मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

४० वर्ष कटेपछि सन्तान जन्माउँदा स्वास्थ्यमा कस्ता समस्या देखा पर्छन्?

सामान्यतया २० देखि ३० वर्षमा महिलाका लागि आमा बन्ने उपयुक्त उमेर मानिन्छ । तर, पछिल्ला केही वर्षयता ढिलो बिहे गर्ने र सन्तानबारे पनि ढिला नै सोच्ने गरेको पनि पाइन्छ ।

अझ कतिपय महिलाको हकमा त सन्तानको योजना बनाउन चाहँदा चाहँदा पनि विभिन्न कारणले ढिलो सन्तान जन्मिएको पाइन्छ । वैदेशिक रोजगारी, व्यस्त जीवनशैली र व्यक्तिगत समस्याका कारण पनि ४० कटेपछि सन्तानको योजना बनाउने पनि नेपाली समाजमा पाइन्छन् ।

चालीसको दशकपछि सन्तान जन्माउँदा पनि स्वास्थ्य जटिलताहरु निम्तिने विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएका छन् ।

चालीस पार गरेपछि सन्तानको योजना बनाउँदा के–कस्ता जटिलताहरु निम्तिने सम्भावना हुन्छ ? बच्चा र आमाको स्वास्थ्यमा कत्तिको जोखिम हुन्छ? बच्चा कत्तिको स्वस्थकर जन्मन्छ लगायतका विविध विषयमा स्त्री रोग विशेषज्ञ डा. स्वस्ति शर्मासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले कुराकानी गरेकी छिन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:

आमा बन्ने सुरक्षित र उपयुक्त उमेर कति हो ?

सामान्यतया अधिकांश महिला २५ देखि ३५ वर्षको उमेरमा आमा बन्छन् । यो सुरक्षित उमेर पनि हो । यो उमेरमा महिला मानसिक र शारीरिक रूपमा आमा बन्न तयार हुन्छिन् । तर पछिल्लो समय करिअर (वृत्ति विकास), जीविकोपार्जन र अन्य कुराहरुका कारण विवाह ढिलो गर्ने चलन बढ्दा आमा बन्ने उमेर पनि बढेको छ । हरेक दश जनामध्ये एक महिलाले ४० वर्षको उमेरपछि प्राकृतिक रूपमा गर्भधारण गर्छिन् । तर यसपछि गर्भावस्थामा हुने जटिलता र महिलाले कति स्वस्थ बच्चा जन्म दिन सक्छिन् भन्ने कुराको एकिन गर्न सकिँदैन ।

चालिसको उमेर कटेपछि गर्भ रहन र स्वस्थ बच्चा जन्माउन कतिको सहज हुन्छ ?

प्रकृतिले महिलालाई जन्मिनेबित्तिकै निश्चित अण्डा दिएको हुन्छ । जुन उमेर बढ्दै गएपछि अण्डाको गुणस्तर र संख्यामा कमी आउँछ । उमेर बढ्दै गएपछि महिनावारी चक्रपिच्छे स्वस्थ अण्डा खर्चिंदै जान्छ । ३५ वर्षपछि अण्डाको गुणस्तर तथा संख्यामा कम हुने क्रम थप छिटो हुन्छ । ३८ वर्षपछि त्यो क्रम अझ तीव्र गतिमा जान्छ र ४० मा पुग्दा अत्यधिक कम र कमजोर हुन्छ ।

गर्भ बस्न कठिन मात्र होइन । सन्तान र आमामा जटिलता देखिने सम्भावना उत्तिकै बढ्छ । ३५ वर्षभन्दा माथि उमेरमा सन्तान जन्माउँदा सन्तानमा डाउन सिन्ड्रोम हुने सम्भावना बढी हुन्छ । उमेर बढ्दै गएपछि राम्रो अण्डा खेर गइसक्छ र खराब अण्डा मात्र रहन्छ । यस्तोमा ४० वर्ष कटेपछि त प्राकृतिक रुपमा बच्चा बस्न मात्र होइन, मुस्किलले बसेकोमा पनि बच्चाको स्वास्थ्यमा जोखिम हुन्छ । चालीस कटेपछि बच्चा स्वस्थ जन्मिने सम्भावना मात्र पाँच प्रतिशत र गर्भवती हुने सम्भावना २५ प्रतिशत रहन्छ । ४५ वर्षपछि ९५ प्रतिशत सन्तान असामान्य खालको सन्तान जन्मिने जोखिम रहन्छ । त्यस्तै, सन्तानमा मात्र नभई ३८ वर्षपछिका आमामा मधुमेह र उच्च रक्तचाप हुने जोखिम पनि रहन्छ ।

४० वर्षको उमेरपछि सन्तान जन्माउन के–कस्ता कुरामा ध्यान दिने ?

यदि कसैले ४० वर्षको उमेरपछि सन्तान जन्माउन लागिरहनु भएको छ भने ‘एमएच’ हार्मोन गर्नुपर्ने हुन्छ । यस परीक्षणले डिम्बाशय पाठेघरमा कति छ ? स्वस्थ छ कि छैन भनेर थाहा पाउन सकिन्छ । यदि डिम्ब स्वस्थ छ भने प्राकृतिक रुपमा एक पटक गर्भधारणको प्रयास गर्न लगाइन्छ । तर अण्डा कमजोर र संख्या कम भएको अवस्थामा आईभीएफ विधि अपनाउनुपर्छ ।

बच्चा र आमामा कस्ता स्वास्थ्य समस्याहरु हुन सक्छन् ?

आमामा उच्च रक्तचाप र मधुमेह देखिने मिति अगावै बच्चा जन्मिने, सन्तानको तौल कम हुने र शल्यक्रियाबाट मात्र सन्तान जन्मिन सक्ने सम्भावना हुन्छ । जसकारण यसको न्यूनीकरण गर्न बेला बखतमा अल्ट्रासाउन्ड गर्ने र रक्तचाप पनि परीक्षण गरी नियन्त्रणमा राख्नुपर्छ ।

मुख्यकुरा भनेको हामीले हाम्रो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । स्वास्थ्य परीक्षणसँगै दम्पतीले जीवनशैलीमा सुधार गर्न पनि आवश्यक छ । गर्भावस्थामा धेरै क्याफिन सेवन गर्नु राम्रो मानिँदैन ।

कहिलेकाहीँ यसको अत्यधिक सेवनले गर्भपातको सम्भावना पनि बढाउँछ । ३५ वर्षपछि गर्भावस्था पहिले नै जोखिमपूर्ण मानिन्छ । यस्तो अवस्थामा क्याफिनबाट टाढा रहनु राम्रो हुन्छ । अर्को भनेको अत्यधिक तौलले उच्च रक्तचाप, मधुमेहजस्ता समस्या आउनुका साथै समयपूर्व सुत्केरी हुने जोखिम पनि बढाउँछ । तौल नियन्त्रण गर्न दैनिक केही समय हिँड्नुपर्छ ।

हल्का स्ट्रेचिङ वा त्यस्ता खालका हल्का व्यायाम गर्ने गर्नुपर्छ । तर विज्ञको सल्लाह विना कुनै पनि व्यायाम गर्न उचित हुँदैन । साथै सन्तुलित आहारका लागि प्रोटिन, भिटामिनयुक्त खानेकुरालाई आहारमा समावेश गर्नुपर्छ । त्यस्तै रक्सी र चुरोट पिउने बानी भए छोड्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?