मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

हलिउड सेलिब्रेटी सेलेना गोमेज: कस्तो जीवन बाँच्छिन्, के मन पराउँछिन्?

काठमाडौँ– अमेरिकन गायिका सेलेना गोमेज विश्वभर लोकप्रिय छिन् । गायिका मात्र नभएर उनको परिचय अभिनेत्रीको पनि छ । दर्जनौँ टेलिभिजन शो र फिल्ममा अभिनय गरेकी गोमेजको पहिचान निर्माताका रूपमा पनि स्थापित छ ।

सानै उमेरदेखि मनोरञ्जन क्षेत्रमा लागेकी गोमेज करोडौँ फ्यानको मनमा बस्न सफल छिन् ।

सन् १९९२ मा जन्मेकी गोमेजले ९ वर्षको उमेरदेखि नै उनी मनोरञ्जन क्षेत्रमा लागेकी थिइन् । उनले त्यसबेला बालटेलिसिरिज ‘बार्ने एण्ड फ्रेण्ड्स’ मा काम गरेकी थिइन् । त्यस शोमा उनी गियानाको भूमिकामा थिइन् ।

दुई वर्षपछि त्यस सिरिजबाट उनी बाहिरिइन् । त्यसपछि केही टेलिफिल्मका लागि उनले अडिसन पनि दिएकी थिइन् । तर, सफल हुन सकिनन् । सन् २००३ मा उनले ‘स्पाई किड्स ३–डी: गेम ओभर’ मा सानो भूमिका पाएकी थिइन् । त्यसबाहेक ‘वाकर, टेक्सस रेन्जर: ट्रायल बाइ फायर’ मा पनि उनले जुलीको भूमिका निभाएकी थिइन् ।

सन् २००६ मा ‘ब्रायन ज्याप्ड’ मा एमिली ग्रेस गार्सियाको भूमिकामा काम गरेकी थिइन् । सोही शोका लागि उनले गीत समेत रेकर्ड गरिन् ।

सन् २००६ मा उनले डिज्नीको ‘द सुट लाइफ अफ ज्याक एण्ड कोडी’ मा ग्वेनको भूमिकामा थिइन् । उनले ‘हाना मोन्टाना’ सिरिजमा मिकायलाको भूमिका पनि निभाइन् । सन् २००७ सम्म आइपुग्दा उनी डिज्नी च्यानल स्टार नै बन्न पुगिन् ।

त्यति बेला उनले ‘विजाड्र्स अफ वेभर्ली प्लेस’ मा प्रमुख भूमिका निभाएकी थिइन् । सन् २०१२ सम्म चलेको उक्त टेलिभिजन सिरिजले दुई पटक ‘बालबालिकाको उत्कृष्ट कार्यक्रम’ विधामा दुई पटक एम्मी अवार्ड नै जित्न सफल भयो ।

त्यसपछि उनी ‘होटेल ट्रान्ससाल्भानिया’ फिल्म सिरिजमा पनि आबद्ध भइन् । सन् २०१५, २०१८ र २०२२ रिलिज भएका उक्त सिरिजका तीन वटा फिल्ममा पनि उनले काम गरेकी छिन् । सन् २०१३ मा उनले ‘स्प्रिङ ब्रेकर्स’ मा आबद्ध भइन् ।

सोही वर्ष रिलिज भएको ‘गेटवे’ मा पनि उनले काम गरिन् । सन् २०१४ मा ‘बिहेबिङ ब्याडली’ मा पनि उनी मेरी लुइस पार्करको भूमिकामा देखा परेकी थिइन् ।

सन् २०१९ मा ‘द डेड डोन्ट डाइ’ मा काम गरेकी गोमेजले सन् २०२० मा रिलिज भएको रोबर्ट डाउनी जुनियरको ‘डुलिटिल’ मा पनि अभिनय गरिन् । पछिल्लो समय उनले हुलुको कमेडी सिरिज ‘ओन्ली मरडर्स इन द बिल्डिङ’ मा माबेल मोराको भूमिकामा आबद्ध छिन् । यो सिरिजबाट उनी सन् २०२३ मा गोल्डेन ग्लोब अवार्डको मनोनयनमा समेत पर्न सफल भइन् ।

अभिनयसँगै गोमेज गीत सङ्गीतका क्षेत्रमा पनि सक्रिय छिन् । सन् २००८ र २००९ देखि नै उनले गीत रेकर्ड गर्न थालेकी हुन् । उनी ‘सलिना गोमेज एण्ड द सिन’ ब्याण्डमा पनि आबद्ध भइन् । त्यस ब्याण्डले सन् २००९ मा ‘किस एण्ड टेल’, सन् २०१० मा ‘अ इयर विदाउट रेन’ र सन् २०११ मा ‘ह्वेन द सन गोज डाउन’ जस्ता एल्ब निकालेको थियो । यो ब्याण्ड सन् २०१२ मा छुट्टिन पुग्यो ।

त्यसपछि उनको एकल साङ्गीतिक यात्रा शुरु भयो । उनले सन् २०१३ मा ‘स्टार्स डान्स’ एल्बम रिलिज गरेकी थिइन् । त्यस एल्बममा ‘कम एण्ड गेट इट’ र ‘स्लो डाउन’ जस्ता गीत समावेश थिए । त्यसपछि सन् २०१५ मा उनले ‘रिभाइभल’ नामक अर्को एल्बम रिलिज गरिन् । त्यस एल्बममा पनि ‘किल एम विद काइन्डनेस’, ‘ह्याण्ड्स टु माइसेल्फ’ र ‘सेम ओल्ड लभ’ जस्ता गीत समावेश थिए ।

सन् २०२० मा पनि उनले ‘रेयर’ नामक अर्को एल्बम रिलिज गरिन् । यसमा ‘ब्याण्ड लायर’, ‘फेटिस’ र ‘इट एन्ट मि’ जस्ता गीत रहेका थिए । पछि सन् २०२१ मा उनले स्पेनी भाषाको ‘रेभेलेसियन’ नामक साङ्गीतिक संग्रह निकालेकी थिइन् ।

त्यसबाहेक उनले अमेरिकी तथा विश्वभरका साङ्गीतिक हस्तीहरुसँग पनि सहकार्य गरेकी छिन् । उनका ‘काम डाउन’, ‘आइस क्रिम’, ‘लुज यू टु लभ मी’ जस्ता गीत निकै लोकप्रिय छन् ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनका ४२ करोड ५० लाखभन्दा धेरै फलोअर्स छन् भने फेसबुकमा उनलाई ८ करोड ८० लाखभन्दा धेरैले फलो गरेका छन् । त्यसैगरी, युट्युबमा उनका ३ करोड ४७ लाख सब्सक्राइबर्स छन् । एक्समा उनलाई ६ करोड ५९ लाख जनाले फलो गरेका छन् ।

सन् २००८ मा उनी निक जोन्ससँग प्रेम सम्बन्धमा रहेकी थिइन् । तर, त्यो सम्बन्ध धेरै लामो समयसम्म टिक्न सकेन । सन् २०१० देखि सन् २०१८ सम्म जस्टिन बिबरसँग उनको निकै उतारचढावयुक्त सम्बन्ध चलेको थियो । सन् २०१५ मा डिजे जेडसँग पनि उनी उनी सम्बन्धमा रहेकी थिइन् । सन् २०१७ मा उनी अर्का क्यानेडियन सङ्गीतकार द विकेन्डसँग पनि प्रेम सम्बन्धमा थिइन् । पछिल्लो समय उनी बेन्नी ब्लाङ्कोसँग सम्बन्धमा छिन् । यी दुईबीच इङ्गेजमेन्ट भएको हल्ला समेत चलेको थियो ।

सन् २०२० मा उनले रेयर ब्युटी नामक कस्मेटिक कम्पनीको पनि स्थापना गरेकी थिइन् । हाल उक्त कम्पनी अमेरिकी महादेशससहित युरोप र मध्यपूर्वमा पनि निकै लोकप्रिय छ । सन् २०२४ मा कम्पनीको बजार भाऊ २ अर्ब अमेरिकी डलरभन्दा धेरै पुगिसकेको छ ।

गोमेजको व्यक्तिगत सम्पत्ति नै ८० करोड अमेरिकी डलरभन्दा धेरै रहेको बताइन्छ । उनी कारको सौखिन् मानिन्छिन् । उनीसँग फियाट ५०० देखि पोर्श्चा जीटी३ आरएससम्मका कार छन् । सन् २०१७ मा उनले आफूलाई सबैभन्दा मनपर्ने कार चाहीँ फोर्ड स्केप रहेको बताएकी थिइन् ।

उनी प्रायः बिहान ६ बजे उठ्छिन् । अल्युर म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले सप्ताहन्त वा साथीहरुसँग राति घुम्न जानुबाहेक आफू प्रायः राति दश बजेअघि नै सुतिसक्ने बताएकी छिन् । सबेरै उठ्न नसक्ने भएपनि बिहान ६ बजे नै ओछ्यान छाड्ने गरेको उनले बताएकी छिन् ।

उठिसकेको केही समय उनी कसरत गर्छिन् । आफ्नो बिहानको समय निश्चित रुटिनमा चल्ने उनको भनाइ छ । बिहानको रुटिनअन्तर्गत  त्यसको एक घण्टापछि मात्रै आफूले कफी पिउने उने इन्टू द ग्लोसलाई बताएकी छिन् ।

उनी आफ्नो अनुहारको छालाको पनि उत्तिकै ध्यान राख्छिन् । त्यसका लागि उनी बिहान नियमित मुख धुन्छिन् । अनि अनुहारमा मोश्चराइजर दल्छिन् ।

‘म धेरै मोश्चराइजर लगाउदिनँ, मेरो छाला निकै ओइली छ ।’ उनले अल्युरलाई भनेकी छिन् । उनी एकै किसिमका कस्मेटिक पनि प्रयोग गर्दिनन् ।

‘म एउटै कस्मेटिक उत्पादनसँग धेरै आशक्त छैन । म धेरै चिज प्रयोग गर्न चाहन्छु ।,’ उनी भन्छिन् ।

उनी बिहानको नास्तामा भात, अण्डा, एभोकाडो र बिन्सजस्ता खानेकुरा हुन्छन् । खाना पकाउन सिकेपछि उनले स्पेनी शैलीको पिक्विलो पेपर र मान्चेगो चिज समावेश अमलेटजस्ता खानेकुरा खान रुचाउँछिन् । उनी ग्रिक योगर्ट पनि खान मन पराउँछिन् ।

दिउँसो उनी एभोकाडो, टर्की खान रुचाउँछिन् । उनी पानी पनि धेरै नै पिउँछिन् । उनले एक पटक आफू बाथरुममा हुँदा पनि पानी पिउने गरेको खुलाएकी छिन् । उनी बेलुका भने तेरियाकी, साल्मोन, चिकेन, सुसीजस्ता खानेकुरा खान मन पराउँछिन् ।

बेलुकी उनी सङ्गीत सुन्न, टेलिभिजन हेर्न, ध्यान गर्न व्यस्त हुन्छिन् । बेलुकाको समयमा उनले भोलिपल्टको दैनिक योजना पनि बनाउने गरेको बनाएकी छिन् । राति सुत्नुअघि मुख धुन्छिन् र क्रिम लगाएर सुत्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?