काठमाडौँ– मान्छेको मृत्युको स्मरणलाई उत्सवका रूपमा मनाउने विरलै छन् । आफ्नो प्रियजनको मृत्युमा मानिसहरु शोकमा हुन्छन् । नेवार समुदायले भने त्यही शोकलाई दिवंगत भएका व्यक्तिको स्मरणमा प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा मनाउँछन् ।
नेवारी समुदायमा गाईजात्रालाई सापारु भन्ने गरिन्छ ।
भक्तपुरका नेवारी समुदायले विशेषत दिवंगतहरुको स्मरण गर्दै धुमधामसँग सापारु अर्थात् गाईजात्रा मनाउँदै आएको पाइन्छ । उपत्यका भित्रका नेवार समुदायले दिवंगतहरुको स्मरण प्रतिकात्मक रुप बनाएर नगर परिक्रमा गर्ने गर्छन् । त्यसो त यो पर्व नेपालभरका नेवार समुदायले धुमधामका साथ मनाउने गर्छन् ।
गाईजात्रा नेवार समुदायको मृत्यु संस्कारअन्तर्गत पर्ने संस्कृतविदहरू बताउँछन् ।
नेवार समुदायले आजको दिन दिवंगत व्यक्ति प्रतीकात्मक रुपमा बाँसको प्रयोगबाट ताहासा, गाई, ताहामचा, माटाका सा वा सानो बालबालिकालाई भगवान् बनाई नगर परिक्रमा गराइने गरिन्छ ।
यो पर्व मृत्यु संस्कार अन्तर्गत रहेकोले वर्षभरी दिवंगत भएको व्यक्तिको परिवारले आजको दिन सापारु वा गाइ निकालेर नगर परिक्रमा गरिन्छ । ‘सा’ भनेको गाई र ‘पारु’ भनेको यात्रा हो । यसअर्थ गाईलाई नगर परिक्रमा गराउँदा गाईको पुच्छर समातेर स्वर्ग जान्छ भन्ने मान्यता रहेको छ ।
यसरी नगर परिक्रमा गराएपछि मात्रै दिवंगत भएको व्यक्ति स्वर्गमा पुग्ने मान्यता रहेको स्थानीय बताउँछन् । स्थानीय श्याम सुवालको अनुसार दिवंगत व्यक्तिलाई स्वर्गमा पु¥याउनका लागि नगरभन्दा बाहिरका नेवारले पनि भक्तपुर नगरभित्र नै परिक्रमा गराउँदै आएको छ । तर पछिल्लो समय चाँगुनारायण नगरपालिकाको सुडाल र ताथलीले स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमा गाईजात्रा प्रदर्शन गर्दै आएको उनले सुनाए ।
गाईजात्रमा दिवंगत व्यक्तिलाई मोक्ष प्राप्त गराउनका लागि दुःख वा शोकलाई बिर्साउनका लागि नाचगान तथा व्यंग्यात्मक रुपमा विभिन्न क्रियाकलाप गर्ने गरिने संस्कृतविद् ओम धौँभडेलले बताए । जात्रा रोएर शुरु गर्ने र जात्रामा हुने बाजागाजा तथा नाचले सो पीडा भुलाउने भएकाले यसलाई हाँसो र रोदनको संगमको रुपमा लिने गरेको मान्यता रहेको छ ।
दु:खमा पनि रमाउन सक्ने भएकोले हरेक वर्ष हेर्ने र अर्को वर्षको लागि कुर्ने पनि गरिने उनको भनाइ छ । गाईजात्रा लामो समयदेखि चल्दै आए पनि समय र स्थान अनुसार परिवर्तन हुँदै गएको उनको भनाइ छ ।
‘यो मृत्यु संस्कार भएकोले पनि त्यत्ति धेरै परिवर्तन भएको पाइँदैन,’ उनले भने, ‘मृतक वा दिवंगत व्यक्तिहरुलाई मोक्ष प्राप्त गर्नको लागि गरिने भएकोले यसमा आधुनिक शैलीभन्दा परम्परागत शैली नै प्रयोग भएको पाइन्छ ।’
तर त्यसमा लगाइने बाहिरी आवरण, नाचगानमा केही परिवर्तन भएको उनको अनुभव छ । ‘पुरानो कपडा अहिले पाइँदैन ।
बाजा, संस्कार, गीत साहित्यको कुरा पहिलेदेखि चल्दै आएको नै हो,’ उनले भने, ‘पछिल्लो समय बनेको गीतमा आधुनिक घटना पनि जोडिएको छ । यसले गर्दा परम्परागत शैलीमा आधुनिक गीतहरुको प्रयोग भएको पाइन्छ ।’
यसका साथै ताहासा तुलनात्मक रुपमा पहिलेको भन्दा छोटो भएको उनको भनाइ छ ।
भक्तपुरको गाईजात्रा यस कारण फरक
आजको दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायले गाइजात्रा मनाइन्छ । तर भक्तपुरको गाईजात्रा अन्यको तुलनामा भिन्नता पाइन्छ ।
यहाँको आकर्षण भनेको चार वटा लामा बाँसको प्रयोग गरी वरिपरी नेवारी कपडाले बेरेर बनाइएको ताहासा हो । जुन चार कुनामा बसेका व्यक्तिले काँधमा बोकी अगाडि र पछाडि लामो कपडा समातेर नगर परिक्रमा गराइन्छ । ताहासाको पछाडि दिवगंत व्यक्तिको आफन्त धूप बालेर जान्छन् ।
यसका साथै भक्तपुरको गाईजात्रामा मानिससँगसँगै भगवान्को पनि मृत्यु हुन्छ र तिनीहरुको पनि गाई बनाएर परिक्रमा गराउनु पर्छ भन्ने मान्यता रहेको संस्कृतविद् धौँभडेल बताउँछन् । ‘देवीदेवता र मानिसको मृत्युलाई एक अर्कामा सामजस्यता गरेर गाईजात्रा मनाएको हुन्छ । जुुन अरु ठाउँमा पाइदैन,’ उनले जोय नेपालसँग भने ।
भक्तपुरमा तलेजु भगवानको गाई ल्याएर शुरु हुने जात्रा भैरवको ल्याएसँगै सकिने मान्यता रहेको छ । हरेक वर्ष जनैपूर्णिमाको दिन साँझ तलेजु मन्दिरबाट बाजा गाजा र घिन्ताङघिसी नाचसहित जात्रा निकालिन्छ ।
‘यसरी तलेजुबाट निकाले पछि गाईजात्रा शुरु भयो भन्ने मान्यता रहेको पाइन्छ । यसैगरी गाईजात्राको दिन साँझ भैरवको गाई ल्याएपछि अरुको ल्याउन पाइँदैन ।
भद्रकालीको पनि गाई ल्याएर घुमाउने परम्परा रहेको छ,’ उनी अगाडि थप्छन्, ‘देवताहरुसँगै आफूहरु पनि स्वर्गको बाटोमा जान पाउने भएकाले भक्तपुरबासी आफूहरुलाई निकै भाग्यमानी ठान्न्ने गर्छन् ।’
गाईजात्रालाई थप रोमाञ्चक बनाउनका लागि आठ रात नौ दिनसम्म अर्थात् जनैपूर्णिमादेखि कृष्णा जन्माअष्टमीसम्म चल्ने गर्छ । यहाँको लोक नाचलाई पनि प्रदर्शनी गरेको पाइन्छ ।
भक्तपुर नगरपालिकामा हरेक वर्ष प्रतियोगिता
भक्तपुर नगरपालिकाले हरेक वर्ष गाईजात्रामा प्रतिस्प्रर्धा गर्दै आएको छ । नगरपालिकाले नगरभित्र परिक्रमा गराइने जात्रामा प्रयोग भएका बाजागाजासहितको नाच, भेषभुषा, अनुशासन तथा विभिन्न मापदण्ड निर्धारण गरी प्रतियोगिता गराउँदै आएको छ ।
नगरभित्रको विभिन्न स्थानमा मूल्यांकन समिति बसेर जात्रामा प्रयोग भएको सामग्री तथा विभिन्न अवस्थाको आधारमा अंक दिई प्रथम द्धितीय तथा तृतीय भएका नाचलाई नगदसहित पुरस्कारसमेत वितरण गर्ने गर्दछ ।
नगरपालिकाले जात्रा सम्पन्न भएको केही दिन पछि नतिजा प्रकाशन गरी पुरस्कार गर्दै आएको छ । यसरी प्रतियोगिता गर्दा नाचलाई राम्रो र सभ्य बनाउनका लागिपर्ने स्थानीय बताउँछन् ।
नगरपालिकाको प्रतियोगिताले लोप हुन लागेका तथा लोप भइसकेका नाचको संरक्षण गर्न सहयोग पुगेको संस्कृतविद् धौँभडेल बताउँछन् । उनका अनुसार गाईजात्राको इतिहास करिब दुई हजारदेखि २५सय वर्ष लामो रहेको देखिन्छ ।
लामो इतिहाससम्म आइपुग्दा कयौँ संस्कृति लोप हुनुका साथै आधुनिकता पनि मिसिँदै आएको छ ।
केही नाच इतिहास भइसकेको अवस्थामा नगरपालिकाले गर्दै आएको प्रतियोगिताले संरक्षणसमेत गर्न सहयोग गरेको उनको भनाइ छ । ‘मान्छेले पुराना लोक भाका तथा गीतलाई अहिले बुझ्न सकेका छैनन् । आधुनिक समयमा त्यसको जर्गेना गर्नको लागि नगरपालिकाले विभिन्न प्रतियोगिता गर्दै आएको छ ।
पुरानो संस्कृति, भेषभूषा, साहित्य जर्गेना गर्नको लागि नयाँ पुस्तामा माग निर्देशन गर्दै आएको छ ।’ भक्तपुरमा मात्रै नभई अन्य क्षेत्रमा पनि गर्ने आवश्यक रहेको उनले सुनाए ।
सल्यानमा दिवंगत नभए भगवान्कै गाईजात्रा
