काठमाडौँ– यतिबेला रङ्गकर्मी संगीता थापा मगरको दिल र दिमाग ‘सोरठी’को लय र गाथाले भरिएको छ । ‘सोरठी’ कै लय, भाका र गाथालाई नाटकमार्फत देखाउन उनी अहोरात्र खटिरहेकी छिन् ।
सो नाटक भदौ ७ गतेदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदैछ । यसको प्रिमियर आजै (बिहीवार) हुँदैछ । थापाकै नेतृत्वमा अहिले झण्डै २५ जना कलाकारले ‘सोरठी’ को लयमा लय मिलाइरहेका छन् ।
‘सोरठी’ नृत्यलाई मगर समुदायकै संस्कृतिको धरोहरका रुपमा मानिन्छ । यसमा जयसिङ्गे राजा र हैमती रानीको गाथा समेटिएको छ ।
त्यही गाथालाई नाटक ‘सोरठी’का रुपमा सञ्जय काउछा मगरले ल्याएका छन् । उनले यसलाई रङ्गमञ्चमा उतार्ने जिम्मा आफूसँगै रङ्गकर्मी संगीतालाई पनि दिएका छन् ।
त्यही जिम्मेवारीलाई पूरा गर्न अहिले उनी लागिपरेकी हुन् ।
नाटकको परिकल्पनाकार र निर्देशक काउछासँगै उनी समेत भएकोले यसलाई संगीताले ठूलो जिम्मेवारीको रुपमा लिएकी छिन् । एक त नाटक निर्देशनमा पहिलो पाइला, अर्कातिर आफ्नै समुदाय, संस्कृति र सभ्यताको कथा रङ्गमञ्चमार्फत सुनाउन जति उनी आतुर छिन्, त्यो भन्दा बढी उनको भय छ ।
यसलाई उनले चुनौतीसँगै अवसरका रुपमा स्वीकार गरेकी छिन् ।
कुराकानीकै क्रममा उनले सुनाइन्, ‘मलाई त अग्रजहरुले ठूलो पोखरीमा लगेर धक्का दिनुभयो । यसबाट सेफ भएर कसरी पौडेर निस्कने भन्ने मात्र मेरो ध्यान छ । मेरो लागि नाटक सोरठी आफ्नै कुराको खोजाइ, सिकाइ हो ।’
यस मानेमा नाटक ‘सोरठी’ उनका लागि रङ्गमञ्चमा हिँडिरहेको बाटोभन्दा पनि उनको कर्मप्रक्रियाकै सुन्दर समय हो । आफैं कलाकार भएर रङ्गमञ्चमा निर्देशकको इशारा अनुसार अभिनयमा तल्लीन उनी अहिले आफैंले अभिनयका लागि निर्देशन दिइरहेकी छिन् । झण्डै २५ जना कलाकारहरु प्रत्येकको पात्र, चरित्र र अभिनयलाई उनले हेरिरहेकी छिन् । प्रत्येक दृश्यमा स–साना पक्षहरुमा समेत उनले खोतलिरहेकी छिन् ।
यसले निकै मीठो अनुभूति दिलाइरहेको उनी सुनाउँछिन् । रङ्गमञ्चमा आफ्नै समुदायको कथालाई पस्कने उनको रहर र सपनालाई समेत उनले ‘सोरठी’ मार्फत नै पूरा गर्दैछिन् ।
झण्डै ६ वर्षअघि नाटक ‘जोखना’ मा निर्देशक किरण चाम्लिङले पूर्वेको किराँती सभ्यता र मुन्दुमको कथालाई रङ्मञ्चमा पस्कँदा उनलाई पनि समुदाय विशेष कथा ल्याउने रहर जागेको थियो । त्यतिबेला नाटकको मुख्य पात्र धनसुवामार्फत नै उनले मौलिकताको सुगन्ध महसूस गरेकी थिइन् ।
हुन त रङ्गमञ्चमा मुख्य पात्रकै रुपमा उनको त्यो पहिलो नाटक थियो । त्यसअघि उनले डेब्यु नाटक ‘लिलामे माइलो’मा सानो भूमिका निर्वाह गरेकी थिइन् ।
त्यतिबेला न त उनमा रङ्गमञ्चको औपचारिक प्रशिक्षण, ज्ञान थियो, न त लामो समयको अनुभव नै । रङ्गकर्मी अनिल सुब्बा, चाम्लिङको प्रोत्साहनले उनले ‘जोखना’मा धनसुवा पात्रको भूमिकालाई निकै सशक्त रुपमा निभाइन् । त्यसकारण उनी आफ्नो रङ्गमञ्चको यात्रामा ‘जोखना’लाई टर्निङ पोइन्टकै रुपमा लिन्छिन् ।
तिनताका नाटकले पाएको वाहवाहीसँगै उनले समेत अभिनयबाट प्रशंसा बटुलिन् । ‘जोखना’ नाटककै समयमा उनी जापान जाने तयारीमा समेत थिइन् । नाटक ‘जोखना’पछि उनले जापानिज भाषाको चार महिनाको कक्षा र गरिरहेको जागीर समेत छोडेर रङ्गमञ्चको बाटो रोजिन् ।
दुई/चार वर्ष गरौँ न त भनेर नाट्य क्षेत्रमा कुनै योजना विना नै छिरेकी उनले अहिले यसैमा लामो यात्राको सपना देखेकी छिन् ।
नाटक, रङ्गमञ्च, अभिनय यी सबैमा कुनै औपचारिक कक्षा तथा प्रशिक्षण विना नै उनको यात्रा सातौं वसन्तमा दौडिरहेको छ ।
यो अवधिमा उनले ‘गुम्फन,’ ‘समयको पीडा,’ ‘पचली भैरव,’ ‘घरको माया,’ ‘पल्पसा क्याफे,’ ‘त्रयम,’ ‘चोरको स्वर,’ ‘कुभिन्डोको कथा,’ ‘पल पलको मृत्यु,’ ‘अन्धवेग’ लगायत डेढ दर्जनभन्दा बढी नाटकहरुमा आफ्नो अभिनय कला देखाइसकेकी छिन् ।
यी नाटकहरुमा विभिन्न पात्रमार्फत विविध खाले अनुभूतिमा नै उनले रङ्गमञ्चको अनुभवसँगै ज्ञान लिइन् । र त यही अनुभूतिहरुलाई एकमुष्ट रुपमा संगाल्दै अहिले उनी निर्देशनको फाँटमा उभिएकी छिन् ।
मकवानपुर भिमफेदीकी संगीता खासमा गायिका बन्ने सपना बोकेर २०६२/०६३ तिर तीन जनामध्ये कान्छो दाइ रवि चन्द्र थापा मगरसँग काठमाडौँ पसेकी थिइन् । सानैदेखि गाउने भएकोले नै बहिनीलाई गायिका बनाउँछु भन्ने उनका दाइको पनि सपना थियो ।
रत्न राज्य क्याम्पसमा सङ्गीत विषयमै उनले स्नातक गरिन् । त्यही समयमा उनी नाटक हेर्न गुरुकुलमा पुग्थिन् तर नाटकमै जम्छु भन्ने सपना थिएन । सङ्गीतलाई औपचारिक रुपमा अगाडि बढाउने समयमै अचानक उनको भोकलमा समस्या देखियो ।
त्यतिबेला उनले घाँटीमा भएको सामान्य टन्सिलकै कारण होला भन्ने सोचेकी थिइन् । तथापि डाक्टरलाई देखाउँदा परिणाम उनले सोचेको जस्तो भएन । डाक्टरले उनलाई आफ्नो स्वर र स्वास्थ्यको मध्यनजर गर्दै गीत गाउन नै छोड्नुपर्ने सल्लाह दिए ।
आफ्नो सपनामा पूर्ण ‘ब्रेक’ लागेपछि केही समय उनलाई मानसिक रुपमा आफ्नो परिस्थितिलाई स्वीकार्न कठिन भयो ।
‘झण्डै एक डेढ वर्ष त मलाई गाह्रै भयो । त्यसपछि म जे छु, जस्तो छु ठिकै छु भनेर आफूलाई स्वीकार्नतिर नै लागेँ । यही समयमा मैले अरु जिउने कला र बाटाहरु खोजेँ,’ उनले विगतलाई स्मरण गरिन् ।
सङ्गीततिर गाउने लयलाई छोडेर उनी लेखनतिर लागिन् । लेखनमा विशेषत उनी गीत र गजलतिर लागिन् । ‘मधुवन,’ ‘अनाममण्डली’ लगायत गजल महफिलहरुमा छिरेकी उनले छोटो समयमै यसमा समेत आफूलाई अब्बल रुपमा स्थापित गरिन् ।
वि.सं. २०७३ सम्ममा उनी गजलकै सिलसिलामा देश दौडाहामा पुगिसकेकी थिइन् । यही दौडानमा उनले गजल सङ्ग्रह प्रकाशनका लागि योजना बनाइरहँदा नै उनका तीन सयभन्दा बढी गजलहरु प्राविधिक त्रुटिका कारण डिलिट भए । त्यसपछि गजलसङ्ग्रहतिर भन्दा पनि उनी लेखन र यही माहोलमा अभ्यस्त भइन् ।
सङ्गीत अध्ययनकै क्रममा उनका समकालीनहरु मेलिना राई, आस्था राउत, भुपु पाण्डे लगायत थुप्रै सङ्गीतमा स्थापित भइसकेका छन् । उनी भने थिएटरतिर व्यस्त छिन् । उनी यसैमा रमाएकी छिन् । यही अवधिमा उनले स्नातकोत्तर समेत गरिन् ।
सङ्गीतको प्यास मेटाउन उनी गीत लेखिरहन्छिन् । उनका गीतहरु गंगा गजमेर, मनोजराज शिवाकोटी लगायतका गायकगायिकाहरुले स्वर भरेका छन् । नाटकमै पनि गीत लेख्छिन् र आफैं गुनगुनाउँछिन् । थोरै समय भएपनि गायनमै फर्कने अझै उनको आशा छ ।
गीत, गजल र नाटक यी तीनै विधा उनका लागि मानसिक रुपमा बलियो हन थेरापी जस्तै बनेको छ । भन्छिन्, ‘कलाकारिता भनेको देखिने ठाउँ हो । तर यसमा म भन्दा पनि मेरो काम देखिनुपर्छ भनेर म लागेँ । यो त मैले माया गरेको काम हो । सायद अहिलेको खुसी यसैको उपज नै होला ।’
नाटक मार्फत आफ्नो कथा भन्न कस्सिएकी उनलाई लाग्छ, थिएटरमा मात्र यो सम्भव छैन । जसरी अनिल बुढामगरहरु आफ्नो कथा बोकेर मूलधारको सिनेमामा आए, त्यसरी नै आउनुपर्छ भन्ने पक्षमा उनी छिन् ।
त्यसो त ‘खजुरी ब्रो,’ ‘खुर्पेटो,’ ‘सेनाको चेली,’ ‘खुश्मा’ देखि ‘जेरी अन टप’ लगायतका सर्ट, फिचर, भाषाभाषिको सिनेमामा उनी छिन् ।
आफ्नो अनुहारको उपस्थिति मात्र भन्दा पनि आफू जस्तै मान्छेहरुको कथा लिएर सिनेमाको क्यानभासमा पुग्ने उनको अभिलाषा छ ।
थिएटर होस् या जुनसुकै क्षेत्रमा नयाँ पुस्तालाई शुरुवाती बाटो नै कठिन छ । नयाँ पुस्तामाथि अग्रजहरु ढुक्क छैनन् ।
नाटक ‘सोरठी’मा उनको जिम्मेवारीप्रति समकालीन भन्दा पनि अग्रजहरु सशंकित छन् । नाटकका लागि अग्रजहरुले चुनौती नलिन बेला बेलामा सरसल्लाह नदिएका पनि होइनन् । र पनि उनले चुनौतीलाई स्वीकारेकी छिन् । चुनौती मोल्न तयार भएरै उनी आएकी छिन् । उनकै भनाइमा देश छोडिरहेका तमाम नयाँ पुस्ता र समयप्रति उनको पनि चिन्ता छ । उनलाई यो समय र आफ्नै कथाहरु भन्नु छ ।
उनी अझै जोड्छिन्, ‘सोरठी केवल नाटक मात्र नभएर रङ्गमञ्चमा मगर समुदायको अस्तित्व र उपस्थिति हो । कथा भन्नु मेरो पनि दायित्व हो । म चाहन्छु, यो नाटक समुदायका पछिल्ला पुस्ताका लागि प्रेरणा समेत बनोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया