मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने

काठमाडौँ – बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । 

नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन् ।

बङ्गलादेशको पत्रिका डेली स्टारका अनुसार हालसम्म हसिनाविरुद्ध न्यायाधिकरणमा चार वटा मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीन वटा घटना पछिल्लो समय विद्यार्थी आन्दोलनमा भएको हिंसासँग सम्बन्धित छन् । 

मोहम्मद अबुल हसन नामका एक व्यक्तिले हसिनाविरुद्ध सोमबार नरसंहारको उजुरी दिएका थिए । अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए ।

यसअघि कक्षा ९ का विद्यार्थी आरिफ अहमदका बुबाले पनि हसिनाविरुद्ध न्यायाधिकरणमा उजुरी दिएका थिए । आरिफलाई साउन ५ गते प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । २ दिनपछि उनको मृत्यु भयो ।

न्यायाधिकरणका अधिकारी अताउर रहमानले उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

शेख हसिनाले सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) स्थापना गरेकी थिइन् । यो न्यायाधिकरण सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो ।

बङ्गलादेशको अन्तरिम सरकारले हसिना विरुद्ध परेका उजुरीहरूको सम्बन्धमा संयुक्त राष्ट्र संघको निगरानीमा छानबिन गर्ने बताएको छ । 

अन्तरिम सरकारका कानुनी सल्लाहकार प्रा. आसिफ नजरुलले शेख हसिनालाई कमाण्ड दिने जिम्मेवारी रहेको भन्दै विद्यार्थी आरक्षण आन्दोलनका क्रममा मृत्युमा उनको भूमिकाको छानबिन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?