काठमाडौँ- अफ्रिकी महादेशका केही देशमा मात्र सीमित एमपक्सको संक्रमण अहिले विश्वका अन्य ठाउँहरुमा पनि फैलिन थालेको छ । यससँगै विश्व स्वास्थ्य संगठन डब्लूएचओले एमपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य संकट घोषणा गरेको छ ।
पछिल्ला केही दिनयता एमपक्सको नयाँ भेरियन्ट पाकिस्तान र स्विडेनजस्ता मुलुकमा पनि फैलिरहेको छ । कोरोना भाइरसको महामारी साम्य भएको केही वर्ष पनि भएको छैन । डब्लूएचओले एमपक्सलाई विश्व जनस्वास्थ्य संकटको घोषणा गरेसँगै फेरि विश्वमा अर्को महामारीको कहालीलाग्दो अवस्था त आउने होइन भन्ने चिन्ता बढेर गएको छ ।
यसअघि मकिंपक्स भनेर चिनिने एमपक्स खासमा एउटा संक्रमक रोग हो । यो रोग केही अघिसम्म पश्चिम र मध्य अफ्रिकाका केही देशमा मात्र सीमित थियो । यस वर्ष अफ्रिकामा १५ हजारभन्दा धेरै एमपक्सका बिरामी देखा परेको डब्लूएचओले जनाएको छ ।
यसबाट यो वर्षमात्र ५ सय ३७ जनाको मृत्यु भइसकेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोका केही छिमेकी देशहरुमा यो भाइरस धेरै वर्षदेखि देखा परेको थिएन । तर, यसपाली भने केन्या, रुवाण्डा, बुरुण्डी र युगाण्डाजस्ता देशहरुमा पनि यो भाइरस देखिएपछि चिन्ता बढेको छ । त्यसबाहेक पाकिस्तान र स्विडेनमा पनि यसका बिरामीहरु देखा परेका छन् ।
सन् २०२३ यता अफ्रिकामा नयाँ प्रजातिको एमपक्स भाइरस फैलिरहेको वैज्ञानिकहरु बताउँछन् । यसअघि देखिएको यो रोगको क्लेड–१ भेरियन्ट यसअघि मध्य अफ्रिकी देशहरुमा स्थानीय रुपमा फैलिएको थियो । अहिले भने अझ बढी संक्रामक ‘क्लेड १ बी’ भेरियन्ट अफ्रिकाका साथै अन्य देशहरुमा पनि फैलिएको छ । त्यसबाहेक सन् २०२२ मा ‘क्लेड २’ भेरियन्टको प्रकोप पनि देखिएको थियो । समलिंगी यौन सम्पर्क राख्ने पुरुषहरु क्लेड २ संक्रमणको जोखिममा रहेको बीबीसीले जनाएको छ ।
एमपक्सबाट सबै बिरामी अस्पतालमा नआउने र कतिपय संक्रमितले परम्परागत उपचार पद्धती अपनाउने भएकाले पनि यसको मृत्युदर निश्चित गर्न चुनौती रहेको विज्ञहरु बताउँछन् । क्लेड १ भेरियन्ट क्लेड २ भन्दा अधिक घातक रहेको बताइन्छ ।
यसअघि क्लेड १ भेरियन्टबाट संक्रमितमध्ये १० प्रतिशत मानिसको मृत्यु हुने गरेको ठानिएको थियो । यद्यपि पछिल्लो प्रकोपमा ‘क्लेड १ बी’ को संक्रमण भएका ३.६ प्रतिशत मानिसको मृत्यु हुने गरेको डब्लूएचओले जनाएको छ ।
यो रोगका प्रमुख लक्षणहरू प्रायः ज्वरो, तीव्र टाउको दुख्ने, ढाड र मांसपेशीमा पीडा महसुस हुने रहेका छन् । केही दिनसम्म ज्वरोपछि शरीरमा फोका देखा पर्न थाल्छन्, जुन सामान्यतया अनुहारबाट शुरु हुन्छ । ती फोका विस्तारै शरीरका अन्य भागहरूमा फैलिन्छ । यी फोका चिलाउने हुन्छ । जुन धेरै नै पीडादायक हुने बताइन्छ ।
यसको संक्रमण १४ देखि २१ दिनसम्म रहन सक्छ । खासगरी गर्भवती, एचआईभी संक्रमित, कुपोषण भएका मानिसहरु, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकामा एमपक्सले जटिलता उत्पन्न गर्नसक्छ । यस्ता बिरामीको आँखाको दृष्टि गुम्ने, निमोनिया, गर्भ खेर जाने र मृत्यु हुन पनि सक्ने चिकित्सकहरु बताउँछन् ।
लामो समय आमनेसामने हुँदा मुखको र्यालबाट मान्छे वा जनावरबाट मान्छेमा यो रोग सर्छ । यस्तै, यौन तथा गुदद्वार सम्पर्कबाट पनि यो रोग सर्छ । पछिल्लो समय मध्य एवम् मध्यपूर्वी अफ्रिकी मुलुकका स–साना शहरहरुमा यौनकर्मीसँगको असुरक्षित यौन सम्पर्कका कारण एमपक्सको संक्रमण तीव्र बनेको बताइएको छ ।
त्यसैगरी, संक्रमितले प्रयोग गरेका कपडा, सिरिन्जजस्ता सरसामानबाट तथा सङ्क्रमितको घाउ, फोकाको तरल पदार्थबाट यो रोग सर्छ । भाइरस श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत सर्न सक्छ ।
सन् १९८० मा बिफरको उन्मूलनपछि मङ्कीपक्स मध्य र पश्चिम अफ्रिकामा निरन्तर देखा परिरहेको छ । बाँदरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा सर्न थालेको, धेरैलाई निदान गर्न कठिन भएको, खोप नभएको, सङ्क्रमण तीव्र फैलिँदै गएको यो रोगको जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन् । यो रोग अन्य सङ्क्रामक रोग ठेउला, भिरिङ्गीको बिमिरासँग मिल्दोजुल्दो छ ।
संक्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निर्मलीकरण गरेर मात्र प्रयोग गर्दा यो रोग सर्ने जोखिम कम हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिफरका लागि प्रयोग हुने खोप एमपक्समा ८५ प्रतिशत प्रभावकारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया