मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सङ्गीत

विष्णु माझीको तीज गीत सार्वजनिक भएपछि दर्शकले भने– बल्ल तीज आयो

काठमाडौँ– यस वर्ष तीजका गीतमा धेरै अश्लीलता देखियो । तीजका गीतमा महिलाको पीडा, जन्म घर छोडेकी नारीले तीजमा आफ्नो माइतीका सम्झनामा गाइने गीतहरू समेटिएका हुन्थे । तर, पछिल्लो समय तीजका गीतमा महिलाका भावना त पोखिएका पाइन्छन् तर यौनिक कुण्ठा ।

यसपटक बजारमा आएका कतिपय गीतहरु उत्तेजक, उच्छृङ्खल र परिवारमा बसेर सुन्नै नसकिने खालका सार्वजनिक भए । यसको विरोध भए पनि डिजिटल माध्यमबाट पैसा कमाउने उद्देश्यले निकालिएका त्यस्ता गीतका उत्पादन रोकिएनन् ।

यसैबीच गायिका विष्णु माझीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । विष्णु माझीले हरेक तीजमा ‘पुतलीको भट्टी’ सिरिजमा गीत निकाल्दै आएकी छिन् । यसपटक सार्वजनिक गरिएको गीति भिडियोलाई ‘पुतलीको भट्टी– भोलुम २०’ भनिएको छ ।

‘आइनँ आमा यो तीजमा’ बोलको गीत शनिवार सार्वजनिक भएसँगै गीतको सामाजिक सञ्जालमा व्यापक चर्चा भयो भने कतिपयले बल्ल तीज आएको महसूस भएको तर्क पनि गरे । तीजको बेला नारी आफ्नो माइती भेट्न जान नपाएको भावना समेटिएको यो गीतको रचना सुन्दरमणि अधिकारीले गरेका हुन् भने संगीत पनि स्वयम् अधिकारीकै छ ।

भिडियोमा शीर्ष भूमिकामा ललिता पौडेलले अभिनय गरेकी छिन् भने उनलाई मौसम हिमालीले नचाएका छन् ।

यो गीत सार्वजनिक भएको केही घण्टामै निकै धेरैपटक शेयर गरिएको थियो भने चौबीस घण्टाको अन्तरालमा गीतलाई १५ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

सम्भवतः तीजको गीत छोटो समयमै यति धेरै प्रतिक्रिया आएको यो पहिलोपटक हो ।

युट्युबमा गरिएका करीब १४ हजार प्रतिक्रियामा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । ‘बल्ल तीज आएजस्तो महसूस भयो, यति मीठो गीत गाउने गायिका देख्न पाऊँ भगवान्,’ सुनिता भण्डारीले युट्युबमा कमेन्ट गरेकी छिन् ।

त्यस्तै अर्का प्रयोगकर्ता बाबुराम सापकोटाले पनि विष्णु माझीको गीत नआइकन तीज आएजस्तो नहुने लेखेका छन् । ‘विष्णु माझीको गीत नआइ त तीज आएको जस्तो लाग्दैन, यस्तो पो हो तीज गीत भनेको, दुनियाँ छाडा गीत गाएर भ्युज बढाउने गरी गाएको भन्दा लाखौँ गुणा उत्कृष्ट गीत सार्वजनिक भएको छ, यो अर्गानिक गीतलाई उच्च सम्मान ।’

अर्का प्रयोगकर्ताले विष्णु माझीको तारिफ गर्दै लेखेका छन्, ‘विष्णु दिदी हजुरको स्वरको बयान गर्ने मेरो मनको कुनै शब्दकोशमा कुनै शब्द भेटेको छैन, हजुरको ठूलो फ्यान हो, प्रगतिले शिखर चुमोस् ।’

गत वर्ष पनि विष्णु माझीले गाएको गीतले यस्तै चर्चा बटुलेको थियो । दर्शकलाई चासोलाग्दो अर्को पक्ष के हो भने विष्णु माझी कतै पनि सार्वजनिक रूपमा देखिँदैनिन् । उनको एउटा तस्वीर मात्र सार्वजनिक भएको छ । त्यो बाहेक उनको आवाज मात्र दर्शकले सुन्न पाउने गरेका छन् ।

भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?