मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वुद्ध चिनाउँदै नेपाली मूर्तिकार

जापानमा चम्किरहेका मञ्जुल मितेरी भन्छन्, ‘हाम्रो प्रतिभालाई देशले होइन, परदेशले चिन्छ’

काठमाडौँ– सात सय वर्षअगाडि नेपाली कलाकार अरनिको चीन पुगेर अद्वितीय नेपाली वास्तुकलाको छवि प्रदर्शन गरे । उनको चीन गमन र कलाकारिताले दुई देशको सम्बन्ध युगयुगान्तरसम्म मजबुत बनाइ राखेको छ ।

त्यो समयमा आफ्नो कलाकारिता प्रस्तुत गर्न जसरी अरनिकोले चीनको भूगोल पाए, त्यसरी नै यो समयमा मञ्जुल मितेरीले जापानको भूगोल पाएका छन् ।

उनी अहिले जापानमा चम्किरहेका छन् ।

मूर्तिकार मितेरीलाई सामाजिक सञ्जाल फेसबुक पेजमा खोतल्ने हो भने उनको सञ्जालको शुरुमै देखिन्छ, अजङ्गको चट्टान र बुद्ध मूर्ति प्रतिमाको तस्वीर ।

उक्त तस्वीरसँगै उनले लेखेका छन्, ‘पर्यावरणलाई असर नपुग्ने स्थानमा करीब सय फुट उचाई भएको एउटा विशाल चट्टानी पहरा खोजौं न । हामी पनि हाम्रो देशमा एउटा विशाल बुद्धमूर्ति बनाऔं ।’

जापानस्थित कुमामोतो खामी आमाकुशाको चट्टानी पहरामा ६० फुटको बुद्ध मूर्ति निर्माण कार्य सम्पन्न गरेका मितेरीले आफ्नो देशमा पनि त्यस्तै मूर्ति बनाउने सपना देखेका छन् । नेपालमा पनि सय फिटको चट्टानमा बुद्ध मूर्ति बनाउन सकेमा त्यसले देशलाई समेत चिनारी दिन्छ भन्ने उनको देशप्रेमले ओतप्रोत भावना कला र अक्षरहरुमा पोखिएका छन् ।

त्यसमार्फत नै आफ्नो कलाकौशल र आफूले सक्ने श्रमदानको सङ्कल्प समेत उनले गरेका छन् । उनको सपना र सङ्कल्पमा देशले सहजै साथ दिन्छ भन्ने कुरामा भने उनमा दृढ विश्वास छैन ।

हाल जापानमै रहेका उनले जोय नेपालसँगको कुराकानीका क्रममा गुनासो गरे, ‘म यस्तो गर्छु भनेर सुनाउँदा हामीलाई समाज र राज्यले विश्वास गर्दैन । हामीलाई देशले होइन, परदेशले चिन्छ । हाम्रो प्रतिभालाई अरु देशले चिनाउनुपर्छ । यही नै ठूलो बिडम्बना छ ।’

झापाको ढुकुरपानी दुम्सेमा जन्मेका मितेरीको बाल्यकालदेखि नै हुर्काइबढाइ, पढाइ र सिर्जना यात्रा मोरङस्थित मिक्लाजुङ साबिक टाँडीबाट शुरुवात भयो । ११ वर्षको उमेरमै मूर्तिकला यात्रा थालनी गरेका उनले दुई दशकभन्दा लामो समय मोरङ उर्लाबारीमा बसेर मुर्तिकला साधना गरे ।

त्यसपछि २०६२ सालमा उनले एक हजार मूर्तिकला निर्माणको सपना देखे । एक दशकभित्रमै देशकै साहित्य, कला, दर्शन, संस्कृति, इतिहास क्षेत्रका विश्वविख्यात व्यक्तित्वहरूको एक हजार मूर्ति निर्माण गरेर देशलाई समर्पण गर्ने घोषणा उनले गरेका थिए ।

उक्त परियोजनाका लागि उनले घोषणा गरेको दुई/तीन वर्ष भित्रमै झण्डै ४० वटा मूर्तिकला निर्माण गरेर उर्लाबारीमै प्रदर्शनी गरे । प्रदर्शनीमा तत्कालीन नगर प्रमुखदेखि प्रमुख जिल्ला अधिकारी लगायतका व्यक्तित्वहरु सहभागी भए ।

सहभागी प्रतिनिधिहरु सबैले उनलाई परियोजना सफल बनाउनका लागि सघाउ गर्ने मीठो प्रतिबद्धता समेत जनाए । यद्यपि निर्माण भएका कलाकृतिहरुको संरक्षणकै लागि सङ्ग्रहालय दर्ता प्रक्रियामा एउटा प्रमाणपत्र दिन जिल्ला कार्यालयले एक वर्ष समय लगायो ।

त्यसपछि उनको परियोजनामा सहकार्य गर्ने प्रतिबद्धताहरु उही कुरैमा सीमित भए । कला र यसका सर्जकहरुलाई राज्यले नबुझिदिँदा यो क्षेत्रले फड्को मार्न नसकेको उनको बुझाइ छ । राज्यका जुन निकायले कलालाई अपनत्व दिनुपर्ने, त्यसैले उपेक्षा गरिरहेको कैयौं अनुभवहरु स्वयं उनी आफैंले भोगेका छन् । तीमध्ये एउटा भनाइमा भने उनको अहिले पनि चित्त दुखाइरहन्छ ।

उर्लाबारीमै मूर्तिकला साधनामा सङ्घर्षमै रहेको बेला एक कार्यक्रममा उनी सम्मान पुरस्कार थाप्न पुगेका थिए । उनलाई सम्मान प्रदान गर्दै तत्कालीन उद्योग मन्त्रीले झापाको दमकमा एसियाकै ठूलो बुद्ध मूर्ति बनाउने योजनाको घोषणा सँगै त्यसका लागि चीनबाट कलाकारहरु ल्याउने सुनाए ।

सत्ता र शक्तिहरु फेरबदल भएपनि कला र कलाकारहरुलाई हेर्ने प्रवृत्ति अझै उस्तै रहेको उनी सुनाउँछन् । त्यसपछि जसोतसो उनी हजार मूर्तिकला सपनाकै बाटोमा हिँडिरहेका थिए । त्यही समयमा जापानमा रहेका चितवनका दिलीप लामिछानेले उनलाई जापानको पहरामा जापानी नागरिक ओसिमा सिजुकीको विशाल बुद्ध मूर्तिक निर्माणको सपना रहेको सुनाए ।

सिजुकीको सपना र कलाकार खोजीकै क्रममा लामिछानेको माध्यमबाट नै मितेरी उनको सम्पर्कमा पुगेका थिए । उनकै नेतृत्वमा सन् २०१६ मा कलाकारहरु गणेशकुमार राई, जीवन पौडेल, चतुरलाल राजवंशी, सुवास विश्वकर्मा र रामकुमार राई उक्त मूर्ति निर्माणका लागि जापान पुगेका थिए ।

उक्त टोलीमा गएका कलाकारहरु सानुभाइ विश्वकर्मा र रामचन्द्र पण्डित ३३ महिना अनि सूर्य केसी एक महिना काम गरेर स्वदेश फर्केका थिए । 

बुद्ध मूर्ति निर्माण कार्य दुई वर्ष अघि नै सम्पन्न भए पनि औपचारिक उद्घाटन कार्यकै लागि मितेरी लगायत नेपाली कलाकाहरु टोली हाल जापानमै प्रतिक्षारत छन् ।

लगभग ६५ फिट उचाइ र २०० फिटको पहरामा मितेरीको समूहले विशाल बुद्ध मूर्तिसँगै ४० फिटका २ वटा र २० फिटका ४ वटा मूतिहरु समेत चट्टानमा निर्माण गरेका छन् । अहिले उक्त परिसरकै चट्टानमा ५१ मिटर लम्बाइका दुई वटा ड्रागन मूर्तिहरु बनाउने काममा आफ्नो समूह लागिरहेको मितेरीले सुनाए ।

त्यही परिसरमा ५१ मिटरको कंक्रिटको निर्वाणा बुद्ध निर्माणको जिम्मेवारी समेत उनको समूहले लिएको छ । उनको समूहले सात वर्षभित्रमा ड्रागन मूर्तिहरुसँगै निर्वाणा बुद्ध निर्माणको कार्यलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

विशाल बुद्ध मूर्तिको औपचारिक उद्घाटन मिति भने सन् २०२६का लागि सारिएको उनले सुनाए । आफ्नै देशमा अवसरबाट वञ्चित कलाकारहरुले परदेशमा एकपछि अर्को परियोजनाहरुमा पाइरहँदा एक हिसाबले मितेरीको समूह खुसी र अर्को हिसाबले दुःखी पनि छन् ।

‘म प्रत्येक दिन ८ देखि ९ घण्टा त्यही पहरामै हुन्छु र आफैंले बनाएको बुद्ध मूर्तिहरु हेर्छु । यसरी बसेको ८ वर्ष भएछ,’ उनी दुखेसो गर्छन्, ‘यही ८ वर्ष मैले देशमा बिताउन पाएको भए कति कलाकृतिहरु देशमै सिर्जना हुन्थे ।

यही अवसर देशभित्र भइदिएको भए यो बुद्ध मूर्ति जापानमा होइन, नेपालमा बनिरहेको हुन्थ्यो ।’

आफ्नो देशभित्र शक्ति, पहुँच, नातावाद, कृपावाद प्रवृत्तिलाई सम्झेपछि फेरि उनी एकैछिन दुःखी हुन्छन् र आफैंभित्रको जागरुकतालाई महसूस गर्छन् । जापानमा जसले उनलाई कला निर्माणको नेतृत्वको लागि जिम्मेवारी सुम्पे, तिनिहरु उनी त्यही बसेर कला सिर्जना गरोस् भन्ने चाहन्छन् ।

नेपालमा जन्मेका गौतम बुद्धको प्रतिमा नेपाली कलाकारकै कलाशिल्प भनेर त्यहाँका पर्यटकलाई आयोजकहरुले चिनाउँदा उनको छाती गर्वले फुल्छ । त्यहाँ मितेरी लगायत कलाकारका कला शिल्प मात्र होइन, बुद्धको जन्मभूमि नेपाल भनेर चिनारी भइरहेको छ ।

यस मानेमा उनी निकै खुसी छन् । फेरि उनी आफ्नो देशलाई सम्झन्छन् र आफ्नो अधुरै रहेको हजार मूर्तिको सपनालाई सम्झन्छन् ।

जापानमा जसरी नै देशमै पनि ठूलो बुद्ध मुर्ति बनाउने उनको धोको पनि छ । जसरी चीनमा कला शिल्प फिँजाएर अरनिको उतै रहे, त्यसरी नै उनलाई जापानमा बसिरहन मन छैन । आफूले जिम्मा लिएको काम फत्ते गरेर उनलाई चाँडै देश फिर्नुछ ।

हजार मूर्ति योजनाका लागि अहिले मोरङमा मितेरीकी पत्नी कौशिला राई र छोरा प्रतीक मञ्जुल बराइली लागिपरेका छन् । यी दुईको पहलमा अहिले दुई सयको हारहारीमा मूर्तिकलाहरु बनिसकेका छन् । निर्माण भएका मूर्तिहरु उर्लाबारीमै ‘मञ्जुल मूर्तिकला केन्द्र’ मा सङ्ग्रह गरेर राखिएका छन् ।

बुवाको सपना पूरा गर्न छोरा समेत कला सिर्जनामा लागिपरेको देख्दा उनको मनमा खुसीको सीमा नै छैन । तथापि आफ्नो सपनालाई आफ्नो सन्तानमाथि थुपार्न उनले चाहेका छैनन् ।

भन्छन्, ‘मेरो सपना सन्ततिलाई भार नबनोस् । अझै पनि नेपाल आएर १५ वर्ष मज्जाले काम गर्न सक्छु भन्ने लाग्छ । मैले जीन्दगी नै सुम्पेर गरेको कामलाई राज्यले सुरक्षा गर्ला कि नगर्ला, कतै कलाकृतिहरु अलपत्र पो पर्ला कि भन्ने कोणबाट मात्र मलाई चिन्ता छ ।’

मितेरी मूर्तिकलामा मात्र नभएर सङ्गीत र साहित्यका स्रष्टा पनि हुन् । कवितामा विशेषत सीमान्तकृत आवाज र दलित सौन्दर्यलाई खोज्ने उनी गीतसङ्गीत रचनादेखि गायनमा समेत पोख्त छन् । उनकै शब्दमा ललितकला, सङ्गीत र साहित्य एउटै मूलका पानी जस्तै हुन्, मात्र तिनका भङ्गालो फरक छन् ।

उनका ‘आज मेरो साथीले,’ ‘जीवन गीत,’ ‘मेरो मुटु’ लगायतका गीति सिर्जनाहरु छन् । ‘आस्था’ कविता सङ्ग्रह(२०५७), ‘अर्काको देशमा’ कथासङ्ग्रह(२०७१), ‘कामी’ कवितासङ्ग्रह(२०७९) उनका प्रकाशित साहित्यिक कृतिहरु हुन् । अहिले पनि उनी साहित्यिक कृति तयारीकै क्रममा छन् ।

शान्त बुद्ध मूर्तिमा उनका हातका औंलाहरुको सहायताले छिनो र हथाैडा चलिरहेका छन् । कडा चट्टानमा उनले गरिरहेको सामना, चट्टानी कर्कश आवाजलाई उनले साङ्गीतिक र साहित्यिक सिर्जनाहरुमा अभिव्यक्त गरेका छन् । मूर्ति सिर्जनामा चट्टानमा भएको कठोरता, त्यसैमा आफ्नो मनको स्पर्श र जीवनकै उथलपुथलहरु नै उनका सिर्जनामा आएको उनी स्वीकार्छन् ।

मूर्तिकला, साहित्य र सङ्गीत जुनसुकै विधा भएपनि आखिर उनी कला सिर्जना कर्ममै छन् । यो धर्तीलाई सुन्दर बनाएर सिँगार्न उनी मूर्तिकला साधनामा र समाजको जागरण अनि चेतनाका लागि साहित्यमा छन् ।

मुख्य त साहित्यमार्फत दलित सौन्दर्यलाई मूलधारमा ल्याउने उनको ध्येय छ । सङ्गीत भने उनको लागि आत्मसन्तुष्टिका माध्यम हुन् । उनलाई लाग्छ, जीवनका कतिपय उतारचढावहरुमा आम मान्छेलाई सङ्गीतले औषधीको काम गर्न सक्छ ।

त्यसकारण विधा जुनसुकै भएपनि उनी नेपाली कला क्षेत्रको उत्थानमै साधनारत छन् र भोलिका दिनहरुमा समेत रहने प्रण गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?