काठमाडौँ उपत्यकाभित्र मात्रै नभई बाहिरका नेवार समुदायले पनि विभिन्न तरिकाले गाइजात्रा मनाउँदै आएका छन् । मृतक व्यक्तिको सम्झनामा पोखराका नेवारले ताहामचा, बन्दीपुरको नेवारले माक प्याख अर्थात बाँदर नाँच, सल्यानका नेवारले पनि मनाउँदै आएको छ ।
धौँभडेलका अनुसार सल्यानको नेवारहरुले भक्तपुरको शैलीमा बाजागाजा र नाचसहित बजार परिक्रमा गराउँदै आएको छ । त्यहाँ पनि भक्तपुरको जस्तै चार जनाले समात्ने, धिमेबाजासहित नाच्ने उनको भनाइ छ ।
व्यापार तथा विभिन्न सिलसिलामा भक्तपुरबाट बसाइँ सरेर गएका व्यक्तिहरुले नै जात्रा शुरु गरे पनि निकै खर्चिलो हुने गरेको उनले बताए । उनी भन्छन्, ‘मान्छे मरेपछि मृत्यु परम्पराअनुरुप जात्रा गर्नुपर्ने धारणा छ । तर मान्छे मरेको दुःखमा थप धेरै खर्च हुने भएकाले झन समस्या हुँदै आएको छ ।’
उनका अनुसार यो वर्ष सल्यानमा १३ जना नेवारको मृत्यु भएको छ । ती सबैको जात्रा निकाल्ने गरिन्छ । संस्कृति जोगाउनका लागि ती क्षेत्रका नेवार समुदायले खर्चिलो तरिकाले जात्रा संञ्चालन गर्दै आएको उनले सुनाए ।
यस्तो अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले सहयोग गरेमा केही राहत मिल्ने उनको बुझाइ छ ।
सल्यानको शारदा नगरपालिकाको नेवार बस्ती रहेको क्षेत्रमा दुई दिन गाईजात्रा मनाइने गरिन्छ । जनैपूर्णिमाको दिन दिउँसो शुरु भइ गाईजात्राको दिन सकाउने स्थानीय बताउँछन् ।
वडा नम्बर १ का स्थानीय बासिन्दा विश्वनाथ सिंहका अनुसार वर्षभरी मरेको व्यक्तिको सम्झनामा शितलबजार र खलंगा क्षेत्रमा गाइजात्रा मनाउँदै आएको छ । उनका अनुसार दिवंगत व्यक्तिको सम्झनामा विभिन्न समयमा व्यापार व्यवसाय लगायतको कार्यको लागि आफूहरुको पूस्ता भक्तपुरबाटै सरेर गएकाले मृत्यु संस्कार अन्तर्गत रही गाइजात्रा सञ्चालन गर्दै आएको छ ।
उनका अनुसार सो क्षेत्रमा करिब ७७ घर परिवार रहेका छन् । सो परिवारले आर्थिक संकलन गरेर संयुक्त रुपमा शिवजी मन्दिरबाट जात्रा सञ्चालन गर्दै आएका उनले बताए ।
‘तर कसैको मृत्यु नभएमा जात्रा खाली नहोस् भन्नको लागि सोही मन्दिरबाट जात्रा निकाल्ने गरेका छौँ,’ उनले भने ।
आफूहरु भक्तपुरको पुर्ख्यौँली भए पनि गाईजात्रा तुलनात्मक रुपमा फरक भएको उनी सुनाउँछन् ।
उनी भन्छन्, ‘यहाँ डोकोलाई सिंगारेर, महिलाको चोला र धोती बेरेर मृतकको फोटो झण्डाइन्छ । यदि मृतक नभएको अवस्थामा मन्दिरको बाक्सा राख्ने गरिन्छ ।’
चार जना नाँच्ने, चार जना मादल बजाउने, चार जना बैरागी, मुरली बजाउने एक जना र एक जना बाच्छो (सानो बच्चालाई सृंगारिएर बनाइएको) हुन्छ ।
जात्रा खर्चिलो हुने भएकोले निम्नस्तरको व्यक्तिले पनि निकाल्न सकुन् भनेर प्रत्येक घरधुरी पैसा उठाउने गरेको उनले बताए । ‘विवाह व्रतबन्ध जस्तै खर्च हुन्छ । सामुहिक रुपमा गर्दा कम खर्च हुने गर्छ ।’ सामुहिक रुपमा करिब ९० हजारसम्म खर्च हुने उनको भनाइ छ ।
व्यक्तिगत रुपमा भोज खुवाउन, सृंगार्न तथा आवश्यक सामग्री खरिद गर्नको लागि करिब ३ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ ।
२०७४ सालमा लोपोन्मुख स्थानीय संस्कृति भनेर सहयोग गरे पनि हाल कुनै पनि सहयोग गरेको छैन ।
उता वडा नम्बर १ का वडाध्यक्ष प्रदीप पाण्डेले जात्रा सञ्चालन गर्नको लागि आवश्यकता अनुसारको सहयोग गर्दै आएको सुनाए । उनले भने, ‘यो वा त्यो भन्ने हुन्न तर उहाँहरुले माग गरेअनुसारको सहयोग गर्दै आएका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया