मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

कलेजोमा बोसो जम्न नदिन कस्तो जीवनशैली अपनाउने?

कलेजो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग पनि हो । यसले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ ।

कलेजोको मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ । तर प्रोटिनको कमीले कलेजोको कोषिकाहरुमा बोसो जम्ने समस्या आउन सक्छ । यदि शरीरमा प्रोटिनको कमी भयो भने कलेजोमा बोसो जम्ने समस्या बढ्न सक्छ ।

जसले गर्दा कलेजो सुन्निने, घाउ हुने र कलेजोले काम नै गर्न नसक्ने अवस्था आउन सक्छ । यो(फ्याटी लिभर)को समस्या मोटोपन, मादकपदार्थ सेवन धेरै गर्ने व्यक्तिहरुमा हुन सक्छ । पछिल्लो पुस्ताहरुको खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने फ्याटी लिभरको समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्‍याउँछ ।

यसकारण ‘कलेजोमा बोसो जम्ने समस्या के हो ?, के कारणले यो समस्या निम्तन्छ ? यसबाट बच्न कस्तो जीवनशैली अपनाउने ?’ लगायतका सन्दर्भमा वीर अस्पतालमा कार्यरत डा. भुवनेश्वर यादवसँग जोय नेपालको लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

कलेजोमा बोसो जम्ने अर्थात् फ्याटी लिभर कस्तो समस्या हो ?

सामान्यतया कलेजोमा ५ प्रतिशत बोसोको मात्रा रहन्छ । तर जब कलेजोमा बोसोको मात्रा ५ प्रतिशत माथि बढ्दै जान्छ यहि नै कलेजोमा बोसो जम्ने अर्थात् फ्याटी लिभर हो । कलेजोमा बोसो जम्नु नै फ्याटी लिभरको समस्या हो ।

यसका प्रकारहरु पनि हुन्छन् ?

यो दुई प्रकारको हुन्छ । मोटो मानिसहरुमा हुने फ्याटी लिभर र दुब्लो–पातलो मानिसहरुमा हुने फ्याटी लिभर ।

यस्तो समस्या हुनुको मुख्य कारण के हो ?

कलेजोमा बोसो जम्ने समस्या हुनुको मुख्य कारण भनेको मोटोपना नै हो । डायबिटिज भएका कारण व्यायामको कमी, अस्वस्थ जीवनशैली, बढी मात्रामा फास्ट फुडको प्रयोग नै यसका कारणहरु हुन् । 

यसका लक्षणहरु के–कस्ता हुन्छन् ?

यसका लक्षण्हरु प्रायः प्रष्ट रुपमा देखिँदैनन् । अन्य रोगहरु लागेर अस्पतालमा चेकजाँचका लागि आउँदा अल्ट्रासाउन्डमा फ्याटी लिभरको समस्या देखापरिरहेको हुन्छ ।

कहिलेकाहीँ भने कलेजोको छेउमा भारी हुने, कहिले थिचेजस्तो हुने, पेट दुख्ने, जण्डीस हुने लगायतका सामान्य लक्षणहरु देखापर्छन् ।

यसबाट जोगिन कस्तो जीवनशैली अपनाउनुपर्छ ?

मुख्यकुरा मोटोपन घटाउनु र नियन्त्रण गर्नुपर्छ । बाहिरको खानेकुराहरु र चिल्लो खानेकुरा बन्द गर्नुपर्छ । डायबिटिज भएका व्यक्तिहरुले यसलाई कन्ट्रोल गरेर राख्नुपर्छ ।

यसको समयमा पहिचान, उपचार गरिएन भने के–कस्ता जटिलताहरु निम्तिन सक्छन् ?

अहिले फ्याटी लिभरको समस्या विश्वव्यापी रुपमा बढिरहेको छ । यसको समयमा पहिचान भएन भने लिभर क्यान्सर हुने, सिरोसिस हुने, लिभर बिगार्ने जस्ता जटिलता निम्तन सक्छ । कलेजोमा बोसो जम्मा हुँदा कलेजोको कार्यक्षमता पूर्ण रूपमा प्रभावित हुन्छ र यसका कारण कलेजोले काम गर्दैन । यसको उपचार गरिएन भने यसबाट पीडित व्यक्तिलाई लिभर सिरोसिसको समस्या हुन सक्छ । लिभर सिरोसिस हुँदा खानाको नलीको नशा फुटेर मुखबाट रगत आउने, बेहोसपन, शरीरमा प्रोटिनको कमी भएर हातखुट्टा सुन्निने, पेटमा पानी भरिने र फ्याटी लिभरको समस्या बढ्दै जाँदा क्यान्सर लगायतका गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

कुन उमेर समूहका व्यक्तिहरुमा यो समस्या बढी मात्रामा देखा पर्छ ? 

बच्चाहरुमा यो रोग देखापर्दैन । मुख्यगरी ३० देखि ५० वर्ष उमेरका वयस्क मानिसहरुमा यो समस्याले सताउँछ ।

यसको उपचार प्रणाली कस्तो छ ?

फ्याटी लिभरको समस्या देखिनसाथ औषधीकै सेवन गर्नुपर्छ भन्ने हुँदैन । मुख्यकुरा फ्याटी लिभर भएको छ महिनाभित्रमा तपाईंले तौल नियन्त्रण गर्नुभयो भने यो समस्या आफैं घट्दै जान्छ । स्वस्थ जीवनशैली, खानामा चिल्लो कम र लिभरलाई संक्रमण हुनबाट बचाएर फ्याटी लिभर तथा यसको जटिलताबाट जोगिन सकिन्छ । त्यस्तै, फ्याटी लिभर हुनबाट बच्ने एक उपाय मदिरा सेवन नगर्नु पनि हो ।

विशेषगरी कलेजोमा समस्या धुम्रपान र मधपान गर्ने व्यक्तिहरुमा बढी हुन्छ भन्ने हाम्रो आम बुझाइ छ ? यसमा कति सत्यता छ ?

धुम्रपान सेवनले फ्याटी लिभरको समस्या हुने होइन । रक्सी सेवन गर्ने मानिसहरुमा भने अल्कोहलिक लिभर डिजिज हनसक्छ । किनकी रक्सीले पनि कलेजोमा बोसो जमाउने काम गर्छ । कलेजोमा बोसो जम्न नदिन चिल्लो र कार्बोहाइड्रेट कम भएको खानेकुरा खानुपर्छ । मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचापको समस्या भएकालाई यो समस्याले पनि सताउन सक्ने भएकाले उनीहरूले मधुमेह, उच्च रक्तचाप र मोटोपन नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ ।

फ्याटी लिभरको प्रारम्भिक चरणमा बिरामीमा कुनै लक्षण देखिँदैन । बिरामीले अन्य कुनै स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार सिटी स्क्यान गर्दा फ्याटी लिभर भएको देखिन्छ । त्यसैले मोटोपन, कोलेस्टेरोल, मधुमेह र उच्च रक्तचापको समस्या भएको व्यक्तिले समय–समयमा स्वास्थ्य जाँच गरिरहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?