मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दैनिक आलु खाँदा हुनसक्छ स्वास्थ्यमा यस्तो असर 

आलुबिना हाम्रो खाना अपूरो जस्तै छ । भान्सामा पाक्ने हरेक तरकारीमा आलु मिसाइएकै हुन्छ । आलु तारेर,भुटेर,तरकारीमा मिसाएर,उसिनेर लगायत खाने गर्छौ । आलुको प्रयोग र सेवन हामी धेरै मात्रामा गर्छौ ।

यसकारण आज हामी धेरै आलुको सेवन गर्नु कत्तिको स्वस्थ्यकर हुन्छ,के–कस्ता स्वास्थ्य समस्या आउँछन् भन्ने विषयमा जानकारी गराउँछौ । 

सय ग्राम आलु खानुभयो भने तपाईँले ८७ क्यालोरी पाउनु हुन्छ । यस बाहेक पनि आलुमा पोटासियम, भिटामिन बी६, भिटामिन सी र फोलेट जस्ता तत्त्व पनि पाइन्छ । यसरी हेर्दा, आलु आहारको पूर्ण प्याकेज हो । आलुमा उच्च मात्रामा कार्बोहाइड्रेट पाइन्छ । मधुमेहका रोगीका लागि भने आलु हानिकारक पनि छ ।

दैनिक आलु खाँदा शरीरमा कस्तो असर पर्छ ?

आलु पोषक तत्त्वले भरिपूर्ण हुन्छ । हरेक नेपालीको घरमा आलु दैनिक रूपमा तरकारीको हिस्सा हुन्छ । आलु दिनहुँ खाँदा शरीरलाई कति हानि र फाइदा पुर्‍याउँछ भन्ने कुरा आलुलाई कसरी खाने भन्नेमा भर पर्छ । आलुलाई तेलमा तारेर, धेरै बेर पकाएर खाँदा पक्कै पनि हानी हुन्छ ।

तर यदि तपाई स्वस्थ हुनुहुन्छ, मोटोपना वा मधुमेहका रोग लागेको छैन भने सीमित मात्रामा आलु खाँदा खासै हानी हुन्न । धेरै आलु खाँदा तौल बढ्ने सम्भावना हुन्छ । विशेषगरी जब आलुलाई तेलमा डिप फ्राई गरेर वा भुटेर खाइन्छ, यस्तो आलुले तौल बढाउँछ । आलुमा क्यालोरी धेरै हुन्छ ।

आलुलाई डिप फ्राई गरेर खाँदा त्यसमा अस्वस्थकर चिल्लोको मात्रा बढ्छ । त्यसैले आलु सीमित मात्रामा खानपर्छ । दैनिक रूपमा डिप फ्राई नगरीकन २५–५० ग्राम आलु खानु हुन्छ र तपाई स्वस्थ हुनु हुन्छ भने यसले खासै क्षति पुर्‍याउँदैन । तर योभन्दा धेरै आलु खानुभयो भने हानि हुन्छ ।

आलुमा कार्बोहाइड्रेट धेरै हुन्छ । साथै यसमा स्टार्च पनि धेरै हुन्छ । त्यसैले, साधारण आलुको तरकारी धेरै खाइयो भने पनि रगतमा चिनी बढ्छ । त्यसैले मधुमेहका बिरामीले सीमित मात्रामा मात्रै आलु खानुपर्छ ।

तर उनीहरूले भुटेको आलु धेरै खाए चिनी त बढ्छ नै अन्य समस्या पनि बढ्छ । धेरैजसो मधुमेहका बिरामीमा धेरै आलु खाएर रगतमा चिनीको मात्रा बढेको पाइन्छ । आलुलाई बारम्बार तार्न प्रयोग गरिने तेलमा तारेर खादा धेरै क्षति हुने डाक्टरहरू बताउँछन् ।

यसरी तारेको आलु खाँदा ट्रान्स फ्याट बढेर तौल र चिनी दुवै बढ्छ । आलुलाई सामान्य तरिकाले उसिनेर खानु उत्तम हुन्छ । तेलमा धेरै तार्नु हुन्न । तपाई मोटो हुनुहुन्छ वा मुटु सम्बन्धी समस्या छ वा मधुमेहको रोगी हुनुहुन्छ दिनहुँ कति आलु र कुन तरिकाले खाने भनेर आहार विज्ञसँग परामर्श लिन सकिन्छ । बोक्रासहितको आलु खाँदा क्षति कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?