मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

कम उमेरमा कपाल फुल्ने कारण के हो ?

उमेर ढल्किएपछि कपाल सेतो हुनु अथवा फुल्नु स्वभाविक हो । तर पछिल्लो पुस्ताहरु उमेरै नपुगी युवाअवस्थामै कपाल फुल्ने समस्याबाट हैरानी खेपिरहेका छन् । कतिपय युवा युवतीहरुको सेतो कपाल फुलिरहेको हामीले देखिरहेका हुन्छौं । कपाल फुल्दा यसले बुढ्यौली देखाउने भएकाले पनि धेरैले कपालमा कालो रङ्ग लगाउने गर्छन् ।

कपाल किन फुल्छ? कसरी कपालको स्याहार गर्न सकिन्छ लगायतका विषयमा डर्माटोलोजिष्ट डा. विकास पौडेलसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:

कम उमेरमै कपाल फुल्ने समस्या किन हुन्छ ?

कम उमेरमै कपाल फुल्ने समस्या पछिल्लो समय एकदमै बढेको छ । यसमा मुख्य कारण भनेको वंशाणुगत नै हो । जसको आमा–बुवा, बाजेको कपाल छिट्टै फुलेको छ भने बच्चाहरुमा पनि कपाल फुल्ने समस्या रहन्छ । अर्को भनेको युनिभर्सिटीहरु रिसर्चहरुले पनि के पत्ता लगाएको छ भने कपालललाई रंग बनाउने भनेको मेलानिन हो ।

जुन हाम्रो छालामा पनि हुन्छ कपालको जरामा पनि हुन्छ । मेलेनिन भन्ने चिजलाई कुनै चिजले हानि नोक्सानी पुर्‍यायो भने कपाल फुल्न थाल्छ । जस्तैः कपालमा लगाउने कुनै केमिकल, ड्राइ गर्दा, जेलहरुको प्रयोग, वातावरणीय प्रदुषणको कारणले पनि यस्तो हुन्छ । शरीरमा भिटामिन ‘बी,’ ‘बी ६,’ ‘बि १२’ लगायत पोषण तत्वको कमीले पनि हुन्छ ।

अहिले हाम्रो खानपानमा एकदमै परिवर्तन आएको छ । घरमा पाइने ताजा खानेकुरा, फलफूल, तरकारीको साटो जंकफुड र प्याकेट फुडको सेवन बढेको छ । जसले गर्दा हाम्रो शरीरले पर्याप्त मात्रामा भिटामिन र प्रोटिन पाएको हुँदैन र कपाल फुल्छ । प्रोटिन, भिटामिन र आइरनको कमीका कारण पनि कपाल फुल्ने समस्या हुन्छ धेरै अनुसन्धानले कम उमेरमा कपाल फुल्नुमा धुम्रपानको पनि सम्बन्ध रहेको पत्ता लगाएका छन् ।

किनभने चुरोट वा सूर्तीजन्य पदार्थ सेवन गर्दा रक्तनली साँघुरो हुन्छ र कपालको जरामा पर्याप्त रगत पुग्दैन । यो पनि कम उमेरमा कपाल फुल्नुको कारण हो । यस्तै, तनावले शरीरका साथै कपाललाई पनि नोक्सान पुर्‍याउँछ । तनावको कारण मेलानोसाइडलाई नष्ट गर्ने खाको रसायन उत्पादन हुन्छ, जसले गर्दा कपाल फुल्छ । तनावको कारण निद्रा नलाग्ने, चिन्ता लाग्ने, भोक नलाग्ने, उच्च रक्तचाप जस्ता समस्या पनि आउन सक्छन् । धेरै अनुसन्धानमा जो व्यक्ति धेरै तनाव लिन्छ, उसको कपाल समयभन्दा पहिले नै सेतो हुन थाल्छ । अहिले कपाल कलर गर्ने र स्ट्रेट गर्नेको संख्या बढ्दो छ । यसको कारण पनि कम उमेरमा कपाल फुल्ने समस्या देखा परेको छ । कपालमा कलर र स्ट्रेट गरेका कारण कपालमा क्षति पनि पुग्न सक्छ । थाइराइड, अटोएम्युन रोग सेतो दुबी, डायबेटिज लगायतका कारण पनि यो समस्या हुन सक्छ ।

समय अगावै कपाल फुल्नबाट जोगाउने उपाय के के छन् ?

वंशाणुगत कारणको केही उपचार सम्भव छैन । यो प्राकृतिक कुरा हो । र अन्य बाह्य कारणहरुको हकमा भने केही हर्मोनहरुको कमी र अन्य स्वास्थ्य समस्याहरुको कारण पनि कपाल फुल्न सक्छ । यसकारण पहिला के कारणले यस्तो समस्या भइरहेको छ कारण पत्ता लगाएर उपचार गराउनुपर्छ । अरु भनेको सन्तुलित र पोषणयुक्त खाना खानुपर्छ । खानामा प्रोटिन, भिटामिन, आइरन लगायतका तत्वहरू समावेश गर्ने, विभिन्न भिटामिनका पूरक सेवन गर्ने, धुम्रपान छाड्ने, तनाव नलिने, प्रशस्त मात्रामा ताजा फलफूल र तरकारी खाने गर्नुपर्छ ।

उपचार भन्नाले कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार त छैन । तर ३० वर्षभन्दा कम उमेर भएका व्यक्तिमा यस्तो समस्या छ भने क्यालिसयम प्यान्टोथेनेट ट्याब्लेटको सेवन गर्न सकिन्छ । कपाल फुल्ने समस्याको सम्पूर्ण उपचार नभएकाले सेतो कपाल ढाक्न कलर गर्ने गरिन्छ । तर एकदमै धेरै कपाल फुलेको छ भने यसका लागि विशेषज्ञ चिकित्सकको सल्लाह लिनु पनि आवश्क छ ।

प्राकृतिक रुपमा कपाल फुल्ने उमेर कति हो ?

२५ वर्ष पार गरेपश्चात् कपाल फुल्दै जानु स्वभाविक हो । यो भन्दा कम उमेरमै कपाल फुल्न थालियो भने प्रि म्याचुअर समस्या हुन्छ । हाम्रो नेपालको सन्दर्भमा सरदर पैतीस–चालीस वर्षको उमेरपछि कपाल फुल्न थाल्छ ।

पछिल्लो पुस्तामा सानै उमेरमा कपाल फुल्ने समस्या हुनुको कारण के हो ?

हाम्रो बाउ–बाजे पूख्यौली पुस्ताहरुको तुलनामा हाम्रो कपाल फुल्ने समय करिब एक दशक अघि नै सरेको छ  । यसको कारण भनेको खानपानमा परिवर्तन, बाहिरी जंक फुडको अत्याधिक सेवन, विभिन्न स्याम्पुहरुको प्रयोग, कपालमा अनेकथरी रंगरोगन लगायतका कुराले यस्तो समस्या बढिरहेको छ ।

सेतो कपाल प्राय उखेल्ने गरिन्छ, के यो सही हो ?

यो विलकुल गलत हो । सेतो कपाल उखेल्ने काम कहिल्यै नगर्नुहोस् । सेतो कपाल उखेलेपछि फेरि सेतै कपाल पलाउने हो । हामीलाई लाग्छ एकपटक उखेलेर फ्याँकेपछि अर्को पटक कालो कपाल पलाउँछ भनेर तर यसो हुँदैन । फेरि पनि सेतै कपाल पलाउने हो ।

कपाल स्वस्थ बनाउन के गर्न सकिन्छ त?

त्यसका लागि कपालमा धेरै स्याम्पु, ट्रिटमेन्ट जस्ता रसायन मिसिएका पदार्थको प्रयोग गर्नुहुँदैन । सकेसम्म कपाल स्ट्रेट नगर्दा पनि उत्तम हुन्छ । त्यस्तै सकेसम्म कपालमा कुनै केमिकलको प्रयोग गर्नुहुँदैन । अर्को भनेको नुहाउने बित्तिकै कपाल कोर्नु पनि राम्रो होइन । तातो हावा अर्थात् हेयर ड्रायरको धेरै प्रयोग पनि गर्नु उचित ठानिँदैन । बरु प्रशस्त मात्रामा ताजा फलफूल र तरकारीको सेवन गर्ने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?