हामी पानी पिउँदा धेरैजसो प्लास्टिकको बोतलको प्रयोग गर्छौ । अझ घरबाहिर निस्किएपछि त प्लास्टिकको बोतलको प्रयोग बाहेक अन्य विकल्प नै हुँदैन ।
धाराको पिउने पानी अहिले प्लास्टिकको बोतलमा कैद भएको छ । हामीले बोतलको प्रयोग नगरी पानी पिउने कुरा असम्भव जस्तै बनिसकेको छ ।
यदि घरमै छौ भने जगमा,ग्लासमा पानी पिउने गरिन्छ तर घरबाट बाहिर निस्किएपछि बोतलको पानी नै सर्वाधिक प्रयोग हुन्छ । विशेषगरी शहरी क्षेत्रमा त यो सम्भव नै छैन । अधिकांशलाई लाग्छ बोतलकै पानी सबैभन्दा स्वस्थकर छ ।
तर, प्लास्टिकका बोतलसम्बन्धी एक अध्ययन अगाडि आएको छ । जसले तपाईँको होस उडाउँछ । किनकि यसमा भनिएको छ कि बोतलको पानी तपाईँको स्वास्थ्यका लागि कति खतरनाक छ ।
एक लिटर पानीको बोतलमा औसत २ लाख ४० हजार प्लास्टिकका कण पाइन्छन् । बोतलमा पाइने प्लास्टिकका टुक्राले शरीरलाई एकदमै दूषित बनाइरहेका छन् । किनकि यी शरीरको महत्त्वपूर्ण अङ्गमा गएर जम्मा भइरहेका हुन्छन् ।
न्युयोर्क पोस्टमा प्रकाशित एक लेखका अनुसार प्लास्टिकको बोतलको पानी पिउनाले रक्तचाप अनियन्त्रित हुने देखाएको छ । यो अध्ययन अस्ट्रियाको ड्यान्युब प्राइभेट युनिभर्सिटीमा गरिएको हो ।
यस अध्ययनमा प्लास्टिकको बोतलबाट पानी पिउँदा प्लास्टिकका स–साना कणहरू पानीमा मिसिन्छन् र त्यसपछि पानीको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने गरेको पाइएको थियो ।
यी प्लास्टिक कणहरूलाई माइक्रोप्लास्टिक भनिन्छ । यिनीहरू हाम्रो शरीरको रक्तप्रवाहमा प्रवेश गर्छन् र लामो समयसम्म रगतमा रहँदा यसले हाम्रो रक्तचाप अनियन्त्रित गराउने काम गर्दछ । विशेषगरी रक्तचाप उच्च बनाउने समस्या देखिएको विज्ञहरूले बताएका छन् ।
युनिभर्सिटीले केही व्यक्तिमाथि अनुसन्धान गरेको थियो, जसमा उनीहरूले केही मानिसहरूलाई प्लास्टिकको बोतलको पानी एक हप्तासम्म पिउन निषेध गरेका थिए ।
एक सातापछि प्लास्टिकको बोतलको पानी पिउनेको तुलनामा बोतलको पानी नपिउनेहरूको रक्तचाप कम भएको देखिएको थियो ।
यस्तै केही वर्षअघि वैज्ञानिकहरूले नियमित प्लाष्टिकको बोतलमा पानी पिउने व्यक्तिको शरीरमा एक सातामै करिब ५ ग्राम माइक्रोप्लास्टिक प्रवेश गर्ने दाबी गरेका थिए । जुन स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ । यसले रक्तचाप मात्र बढाउँदैन मुटुको समस्या र क्यान्सरको जोखिम पनि बढाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया