।
यसतिर पनि नाटक थोरै मोडिन्छ । यद्यपि गाउँबस्तीमा जङ्गली जनावरहरु नै अब मान्छेका सहपाठी बन्दैछन् भन्ने यथार्थ बोध नाटक हेर्दै गर्दा हुन्छ । मान्छे वनमा पसेपछि वनमा भएका जीवजनावरहरु गाउँ पसिरहेका छन् । कपासे डाँडामा बाँदरको आतंक भएजस्तै थुप्रै गाउँबस्तीहरुमा कतै हात्ती, कतै जङ्गली बाघहरुले आतंक मच्चाइरहेका छन् ।
‘कपासे डाँडाबासीले जङ्गली जनावरबाट बच्न बाँदरहरु मारेजस्तै अन्य थुप्रै गाउँहरुले अन्य जनावरहरु मार्दै जाने हो भने प्रकृति, पर्यावरण र मानवीय अस्तित्व कस्तो होला ? के जङ्गली जनावरलाई समाप्त पार्नु नै मानव समुदायको अन्तिम उपाय हो ?’ नाटकले गम्भीर प्रश्न खडा गरेको छ ।
लाउर्नी आमा र कपासे डाँडाबासीको भोगाइ सिङ्गो ग्रामिण बस्तीको प्रतिनिधित्व हो । प्रत्येक गाउँमा अहिले उमेर कटेका वृद्धवृद्धाहरु मात्र घर कुरेर बसेका छन् । खेतबारी उर्बर बनाउने पुस्ताहरु शहर र परदेशमा पलायन भएका छन् । खेतबारी खाली भएपछि खाना खोज्दै जनावरहरु घर–घरमा पसिरहेका छन् ।
घरमा खाना खोज्ने जनावरदेखि चराचुरुङ्गीहरुसँगै वृद्ध बुवाआमाहरु दिन कटाउने मेलो बनाइरहेका छन् । यो समय निरन्तर यसरी नै चलिरहेमा हाम्रो पूर्खा, मौलिकता र हाम्रो आफ्नो भनिने चीजबिजहरुको अस्तित्व के होला ? नाटकले यी कुराहरु सोचमग्न बनाउँछ ।
परदेशिएकाहरुले आफ्नो बुवाआमाको अन्तिम संस्कार र काजक्रियाकर्म समेत भर्चुअल रुपम गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । यी सबै समकालीन अवस्थाहरुको सिङ्गो प्याकेजका रुपमा नाटक ‘काँचो धागो’लाई लिन सकिन्छ ।
लाउर्नी आमा र लाहुरे दिलुले बाँचेको जीवनलाई दृश्यहरुलाई नाटकमा समेटिएको छैन । लाउर्नी आमाको स्मरणका रुपमा फ्ल्यासब्याक पनि छैन । मात्र लाउर्नी आमाले समकालीन समयलाई सुनाउँदै गरेको स्मरणमा नै उनको जीवनलाई समेटिएको छ ।
त्यही उनको भनाइ र बाँदरसँगको सम्बन्धलाई नाटकले निकै सशक्त रुपमा प्रस्तुत गरेको छ । शुरुवाती र अन्तिम नृत्य गरिरहेकै दृश्यलाई जोडेर नाटकको पूर्ण कथा देखाउने जमर्को निर्देशक शर्माले गरेका छन् । शहरीकरण, वैदेशिक रोजगार, प्रकृतिको क्षयीकरणमा मानवीय सम्बन्धहरु कसरी जोडिएका छन् भन्ने कुरामा समेत उनले मानवका संवेदना र भावनाहरुलाई खोतल्ने काम गरेका छन् ।
कथा, मञ्च, पात्रहरु सुनिरहेको र देखिरहेकै सामान्य जस्तो लागेपनि त्यसमा मान्छेको मनभित्र छुने सिर्जना पस्कन यो पल्ट पनि उनी सफल देखिएका छन् । रङ्गमञ्चमा सक्रिय युवा पुस्ताका रङ्गकर्मी मुक्तिले डेब्यु नाटककै आम मान्छेका मुटुलाई छुने काम गरेका छन् ।
अभिनयकै रुपमा बाँदर होस् या लाहुरेको भूमिकामा समेत उनी पोख्त देखिएका छन् । लाउर्नीको भूमिका निभाएकी कलाकार मगरको अभिनयले नाटकलाई अझै जीवन्त बनाएको छ । पाको उमेरको उनको अभिनयसँगै संवाद र अनुहारको भावभङ्गीले समेत नाटकको कथालाई डोर्याएको छ । उनकै मार्फत यो समयको सङ्क्रमणकालीन अवस्थालाई नजरअन्दाज लगाउन सकिन्छ ।
गण्डकी क्षेत्रसँगै ग्रामिण भेगलाई झल्काउने नाटकमा प्रयुक्त गीतसङ्गीतका लयहरुमा उत्तिकै मिठास छन् । कलाकाहरु सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईले विभिन्न चरित्रहरुमा पनि आफ्नो अभिनय कलालाई सुन्दर ढंगले निर्वाह गरेका छन् ।
वेज प्रा.लि.को प्रस्तुति रहेको नाटक मंगलवार बाहेक भदौ २९ गतेसम्म मञ्चन हुनेछ ।
मञ्च परिकल्पना: रसिक राज
मञ्च निर्माण: शिव परियार
सङ्गीत: आशान्त शर्मा
गीत: मुक्ति, आशान्त शर्मा र कविर काफ्का
प्रत्यक्ष वाद्यवादन: कमल वली र विजय महर्जन
प्रकाश: विनीता लामा गुरुङ
ध्वनि: आरती गौतम
कोरियोग्राफी: पूर्णिमा आचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया