मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रजतपट

पुरानो लफडाले ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ एकै दिन रिलिज, माग्ने बूढा भन्छन्– वार्ताबाट हल हुन्छ

काठमाडौँ– यसपटकको दशैँको अवसर पारेर हरेक हप्ता नेपाली फिल्म रिलिज हुँदैछन् । साउनमा कुनै पनि फिल्म राम्रो व्यापार गर्न नसके पनि भदौमा भने केही फिल्मले राम्रो व्यापार गर्ने आँकलन गरिएको छ ।

यसपालिको दशैँमा ठूला ब्यानरमा फिल्म एकसाथ प्रदर्शन हुने भएपछि फिल्म वृत्तमा चर्चा चुलिएको छ । त्यसो त ठूला मेकरले फिल्म जुधाउनु नेपाली मेकरको पुरानै रोग हो ।

अहिलेसम्म रिलिज मिति तोकिएका फिल्ममध्ये ‘छक्का पञ्जा ५’, ‘बेहुली फ्रम मेघोली’, ‘बाह्र गाउँ’, ‘आउट ल: दफा २१९’ लगायतका फिल्मले व्यापक चर्चा कमाएका छन् ।

यी फिल्म दशैँको अवसर पारेर आउने भए पनि ‘छक्का पञ्जा ५’ सँग जितु नेपालको ‘ज्वाइँ साब’ एकै मितिमा रिलिज हुने भएका छन् । मङ्गलवार ‘ज्वाइँ साब’ निर्माण टिमले फिल्मका पोस्टर सार्वजनिक गर्दै निर्माण मितिबारे जानकारी गराएको थियो ।

‘छक्का पञ्जा’ टिमले भने यसअघि फिल्म फ्लोरमै नजाँदै यसको रिलिज मिति दशैँका लागि तय गरेको थियो ।

यद्यपि कतिपयले भने ‘ज्वाइँ साब’ को यो कदमलाई चर्चा बटुल्ने तरिकाका रुपमा व्याख्या गरेका छन् । निर्माण टिमले चर्चामा आउनका लागि फिल्म जुधाएको तर सो मितिमा रिलिज नगर्ने मनसाय बनाएको कतिपयको तर्क छ ।

यसैबीच ‘छक्का पञ्जा ५’ का कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले हास्य कलाकारहरुका बीचमा यस्तो द्वन्द्व अहिलेसम्म कहिल्यै नभएको र यसको समाधान गरिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हास्य कलाकारहरुका बीचमा यस्तो द्वन्द्व अहिलेसम्म कहिल्यै भएको छैन र यो पनि वार्ता र संवादका माध्यमबाट हल हुनेछ ।’

जितु नेपाल र ‘छक्का पञ्जा’ टिम पहिले एउटै समूहमा रहे पनि केही वर्षयता यी दुईबीच त्यति राम्रो सम्बन्ध नभएको बताइन्छ । यसअघि जितु नेपालले सञ्चालन गरेको ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रमका सिलसिलामा दीपाश्री निरौला र जितु नेपालबीच लफडा भएको थियो ।

विवादको जड के थियो भने अभिनेता राजेश हमाललाई ‘महानायक’ मान्ने कि नमान्ने भन्ने विषयमा दीपाले अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिपछि दीपाश्री निरौलाको सामाजिक सञ्जालमा व्यापक विरोध भयो ।

पछि दीपाश्री निरौलाको समर्थन गरेको भन्दै दीपकराज गिरीलाई पनि ‘महानायक’ को ट्याग दिँदै दर्शकले गाली गरेका थिए ।

चौतर्फी विरोधपछि जितु नेपालले कार्यक्रममा आउने विज्ञापनमा असर पर्न सक्ने भन्दै उनलाई हटाएको चर्चा चलेको थियो । तर जितुले भने सल्लाहमा नै दीपाश्री निरौलाले छाडेको बताएका थिए ।

त्यतिबेला दीपाश्री निरौला उक्त कार्यक्रमको अध्यक्षको भूमिकामा थिइन् । पछि उनको ठाउँमा करिष्मा मानन्धरलाई ल्याइएको थियो ।

त्यसपछि जितु र दीपाले छुट्टाछुट्टै गुटमा काम गर्न थालेका थिए । यी दुई समूहको विवाद बाहिरबाट हेर्दा सामान्य देखिए पनि एकै दिन रिलिज मिति तोक्नुले फेरि चर्चामा ल्याएको छ । तर, जितुले भने सोमवार फिल्म ‘छक्का पञ्जा ५’ टिमलाई बधाई दिँदै फिल्मको गीत सामाजिक सञ्जालमार्फत शेयर (साझा) गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?