बैतडी– सुर्नया गाउँपालिका २ मा अवस्थित पाताल भुवनेश्वर धाम, ऐतिहासिक तथा धार्मिक महत्त्वको स्थल भए तापनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । दक्षिण एसियाकै लामो मानिएको यो गुफा, उचित संरक्षण र प्रचार प्रसारको कमीका कारण जनमानसमा लोकप्रिय हुन सकेको छैन ।
गुफाको संरक्षणमा स्थानीय सरकारको उदासीनता स्पष्ट देखिन्छ । यसको गहिराइ र लम्बाइबारे अध्ययन तथा अनुसन्धान नहुनाले यसबारे यकिन जानकारी उपलब्ध छैन । घना जंगलको बीचमा अवस्थित यस रमणीय स्थलमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको भए तापनि यसको विकास हुन सकेको छैन ।
स्थानीयले भौतिक संरचना र अन्य विकास कार्यको अभावका कारण गुफाको महत्त्व घटेको बताएका छन् । पौराणिक कथनअनुसार, महादेवले सतीदेवीको मृत शरीरलाई लिएर भ्रमण गर्दा सतीदेवीको पैतला यस ठाउँमा खसेको मानिन्छ, जसको आधारमा गुफालाई ‘पाताल भुवनेश्वर’ नाम दिइएको हो ।
धार्मिक मान्यता अनुसार, यो गुफा कैलाश पर्वतसम्म फैलिएको छ । स्कन्दपुराणको मानस खण्डमा उल्लेख गरिएअनुसार, यहाँ ३३ करोड देवताहरूले बसोबास गरेका थिए, र पाण्डवहरूले समेत यहाँ बास बसेका थिए ।
अयोध्याका राजा रितुवर्णले त्रेता युगमा गुफाको पहिचान गरेको किंवदन्ती छ । गुफाको प्रवेशद्वार सानो भएपनि भित्र प्रवेश गरेपछि यसले ठूलो क्षेत्रफल ओगटेको छ । गुफाको बाहिर एउटा ताल रहेको छ, जुन सधैंभरि पानीले भरिएको हुन्छ, र खडेरीमा समेत पानी नसुक्ने बताइन्छ ।
पाताल भुवनेश्वर धाममा चारवटा गुफा रहेका छन्, र यस क्षेत्रको शोभा चारैतिर फैलिएको जंगल र शिवमन्दिरले थपेको छ । गुफा परिसरमा विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यक्रमहरू हुने गरेका छन् ।
धार्मिक पर्यटकीय सम्भावना भए तापनि पर्यटकहरूलाई आकर्षित गर्न सकिएको छैन । स्थानीयले पूजापाठ र विवाहका लागि आउने बाहेक अन्य पर्यटकको संख्यामा कमी भएको बताएका छन् । यस महत्त्वपूर्ण धार्मिक सम्पदाको विकास र संरक्षणका लागि छुट्याइएको बजेटको सही सदुपयोग नहुनु पनि समस्याको एक मुख्य कारण हो ।
शिवरात्रीको दिनमा पाताल भुवनेश्वर धाममा ठूलो मेला लाग्ने गर्छ, र विभिन्न क्षेत्रका भक्तजनहरू दर्शनका लागि यहाँ आउने गर्छन् । यो स्थलमा दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया