हिन्दु धर्मशास्त्रमा स्वर्गका राज देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भङ्ग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ ।
यी ५ अप्सराका बारेमा जान्नुस्:
उर्वशी: महाभारतमा उर्वशीको सुन्दरताको वर्णन पाइन्छ । अर्जुन एक पटक स्वर्ग लोकमा घुम्न गएका बेला उर्वशीको रूप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मन पराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेम प्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनी श्राप दिएकी थिइन् ।
पुंजिकस्थलाः ध्यान बसिरहेका ऋषिको रूप देखेर पुंजिकस्थला अप्सराले खिल्ली उडाएकी थिइन् । उनको व्यवहारका कारण ऋषि रिसाएर ऋषिले पुंजिकस्थलालाई बाँदरको अनुहार हुने श्राप दिएका थिए । पछि पुंजिकस्थालाले अन्जनीको रूपमा बाँदर जातिका जन्म लिएर हनुमान पुत्रलाई जन्म दिएको शास्त्रमा उल्लेख पाइन्छ ।
मेनकाः ऋषि विश्वामित्रले एकताका कठिन तपस्या गरेका थिए । ऋषि विश्वामित्रको ध्यान भङ्ग गर्न इन्द्रले मेनका नाममा अप्सरा धर्तीमा पठाएको कथन छ । मेनकाको रूप देखेर मोहित भएपछि ऋषि विश्वामित्रले ध्यान तोडेका थिए । पछि ऋषि विश्वामित्र र मेनका विवाह बन्धनमा बाँधिएका थिए । र, शकुन्तला नामका पुत्री जन्म दिएका थिए ।
तिलोत्तमा: स्वर्गकी सबैभन्दा सुन्दरी अप्सराका रूपमा तिलोत्तमाको नाम अगाडि आउँछ । पृथ्वीको निर्माण गर्दा ब्रह्मदेवले संसारका सबैभन्दा सुन्दरतम वस्तुहरू सङ्कलन गरेर तिलोत्तमाको निर्माण गरेको कथन पाइन्छ ।
रम्भा: इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताको कारण स्वर्ग,मर्त्य,पाताल गरी तीनै लोकमा प्रसिद्ध थिइन् । धनको देवता कुबेरको छोरा नलकुबेरसँग रम्भा पत्नीकै रूपमा बस्ने गर्थिन् । रावण रम्भासँग मोहित भएका थिए र उनले रम्भासँग सम्बन्ध गाँस्न चाहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया