म्याग्दी – रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमश्रृंखला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान । घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता ।
समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित रुइसेमा पुग्दा कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्याभासको जस्तो आभास हुन्छ । रुइसेको सौन्दर्यले समय बितेको पत्तै नहुने बेनीबाट त्यहाँ घुमेर आएका व्यवसायी कृष्णराज पौडेलले बताए । “गर्मी छल्न, बजारको कोलाहल, व्यावहारिक र व्यावसायिक तनाबाट मुक्त हुनका लागि रुइसे उपयुक्त ठाउँ रहेछ,” हालै दुई दिन रुइसेमा बिताएका उनले भने, “रुइसेको प्राकृतिक सुन्दरता शब्दमा बयान गरिसाध्य छैन ।”
रुइसेको प्रचारप्रसार, पूर्वाधार र खानेबस्ने सुविधा भएसँगै रुइसेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । रुइसे एक दशकअघिसम्म भगवतीका किसानहरूले गाई भैँसी र भेडा बाख्राको गोठ लैजाने थलोका रुपमा मात्र सीमित थियो ।
पछिल्लो समय भगवती, पिप्ले, गलेश्वर, बेनी, बागलुङ, कुश्मा, पोखराबाट पर्यटकहरू घुम्न आउन थालेका रुइसेकी होटल व्यवसायी कमला शाहीले बताए । “दश वर्षअघिसम्म गोठ राख्ने खर्कमा सीमित रुइसे अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ,” उनले भने, “व्यवसायी, कर्मचारी, शिक्षक र जागिरेहरु बिदा मनाउन आउने रुइसेमा अन्य समयमा पनि पर्यटक आउँछन् ।”
धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु रुइसेको प्रमुख आकर्षण हो । ऋतुअनुसार रुइसेको पाखामा फुल्ने फूल, वनजङ्गल, ग्रामीण बस्ती, पशुगोठ, जीवनशैली र पहाडी भूगोलको दृश्य अवलोकन गर्न पाइने रुइसे बस्तीदेखि टाढा भएकाले कोलाहलबाट मुक्त छ ।
म्याग्दीको सदरमुकाम बेनीदेखि गलेश्वर–पिप्ले–भगवती हुँदै करिब एक घण्टा ३० मिनेट सवारी साधनको यात्रा गरेपछि रुइसे पुग्न सकिन्छ । कच्ची सडक पुगेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यू टावर, पदमार्ग, वनभोजस्थल र डिभिजन वन कार्यालयले गुराँसको बगैँचा स्थापना गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
रुइसेमा बास बस्ने पर्यटकहरू एक घण्टा उकालो हिँडेर भेडिओडारसम्म पुग्न सक्छन् । हिउँदमा भेडिओडारमा आउने भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिन्छ । चरन क्षेत्रका भेडाबाख्राको दृश्य लोभलाग्दो हुन्छ । भगवतीको ऐतिहासिक कोतघर र मल्लकालीन रुइसे दरबारका भग्नाअवशेषहरु पनि अवलोकन गर्न सकिन्छ । रुइसेको रेष्टुरेष्टमा च्याउ, टुसा, निउरो, दौडेको अचार, लोकल कुखुरा र खसीबोकाको मासु, कोदोको ढिँडोलगायत परिकारको स्वाद लिन पाइन्छ ।
म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्ग धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसे–भेडिओडार क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नतिका लागि पहल गरेको हालै त्यस क्षेत्रको भ्रमण गर्नुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । प्रदेश सरकारले पिप्लेदेखि भगवती जोड्ने पाँच किलोमिटर सडक कालोपत्र गरिसकेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया