मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

महिलामा स्तन क्यान्सरको समस्या किन बढ्दै गइरहेको छ?

पछिल्लो तथ्याङ्क केलाउँदा हेर्दा धेरै महिलाहरुमा स्तन क्यान्सर देखा परिरहेको देखिन्छ । कलिला उमेरका युवतीहरुमा समेत स्तन क्यान्सर फैलिरहेको छ । यो एकदमै जोखिमपूर्ण र जटिल समस्या पनि हो । स्तन क्यान्सर महिलामा सबैभन्दा धेरै देखिने क्यान्सर रोग हो ।

पहिले विवाहित र उमेर ढल्किएका महिलाहरुमा स्तन क्यान्सरको समस्या देखा परे पनि पछिल्लो समय भने स्तन क्यान्सर सानै उमेरदेखि नै देखा पर्न थालेको छ । स्तन क्यान्सर सबै उमेर समूहका महिलाहरुलाई लाग्ने रोग हो या कुनै निश्चित उमेरसमूहलाई हुन्छ, महिलामा यो समस्या बढ्नुsfकारणहरु केके छन्?

यसका रोकथाम र शतर्कताका लागि के–कस्ता उपायहरु हुन सक्छन् लगायत विषयमा कन्सल्टेन्ट ब्रेस्ट अन्कोप्लास्टिक सर्जन डा. बानिरा कार्कीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो पुस्ताका महिलामा स्तन क्यान्सर किन बढ्दै गइरहेको छ ?

नेपालमा पछिल्लो केही वर्षयता स्तन क्यान्सर हुनेको संख्या बढ्दो छ । सामान्यतया ४० देखि ५० वर्ष उमेर समूहका महिलाहरुमा स्तन क्यान्सर धेरै हुने देखिएको छ । तर अहिले २५ देखि ४५ वर्ष उमेरका महिलाहरूमा पनि यो देखिन थालेको छ ।

केही केसहरु त २० वर्ष भन्दा माथि उमेर समूहमा पनि देखिएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने ६ जना महिलामध्ये एक जना महिलालाई स्तन क्यान्सर भएको देखिन्छ । पश्चिमी देशहरूमा पहिले स्तन क्यान्सरका कारण मृत्यु हुनेको संख्या धेरै थियो । तर, अहिले ती स्तन क्यान्सरको कारण मृत्यु हुनेको संख्या घटेको छ । किनकि उनीहरूले समयमा नै स्तन क्यान्सरको जाँच गर्छन् ।

हाम्रो एसियाली मुलुकहरूमा स्तन क्यान्सरबाट मृत्यु हुनेको संख्या बढ्दो छ । त्यसको मुख्य कारण भनेको समयमा स्तन जाँच नगर्ने र क्यान्सर भएर तेस्रो वा चौथो चरणमा मात्र अस्पताल पुग्नु हो । त्यसैले २५ वर्षभन्दा माथिका महिलाहरूले वर्षमा एकपटक स्तन जाँच गर्नुपर्छ ।

सानै उमेरमा क्यान्सर देखा पर्नुका कारण के के हुन् ?

स्तन क्यान्सर हुने सबैभन्दा मुख्य कारण भनेको वंशाणुगत कारण हो । तर सानै उमेरमा क्यान्सर देखा पर्नुको कारण भने हाम्रो जीवनशैली र खानपानमा आएको परिवर्तन हो । केही वर्षयता हामीले पश्चिमी जीवनशैली अपनाएका छौँ ।

धुम्रपान, मद्यपान गर्ने महिलाहरूको संख्या बढ्दो छ । खानपानमा पनि परिवर्तन आएको छ । पहिले जस्तो शुद्ध खानेकुरा छैन प्रोसेस फुड, जंक फुडको सेवन बढेको छ । जसका कारणले पनि स्तन क्यान्सर हुने सम्भावना बढेको छ । अध्ययन र करिअरका कारण महिलाहरूले ढिलो विवाह गर्न थालेका छन् । ढिलो विवाह भएपछि पहिलो सन्तान जन्माउने उमेर पनि ढिलो भएको छ ।

पहिलो सन्तान ३० वर्ष उमेरपछि जन्माउने महिलाको संख्या बढेको छ । सुत्केरी महिलाहरूलाई सुत्केरी बिदा तीन महिना मात्र दिइन्छ । जसले गर्दा उनीहरुले राम्ररी स्तनपान गराउन पाएका छैनन् । यी कारणले नेपालमा पनि पश्चिमी देशमा जस्तै स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गइरहेको छ ।

महिलाले स्तन क्यान्सरबाट बच्न के–कसरी सावधानी उपनाउन सकिन्छ ?

महिला दिदीबहिनीहरुले स्तन क्यान्सरबाट जोगीन महिनावारी ठीक समयमा भइरहेको छ भने महिनावारी भएको सातदेखि १० दिनभित्रमा सेल्फ ब्रेस्ट एक्जामिन गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, छालाको रंग र नरमपनाको फरकपन हेर्ने गर्नुपर्छ । साथै स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिनुपर्छ ।

दुवै हातलाई माथि उठाएर काखीमा देखा परेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्नुपर्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्नुपर्छ । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन प्रस्ट देखिन सक्छ ।

स्तन क्यान्सरले महिलाको स्वास्थ्यमा कस्तो असर पर्छ ?

स्तन क्यान्सरले महिलाको प्रजनन क्षमतालाई पनि कमजोर बनाउँछ । कुनै महिलालाई कम उमेरमा नै स्तन क्यान्सर भयो, तर उनको विवाह भएको छैन वा भर्खरै विवाह भएको छ भने उपचारपछि पूर्ण निको भएको खण्डमा पनि ती महिलाको प्रजनन क्षमता कमजोर हुन्छ ।

के स्तन क्यान्सर पूर्ण रूपमा निको हुन्छ ?

स्तन क्यान्सरलाई चार चरणमा छुट्टाइएको छ । पहिलो, दोस्रो, तेस्रो र चौथौ । पहिलो र दोस्रो चरणलाई प्रारम्भिक चरण भनिन्छ भने तेस्रो र चौथोलाई एड्भान्स । प्रारम्भिक चरणमा उपचारमा आउने बिरामीहरू पूर्ण रूपमा निको हुन्छन् । तर, तेस्रो र चौथो चरणमा आएका बिरामीको उपचारपछि पूर्ण रूपमा निको हुने सम्भावना एकदमै कम हुन्छ । पहिलो र दोस्रो चरणको क्यान्सरमा स्तनको वरपर वा काखीमा गिर्खा देखापर्छ । तेस्रो र चौथो चरणमा क्यान्सर फैलिएर फोक्सो, कलेजो, हड्डी र मस्तिष्कसम्म पुग्छ ।

यसका उपचार विधि कस्तो छ त?

पछिल्लो समय भने नेपालमा विभिन्न अस्पतालमा क्यान्सर विशेषज्ञ चिकित्सकहरु उपलब्ध छन्  । स्तन क्यान्सरको उपचारमा धेरै नयाँ प्रविधि भित्रिएको छ । स्तनलाई नफाली स्तन क्यान्सरको सर्जरी गर्ने प्रविधि पनि अहिले विकास भएको छ । स्तन क्यान्सरको पहिलो, दोस्रो र तेस्रो चरणमा स्तनलाई बचाएर स्तन क्यान्सरको उपचार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?