मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

हलिउड अभिनेता टम क्रुज: कष्टकर बाल्यकालदेखि ‘स्टन्ट’ को बादशाहसम्म

चौध वर्षमा फेरेका थिए १५ स्कूल

काठमाडौँ– विश्वभर नै लोकप्रियता कमाएका हलिउड अभिनेता टम क्रुजको कुनै फिल्म आउँदै छ भने पहिलेदेखि नै विश्वभर चर्चा हुन्छ । ६२ वर्षीय यी अभिनेताले यो उमेरमा पनि उनले खतरनाक स्टन्ट दिन्छन् ।

उनका डरलाग्दा र भयानक स्टन्टका दृश्यले धेरैको मुटु काँप्छ । त्यसैले पनि टम क्रुजले सन् १९८० यता एकपछि अर्को उत्कृष्ट फिल्ममार्फत् दर्शकहरुलाई मनोरञ्जन दिँदै आएका छन् ।

क्रुजका ‘मिसन इम्पोसिबल’, ‘टप गन’, ‘जेरी मगवायर’, ‘रिस्की बिजनेस’, ‘माइनोरिटी रिपोर्ट’ जस्ता फिल्मले दर्शकको मनमात्र जितेका छैनन्, अनेकौँ मानकसमेत स्थापित गरेका छन् । क्रुज मुख्यगरी एक्सन फिल्ममा भूमिकाका लागि क्रुज निकै लोकप्रिय छन् ।

थोमस क्रुज मापथर चतुर्थको जन्म अमेरिकाको न्यूयोर्क राज्यमा रहेको सेराक्युज शहरमा सन् १९६२ मा भएको थियो । टम क्रुजका अनुसार उनका बुबा अत्यन्त अस्थीर किसिमका मान्छे थिए । पेसाले इलेक्ट्रिकल इन्जिनियर थोमस क्रुज मापथर तृतीय कुनै जागीरमा टिक्न सक्दैनथे भने ।

उनी सधैँ नयाँ जागिरको खोजीमा रहन्थे । सानोमा आफ्ना बाबुले बारम्बार कुटपिट गर्ने गरेको टम क्रुजले परेडलाई बताएका थिए । सात वर्षको उमेरमा मनोवैज्ञानिक हिसाबमा टम क्रुजमा पढ्न नसक्ने डिस्लेक्सिया नामक समस्या रहेको पत्ता लागेको थियो ।

आफ्ना बाबुको अस्थीरताका कारण टम क्रुजले १४ वर्षमा १५ विभिन्न स्कुलमा पढ्नुपरेको थियो । नयाँ नयाँ स्कुलमा पढ्ने भएकाले सानोमा उनीसँग मिल्ने साथी कम थिए भने उनले सधैँ हेपाइको सामना गर्नुपर्थ्यो ।

बाल्यकालको यस्तो अनुभवले गर्दा उनी मानसिक रुपमा दृढ र शारीरिक रुपमा बलिया पनि भएर निस्के । उनी ११ वर्षको हुँदा उनकी आमाले सम्बन्धविच्छेद गरिन् ।

‘यो निकै पीडादायी थियो ।’ उनले भनेका छन्, ‘मेरी आमाले मेरा बाबुविरुद्ध उभिने आँट गरेकी थिइन् ।’

आफ्नो पढाइका क्रममा चौथो कक्षामा उनी क्यानाडाको ओटावामा रहेको रोबर्ट हप्किन्स स्कुलमा भर्ना भएका थिए । त्यहाँ उनले पहिलो पटक अभियन गरेका थिए । नजिकैको चाल्र्टन प्राथमिक विद्यालयमा आयोजित नाटक महोत्सवमा आफ्नो विद्यालयका तर्फबाट उनले सहभागिता जनाएका थिए ।

विद्यालयमा पढ्दा उनलाई इसाई धर्ममा ज्यादै रुचि थियो । उनले केही वर्ष ईसाई विद्यालयमा पनि पढेका थिए । सानोमा उनले पछि गएर आफू पादरी बन्ने आकांक्षासमेत राखेका थिए ।

आमाले बुबासँग सम्बन्धविच्छेद गरेपछि न्यूजर्सीमा रहँदा उनले ग्लेन रिज स्कुलले निर्माण गरेको ‘गाइज एण्ड डल्स’ नाटकमा उनले अभियन गरेका थिए । त्यसपछि उनलाई अभियनप्रति रुची बढ्दै गयो । त्यसपछि १८ वर्षकै उमेरमा उनी अभियनमा भविष्य खोज्न न्यूयोर्कतर्फ लागे ।

उनले आफूलाई अभियन क्षेत्रमा स्थापित गराउन १० वर्ष लाग्ने अपेक्षा गरेका थिए । तर, अभिनयमा आफ्नो पहिचान बनाउन उनले धेरै समय खर्चिनु परेन ।

सन् १९८१ मा रिलिज भएको ‘इण्डलेस लभ’ फिल्ममा उनले सानो भूमिका पाए । यही फिल्मबाट उनको अभियन यात्रा शुरु भयो । अभियन क्षेत्रमा संघर्ष गर्दै जाँदा क्रुज हलिउड निर्देशक हारोल्ड बेकरको नजरमा पर्न सफल भए ।

क्रुजको क्षमता देखेर बेकरले उनलाई ‘ट्याप्स’ मा भूमिका दिए । यो फिल्ममा क्रुजले गरेको अभियनबाट धेरै फिल्म निर्माता प्रभावित भएका थिए ।

त्यसपछि सन् १९८३ मा उनले फ्रान्सिस फोर्ड कोपोलाको ‘द आउटसाइडर्स’ मा अभिनय गर्ने  मौका पाए । व्यवसायिक हिसाबमा सफल नभएपनि यो फिल्मले उनके अभियनमा थप निखार ल्यायो भने उनले दर्शक र अन्य फिल्म निर्माता तथा निर्देशकहरुसँग पनि परिचित हुने मौका पाए ।

सोही वर्ष रिलिज भएको ‘रिस्की बिजनेश’ मा उनले प्रमुख भूमिका निभाएका थिए । ‘रिस्की बिजनेश’ को सफलतासँगै उनले पछाडि फर्केर हेर्नु परेन ।

सन् १९८६ मा रिलिज भएको ‘टप गन’ ले भने उनको स्टारडमलाई अर्को उचाइमा पुर्‍याइदियो । एक्सनले भरपूर त्यस फिल्ममा उनले निभाएको ‘पिट म्याभरिक मिचल’ को भूमिकाको चौतर्फी प्रसंशा भयो भने फिल्मले उत्कृष्ट व्यापार गर्‍यो ।

सोही वर्ष रिलिज भएको ‘द कलर अफ मनी’ बाट पनि उनले धेरै चर्चा बटुले । सन् १९८६ मा रिलिज भएको ‘बोर्न अन द फोर्थ अफ जुलाई’ मा रोन कोभिचको भूमिकाका कारण उनले गोल्डेन ग्लोब अवार्ड पाएका थिए भने उनी एकेडेमी अवार्डका लागि मनोनित पनि भएका थिए ।

त्यसयता उनले अभिनय गरेका सन् १९९२ मा रिलिज भएको ‘अ फिउ गुड मेन’, सन् १९९३ मा रिलिज भएको ‘द फर्म’, सन् १९९४ मा रिलिज भएको ‘इन्टरभ्यू विथ द भेम्पायर’ फिल्म पनि सफल भए ।

सन् १९९६ मा रिलिज भएको ‘मिसन इम्पोसिबल’ फिल्मले उनको अभिनय करिअरलाई अर्को उचाइमा पु¥यायो । यो फिल्ममा क्रुजको अभिनय रहेको ‘इथन हन्ट’ को भूमिकालाई दर्शकहरुले निकै मन पराए । यो फिल्मले व्यवसायिक कीर्तिमान पनि राख्न सफल भयो ।

त्यसयता ‘मिसन इम्पोसिबल’ सिरिजका ७ वटा फिल्महरु बजारमा आइसकेका छन् । क्रुजले मिसन इम्पोसिबल फिल्म सिरिजमा अभियन मात्रै गरेका छैनन्, निर्माण पनि उनैले गरेका छन् ।

ती सबै फिल्मलाई दर्शक र क्रिटिकहरुले प्रसंशा गरेका छन् भने व्यवसायिक रुपमा पनि उत्तिकै सफल भएका छन् । मिसन इम्पोसिबलको आठौँ फिल्म पनि अर्को वर्ष रिलिज हुने तयारीमा रहेको छ ।

टम क्रुजले तीबाहेक ‘जेरी मगवायर’, ‘माइनोरिटी रिपोर्ट’, ‘म्याग्नोलिया’, ‘स्याटर्ड ग्लास’, ‘द लास्ट सामुराइ’, ‘ट्रपिक थण्डर’, ‘द मम्मी’ जस्ता फिल्महरुमा पनि काम गरेका छन् । ४ पटक त उनी एकेडेमी अवार्डका लागि मनोनित पनि भइसकेका छन् ।

वास्तविक स्टन्ट दिने अभिनेता

टम क्रुन एक्सन फिल्ममा अभिनयका लागि चर्चित छन् । यतिसम्मकी उनी त्यस्ता फिल्ममा आफ्नो स्टन्ट आफैँ गर्न अघि सर्छन् । उनले गर्ने स्टन्ट कतिपय व्यवसायिक स्टन्टमेनभन्दा रोचक हुन्छन् । उनले आफ्ना फिल्मका लागि ज्यान नै जोखिममा राखेर पनि स्टन्ट गरेका छन् ।

‘द ममी’ फिल्ममा रहेको विमान दुर्घटनाको सिनमा उनी आफैँले स्टन्ट गरेका थिए । त्यसबेला अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षयात्रीलाई तालिम दिन प्रयोग गर्ने विमानमा उक्त स्टन्ट गरेका थिए ।

उनले त्यो स्टन्ट पूरा गर्न चारपटक प्रयास गरेका थिए ।

त्यस्तै, ‘मिसन इम्पोसिबल–फलआउट’ मा उनी आफैँले हेलिकोप्टर उडाएका थिए । यसका लागि उनले हेलिकोप्टर उडाउन दैनिक १६ घण्टा समय खर्चेर २ हजार घण्टा तालिम लिएका थिए । त्यस फिल्ममा उनले हेलिकोप्टर उडाउने मात्रै नभएर ३६० डिग्री ‘कर्कस्क्रु’ प्रस्तुत गरेका थिए ।

व्यावसायिक पाइलटकै लागि पनि ३६० डिग्री ‘कर्कस्क्रु’ प्रस्तुत गर्न चुनौतीपूर्ण हुने बताइन्छ ।

क्रुजले ‘टप गन माभरिक’ का लागि एफ ए १८ विमान उडाएका थिए । त्यस क्रममा जी–फोर्सका कारणले गर्दा केही समयका लागि उनको अनुहार नै कुच्चिन पुगेको थियो ।

फिल्ममा क्रुनको अनुहार कुच्चिएको दृश्य वास्तविक नै रहेको बताइन्छ । त्यसैगरी, ‘मिसन इम्पोसिबल २’ फिल्मका लागि उनले अमेरिकाको युटा राज्यमा रहेको २ हजार फुट अग्लो डाँडा चढेका थिए । त्यस बेला उनीसँग सुरक्षाका लागि डोरीबाहेक अरु केही थिएन ।

‘मिसन इम्पोसिबल–रोग नेसन’ का लागि उनले पानीमुनि खिचिएको एउटा सिनका लागि ६ मिनेटसम्म सास बन्द गरेका थिए । अझ एउटा जोखिमपूर्ण स्टन्टमा त उनको कुर्कुचा नै भाँचिएको थियो ।

खासमा ‘मिसन इम्पोसिबल–फलआउट’ मा एउटा भवनबाट अर्कोमा हाम फाल्ने क्रममा भित्तामा लागेर उनको कुर्कुचा भाँचिएको थियो । घाइते भएका क्रुजले अब कहिल्यै दौडिन नसक्नेसमेत भएका थिए ।

तर, घाइते भएको डेढ महिनापछि उनी निको भए ।

‘मिसन इम्पोसिबल – डेड रेकनिङ पार्ट वान’ का लागि उनले नर्वेली पहाडमा रहेको डाँडोबाट मोटरसाइकल हुँइकाएका थिए । यसको तयारीका लागि उनले ५ सय पटक स्काइडाइभ र १३ हजार पटक मोटोक्रस जम्प गरेका थिए । सूटिङका दिनमा पनि उनले त्यो स्टन्ट ६ पटकसम्म दोहोर्‍याएका थिए ।

मृत्युलाई नै जित्ने किसिमका उनका स्टन्ट त्यतिमा मात्रै सीमित छैनन् । ‘मिसन इम्पोसिबल रोग नेशन’ को एउटा सिनका लागि उनी उडिरहेको एअरबस ए४०० विमानको पखेँटामा झुण्डिएका थिए ।

टम क्रुजको त्यस सिन खिच्ने बेला उक्त जहाज १ हजार फिटको उचाइमा १ सय नटको गतिमा उडिरहेको थियो । सुरक्षाका लागि उनलाई जहाजको छेउमा डोरीले बाँधिएको थियो भने आँखा जोगाउन विशेष ‘कन्ट्याक लेन्स’ दिइएको थियो ।

त्यस सिनका लागि उनले ८ पटकसम्म त्यस स्टन्ट गरेका थिए ।

‘मिसन इम्पोसिबल–फलआउट’ का लागि उनले अत्यन्त कठिन मानिने ‘हाई अल्टिच्युड, लो–ओपन स्काइडाइभ’ (हालो) स्टन्ट देखाएका थिए । त्यस किसिमको स्टन्टमा अत्यन्त धेरै उचाइमा उड्ने जहाजबाट हाम फालेर अत्यन्त कम उचाईमा पाराशुट खोली सुरक्षित अवतरण गरिन्छ ।

यसबाट त्यस जहाजबाट हाम फाल्ने मान्छे केही समयसम्म गुरुत्वाकर्षण बलको स्वतन्त्र गतिमा जमिनमा खसिरहेको हुन्छ । त्यस स्टन्टका लागि सी १७ जहाजको प्रयोग गरिएको थियो । क्रुजले त्यस स्टन्टका लागि १०६ पटकसम्म ‘हालो जम्प’ गरेका थिए ।

के गर्छन् टम क्रुज ?

यस्ता खतरनाक स्टन्टका लागि उनी फिट रहनु निकै महत्वपूर्ण छ । त्यसैले उनी आफ्नो फिटनेस र स्वास्थ्यलाई पनि उत्तिकै ध्यानमा राख्छन् । उनी साहसिक किसिमको व्यायाम मन पराउँछन् । त्यसका लागि उनी कहिले समुद्रमा कयाक चलाइरहेका हुन्छन् त कहिले रक क्लाइम्बिङ गर्न जान्छन् ।

पिङ्क भिलाका अनुसार फुर्सद भएका बेला उनी सातामा केबल तीन दिनमात्र नियमित व्यायाम गर्छन् । उनी सोमबार स्ट्रेच, सिटेड डम्बबेल हामर कल्र्स, केबल रोज, केबल स्रग्सजस्ता नियमित व्यायाम गर्छन् भने मंगलबार हाइकिङ, जगिङजस्ता रमाइलो गतिविधि गर्छन् ।

बुधबार र शुक्रबार भने उनी सोमबारजस्तै नियमित व्यायाम गर्छन् । बिहीबार भने उनी सहासिक गतिविधि गर्न रुचाउँछन् । शनिबार र आइतबार आराम गर्छन् ।

उनी एकैपटक धेरै खानेकुरा खाँदैनन् । बरु छोटो–छोटो अवधिमा थोरै–थोरै खान्छन् । उनी प्रशोधित खानेकुरा खाँदैनन् । चिनी भएका खाना पनि उनको रोजाइमा पर्दैनन् । उनी धेरै रक्सी पनि पिउँदैनन् ।

‘टप गन म्याभरिक’ को सूटिङका क्रममा उनले दैनिक केबल १२ सय क्यालोरी मात्र सेवन गरेका थिए ।

उनी पोलेका खानेकुरा खान रुचाउँछन् । उनले खाने खानेकुरामा भिटामिन र मिनिरल भएका खाना पर्छन् । प्रोटिनका लागि उनी माछामासु, अण्डा खान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?