काठमाडौँ – मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभ पक्राउ परेका छन् ।
उनलाई शनिबार साँझ पेरिसको बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको हो । रोयटर्सका अनुसार दुरोभ निजी जेटबाट अजरबैजानबाट बोर्जेट विमानस्थल पुगेका थिए ।
फ्रान्सेली प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
मिडिया रिपोर्टहरूका अनुसार फ्रान्सेली भन्सारसँग संलग्न फ्रान्सको एन्टी फ्रड अफिसका अधिकारीहरूले शनिबार साँझ फ्रान्सेली-रूसी अर्बपतिलाई पक्राउ गरेका हुन् । टेलिग्राम प्लेटफर्मले मनी लान्ड्रिङ, लागूऔषध ओसारपसार र पेडोफाइल सामग्री साझेदारी गर्न प्रयोग गरिएको आरोप छ ।
पक्राउ पुर्जी जारी भएदेखि टेलिग्रामका संस्थापकले फ्रान्स र युरोप भ्रमण गरेका थिएनन् । यसैबीच, फ्रान्सले टेलिग्राम, लागूपदार्थको तस्करी, बालबालिका विरुद्ध अपराध, र ठगीमा संलग्नतामा संयमताको कमी र कानुन प्रवर्तनसँग असहयोग गरेको आरोपमा डुरोभलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
रुसी मूलका टेलिग्रामका संस्थापक हाल दुबईमा बस्छन् । टेलिग्रामका विश्वभर ९० करोडभन्दा बढी प्रयोगकर्ता रहेको विश्वास गरिन्छ।
डुरोभले अगस्ट २०२१ मा फ्रान्सेली नागरिकता लिएका थिए । डुरोभ रुसको भिकोन्टाकटे सामाजिक नेटवर्कको संस्थापक हुन् ।
उनले भिकोन्टाकटे प्रयोगकर्ताहरूको डेटा रुसी सुरक्षा सेवाहरूसँग साझेदारी गर्न अस्वीकार गरेपछि उनले २०१४ मा रुस छोडेका थिए । पछि रुसले पनि टेलिग्राममाथि प्रतिबन्ध लगाउने प्रयास गरेको थियो ।
टेलिग्राम व्यापक रूपमा रुसी भाषा बोल्ने मानिसले प्रयोग गर्दै आएका छन् । यसको माध्यमबाट युक्रेन युद्धको बारेमा महत्त्वपूर्ण जानकारी आदान प्रदान भइरहेको बताइन्छ । रुसी सेनाले सञ्चारको लागि टेलिग्राम प्रयोग गर्ने गरेको दाबी गरिँदै आएको छ ।
टेलिग्रामका माध्यमबाट भिडियोहरू लिक गर्ने, सूचना साटफेर गर्ने लगायतका कारण पनि यो एपको विरोध हुँदै आएको छ । कुनै समय यसलाई ह्वाटसएपको विकल्पका रूपमा लिइए पनि पछिल्लो समय यसको दुरुपयोग हुने गरेको आरोप लाग्ने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया