मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुम्न जाने होइन त बन्दीपुर ?

काठमाडौँ– काठमाडौँको कोलाहल, धुलो र धुवाँबाट केही समय टाढा जाने चाहना छ? अझ भनौँ, काठमाडौँको कोलाहलबाट मुक्त भएर हरियाली तथा प्राकृतिक मनोरम दृश्यमा रमाउन चाहनुहुन्छ ?

कहिलेकाहीँ हामीलाई यो भीडभाडभन्दा पर कुनै नयाँ ठाउँमा शयर गर्न मन लागिरहेको हुन्छ । त्यसरी घुम्नका लागि नयाँ गन्तव्य बन्न सक्छ, तनहुँको बन्दीपुर ।

तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि १८ किलोमिटर दुरी पर्ने बन्दीपुर मुग्लिङ हुँदै डुम्रेबाट ८ किलोमिटरको यात्रापछि  पुग्न सकिन्छ । बन्दीपुर पुग्नका लागि डुम्रेबाट तपाईँ सार्वजनिक यातायातको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

ग्रामीण परिवेशलाई नजिकबाट महसूस गर्न र पहाडका दृश्यहरू हेर्नका लागि बन्दीपुर उत्कृष्ट गन्तव्यमध्ये एक हो ।

बन्दीपुर गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने यो स्थान कुनै समय जिल्लाको सदरमुकामको समेत थियो । पछि वि.सं. २०२५ सालमा सदरमुकामलाई दमौली सारिएको थियो । सदरमुकाम सारेसँगै बन्दीपुरलाई डेट (मृत) सिटी वा भूतको शहरको रुपमा नामाकरण गरियो ।

बन्दीपुरमा रहेको कलाकृति, परम्परागत शैलीका घर, बजार र बस्ती भएकोले यसलाई पर्यटकीय हबको रुपमा विकास गर्न थालियो । कुनै समय भूतको शहरको रुपमा परिचित बन्दीपुरलाई वि.सं. २०६३ सालपछि यसलाई पर्यटकीय हब बनाइयो ।

त्यसयता धेरैको घुम्न जाने रोजाइको ठाउँ बन्दीपुर बन्दै आएको छ । वर्षायामको समयभन्दा पनि पुष माघको मौसममा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

बन्दीपुरमा पर्यटकीय शहर पोखराबाट पनि आन्तरिक पर्यटकहरू घुम्नका लागि आउँछन् भने यो स्थान पिकनिक स्पट (वनभोज स्थल) का रूपमा पनि परिचित छ ।

बन्दीपुर करीब ४०० वर्ष पुरानो बस्ती रहेको छ । ४०० वर्ष पहिले भक्तपुर र कीर्तिपुरका स्थानीय बासिन्दा विभिन्न कामको सिलसिलामा यहाँ गरेर बस्न थालेको पाइन्छ ।  भक्तपुर र कीर्तिपुरका व्यक्तिले परम्परागत शैलीमा घरहरु बनाएको थियो । पछि पर्यटकीय स्थलको रूपमा विकास भइसकेपछि जीर्ण अवस्थामा रहेको घरलाई पनि परम्परागत शैलीमा निर्माण गर्दै आएको छ ।

बन्दीपुरलाई कुनै समय नाकाका रुपमा पनि प्रयोग गरेको पाइन्छ । तनहुँसँगै कास्की, लमजुङको लागि सामान ल्याउन र पुर्‍याउनका लागि यस स्थानलाई नाकाको रूपमा प्रयोग गरिएको इतिहास छ ।

अहिले पनि यहाँको आकर्षण बाटोमा बिछ्याइएका ढुंगा, कलात्मक घर र प्राकृतिक रमणीय दृश्य हुन् । बन्दीपुरको बजार क्षेत्रमा सवारी साधनलाई पूर्ण रुपमा निषेध गरेको छ । त्यसैले पनि यो बजार प्रायजसो शान्त रहने गर्दछ ।

पहाडकी रानीको रुपमा परिचित बन्दीपुरका नामाकरण मगर भाषाबाट भएको पाइन्छ । बनको अर्थ जंगल र दीको अर्थ पानी हो । अर्थात बनको पानीबाट बन्दीपुर नामाकरण भएको जानकारहरु बताउँछन् ।

बन्दीपुरको बिहानी र बेलुकाको दृश्य दुवै फरक हुने गर्दछ । दुवै वातावरण अधिकांश पर्यटकको लागि रोमाञ्चक हुन्छ । यसका साथै बन्दीपुरमा नेवार संस्कृतिसँगै वरीपरी रहेको मगर समुदायलाई पनि नजिकबाट नियाल्न सक्नुहुन्छ ।

बन्दीपुरमा तपाईंले थानीमाई डाँडा, मुकुण्डेश्वर, तीन धारालगायतको पर्यटकीय दृश्यलाई देख्न सक्नुहुन्छ ।

उकालो बाटो हुँदै तपाईँ थानीमाई मन्दिरमा पुग्न सक्नुहुन्छ । यात्राको क्रममा तपाईंलाई थकाइ लाग्न सक्छ । त्यसका लागि ठाउँ ठाउँमा विश्राम स्थलहरु निर्माण गरिएको छ । यसका साथै यात्राका क्रममा विभिन्न हिमशृंखला, वनजंगल तथा डाँडा देख्न सक्नुहुन्छ । ती दृश्यसँगै यात्रामा रमाइलो गर्न सक्नुहुन्छ ।

स्थानीय देवीबाट थानीमाईको नामाकरण गरिएको विश्वास गरिन्छ । ढुंगाको पाली रहेको मन्दिरमा छानो राख्न हुँदैन भन्ने मान्यता रहेको छ । थानीमाईबाट मुकुण्डेश्वरसम्म चीनको जस्तै ग्रेटवाल रहेको  छ । जसलाई नेपालको मिनी ग्रेटवालको रुपमा नामाकरण गरिएको छ ।

यसैगरी बन्दीपुरको अर्को आकर्षक भनेको तीन धारा हो । पहाडको भित्ता फोडेर सो धारा निर्माण गरिएको भन्ने मान्यता रहेको छ । अहिले पनि स्थानीयले सोही ढुंगेधाराको पानी पिउने गर्छन् । उसो त बन्दीपुरको घरघरमा खानेपानीको धारा जडान गरिसकेको छ ।

बन्दीपुरमा स्थानीय रैथाने परिकारहरू पनि पाइन्छ । यहाँ पर्यटकको सहजताका लागि विभिन्न होटल तथा लजहरु सञ्चालनमा रहेका छन् । तपाईंले आफ्नो आर्थिक अवस्थाको आधारमा होटल तथा लजमा बास बस्नुका साथै खानेकुरा पनि चाख्न पाउनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?