काठमाडौँ– आज अभिनेत्री रेखा थापाको जन्मदिन र छोरी वैभवी राज्यलक्ष्मी शाहको अन्नप्रसान पनि । यसकारण आजको दिन उनको लागी विशेष छ । २०३९ साल भदौ ५ गते मोरङमा जन्मिएकी उनी आजबाट ४२ औ वर्षमा प्रवेश गरेकी छिन् ।
साथै छोरीको अन्नप्राशनमा उनले पशुपति मन्दिरमा भण्डारा पनि लगाएकी छिन् । यी दुबैलाई उनले एकैसाथ मनाउँदै छिन् ।
यो दिनलाई खास बनाउन रेखा बिहानैदेखि व्यस्त छिन् । एकातिर उनी सामाजिक सञ्जालदेखि मोबाइलसम्म प्रशंसक र आफन्तको जन्मदिन शुभकामना ग्रहण गरिरहेकी छन् । अर्कोतिर, छोरीको अन्नप्राशनका लागि बिहानैदेखि पशुपतिमा अन्नपूर्णदेवीको पूजाआजामा व्यस्त छिन् ।
त्यहाँ उनले अन्नपूर्ण भण्डारा चलाइरहेकी छिन् । यो भण्डारा चलाउनुको उद्देश्य निसहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् भन्ने रहेको उनको भनाइ छ । उनकी छोरी वैभवी सात महिना लागेकी छिन् । अर्कोतर्फ, रेखा चाँडै दर्शकलाई नयाँ फिल्म र यसको अपडेटसहित सरप्राइज दिन चाहन्छिन् । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत हुन् ।
उनले केही वर्षअघि बलराम शाही ठकुरीसँग दोस्रो विवाह गरेकी हुन् । उनले सिनेमा क्षेत्रमा प्रवेश गर्दैगर्दा निर्माता तथा निर्देशक छवि ओझासँग पहिलो विवाह गरेकी थिईन् । उनी भुपू श्रीमान् छवि ओझालाई ‘गड फादर’ मान्छिन् । किनकि एसएलसी दिएर काठमाडौँ घुम्न आएको बेला उनी छवी ओझाकै साथ र सहयोगमा नायिका बनेकी हुन् ।
२०५७ सालमा फिल्म ‘हिरो’ बाट करिअर थालनी गरेकी रेखाको पछिल्लो चलचित्र ‘उपहार’ हो । हिरो, मितीनी, बाटुली, किस्मत, बाटो मुनिको फुल, काली, हिम्मतवाली लगायत उनले थुप्रै हिट चलचित्र दिएकी छन् । अब पुन उनी नयाँ चलचित्र बनाउने तयारीमा छिन् । उनको समयमा रेखालाई ‘बोल्ड नायिका’को रुपमा चिनिन्थ्यो ।
छोटो पहिरन लगाउने थालनी उनैबाट सुरु भएको थियो । साथै हिरो मात्रै एक्सन भूमिकामा देखिरहँदा हिरोईनले पनि हिरो सरह लिड रोल निभाउन सक्छन् र एक्सन भूमिका निर्वाह गर्न सक्षम छन् भन्ने कुराको प्रमाण उनी आफैँले गरेर देखिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया