काठमाडौँ –नेपाल दूरसञ्चार लिमिटेड (नेपाल टेलिकम)को खुद नाफा १६.४४ प्रतिशतले घटेको छ ।
टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–०८१ को अपरिष्कृत वित्तीय विवरणमा गत आर्थिक वर्ष २०८०–८१ मा कम्पनीले ६ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको हो।
यसअघि कम्पनीको नाफा सात अर्ब ९२ करोड रुपैयाँ थियो। यद्यपि टेलिकमको प्रतिशेयर नेटवर्थ भने बढेको छ । आव ०७९–८० मा टेलिकमको प्रतिशेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेकोमा चालु आर्थिक वर्ष मा ४.१६ प्रतिशतले बढेर ५२५ रुपैयाँ ४३ पैसा पुगेको छ ।
टेलिकमको आम्दानी घटेकाले खुद नाफामा समेत असर गरेको देखिएको छ । टेलिकमले ०७९–८० मा जम्मा आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख १८ रहेको थियो भने गत आवमा ६.३२ प्रतिशतले घटेर ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
आम्दानी र खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ रहेकोमा गत आवमा भने ७.२४ रुपैयाँले घटेर ३६ रुपैयाँ ७७ पैसा मात्र रहेको छ ।
जगेडा कोषमा ७६ अर्ब ५७ करोड ७० लाख ७३ हजार रुपैयाँ रहेको टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया