काठमाडौँ– कलाकारका छोराछोरीको डेब्यु फिल्म रिलिज हुँदा रजतपटमा निकै चर्चा हुने गर्छ । चाहे अनमोल केसीको डेब्यु फिल्म होस् या सलोन बस्नेतको । निर्मात्री झरना थापाकी छोरी सुहाना थापाको फिल्म क्षेत्रमा डेब्यु हुँदा पनि उस्तै चर्चा थियो ।
तर, कतिपय कलाकारका सन्तानको फिल्म आएको र गएको समेत दर्शकलाई पत्तो हुँदैन ।
यतिबेला विराज भट्टका छोरा समीर भट्टको अभिनय रहने फिल्म ‘१२ गाउँ’ को उस्तै चर्चा छ । त्यसो त यो फिल्म घोषणा भएदेखि नै फिल्मको व्यापक चर्चा चुलिएको छ । समीरले मुम्बईमा बसेर सुगठित शरीर र मार्सल आर्ट सिकेको भन्दै खुबै चर्चा गरियो ।
यसअघि सन्तोष सेनको फिल्म ‘बलिदान’ बाट समीरले डेब्यु गर्ने भन्दै थप चर्चा भयो । तर, उक्त फिल्मभन्दा पहिले ‘१२ गाउँ’ रिलिज हुने भएको छ ।
यस अर्थमा समीरको पहिलो डेब्यु फिल्म उनकै होम प्रोडक्सनको हुने भएको छ ।
फिल्मको पोस्टर रिलिजबाटै समीरले चर्चा कमाइसकेका छन् भने कतिपयले त उनलाई अबको एक्सन स्टार घोषणा गरिसकेका छन् । हुन पनि फिल्ममा अभिनय नदेख्दै दर्शकले फिल्मको प्रतीक्षा गरिरहेका छन् ।
निर्माण टिमले केही दिनअघि ‘१२ गाउँ’ को टिजर समेत सार्वजनिक गरेको छ । उक्त टिजरमा समीरलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । तर, टिजरमा उनको कुनै संवाद समेटिएको छैन । फिल्म पनि पुरानो मेकिङ शैलीमा आधारित रहेर निर्माण गरिएको टिजरले बताउँछ ।
सामाजिक सञ्जालमा भने फिल्मको टिजर सार्वजनिक भएसँगै काफी चर्चा भएको छ । युट्युबमा टिजर हेरेका दर्शकले पनि समीरको अभिनयको तारिफ गरेका छन् ।
कतिपय दर्शकले दशैँमा राम्रो फिल्म हेर्न पाइने भन्दै प्रतिक्रिया व्यक्त गरेका छन् । ‘बजारमा एक्सन सिनेमाको कमी भएका बेला १२ गाउँले आगो बाल्छ,’ एक प्रयोगकर्ताले युट्युबमा प्रतिक्रिया छाडेका छन् ।

त्यस्तै अर्का एक प्रयोगकर्ताले भारतीय एक्सन फिल्मलाई नेपाली बजारमा छिर्न नदिन ‘१२ गाउँ’ जस्ता फिल्म बन्नुपर्ने तर्क गरेका छन् । एक प्रयोगकर्ताले लेखका छन्, ‘समीर भट्टले विराज भट्टको स्थानलाई कहिल्यै कमी हुन दिने छैनन् ।’
युट्युबमा ६ हजारभन्दा बढी प्रतिक्रियामा धेरैजसो सकारात्मक प्रतिक्रिया मात्र आएका छन् भने कतिपयले विराज भट्टको पनि उत्तिकै तारिफ गरेका छन् ।
विराज भट्टले ६० को दशकमा एकपछि अर्को हिट फिल्म दिएका थिए भने उनको एक्सनलाई पनि खुबै रुचाइएको थियो । पछि उनी भोजपुरी फिल्ममा पनि निकै लोकप्रिय बने । केही वर्षयता भने उनी आफ्नै लगानीमा नेपाली फिल्म निर्माण गरिरहेका छन् ।
यसअघि ‘साङ्लो’ मा पनि विराजलाई एक्सन अवतारमा देखिएको थियो । यद्यपि सो फिल्मले हलमा खासै कमाल गर्न सकेन । आफ्नै छोरालाई डेब्यु गराएका विराजले ‘१२ गाउँ’ मा कस्तो काम देखाएका छन् त्यो भने रिलिज भएपछि आउने प्रतिक्रियाले मात्र थाहा हुन्छ ।
फिल्म रिलिज नुहँदै समीरको चर्चा चुलिए पनि अहिलेका दर्शक एक्सन हेर्नका लागि मात्र फिल्म हलमा जाँदैनन् । समग्र फिल्म राम्रो भएन भने लगानी नै डुब्ने जोखिम हुन्छ ।
अहिलेसम्मको अवस्थालाई हेर्दा ‘१२ गाउँ’ ले एक्सन फिल्म मन पर्ने दर्शकलाई सजिलै हलसम्म तान्ने सम्भावना छ । तर, फिल्मको मेकिङ कस्तो छ र ट्रेलर कत्तिको दमदार आउने हो त्यसका आधारमा मात्र उनको क्रेज कस्तो हुने हो भनेर अनुमान लगाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया