काठमाडौँ– दक्षिण कोरियाको लोकप्रिय के–पप ब्याण्ड ‘ब्ल्याकपिङ्क’ का संसारभर करोडौँ फ्यान छन् । छोटो समयमा नै गीत सङ्गीतमार्फत विश्वभर ख्याति कमाएको यो ब्याण्डको ‘म्युजिकल फिल्म’ समेत रिलिज भइरहेको छ ।
सामाजिक सञ्जालमा पनि गर्ल ग्रुपको यो टिमलाई खुबै रुचाइएको छ । भिडियो स्ट्रिमिङ साइट युट्युबमा यो ब्याण्डका ९ करोडभन्दा बढी फलोअर्स छन् भने फेसबूक र एक्समा पनि करोडौँले फलो गरेका छन् ।
यो ब्याण्डका कैयन् गीत रिलिज हुनासाथ ट्रेडिङमा आउँछन् । नेपालमा समेत ‘ब्ल्याकपिङ्क’ का लाखौँ फ्यान छन् । र, नयाँ गीत रिलिज हुँदा नेपालमा समेत ट्रेण्डिङ हुन्छन् ।
आज हामीले छोटो समयमै नै लोकप्रियता कमाएको यही ब्याण्डका बारेमा जानकारी दिँदैछौँ ।
के हो ब्ल्याकपिङ्क ?
चार कलाकार सम्मिलित यो ब्याण्ड वाईजी इन्टरटेनमेन्ट कम्पनीको मातहतमा छ । जेनी, जिसो, लिसा र रोसे सम्मिलित ब्ल्याकपिङ्कले सन् २०१६ मा ‘स्क्वायर वान’ एल्बमबाट केपपमा डेब्यु गरेको हो ।
यो एल्बममा सम्मिलित ‘बुम्ब्याह’ गीत रिलिज भएलगत्तै बिलबोर्डको नम्बर १ मा पुगेको थियो ।

त्यसयता ब्ल्याकपिङ्कले अनेकौँ एल्बम र सिंगल गीतहरु सार्वजनिक गर्दै आएको छ । ‘किल दिस लभ’, ‘हाउ यू लाइक द्याट’, ‘डु–डु डु–डु’ जस्ता सुपरहिट गीतहरुबाट यो ब्याण्डले लोकप्रियताको शिखर चुम्न सफल भएको छ ।
सन् २०१८ मा ‘डु–डु डु–डु’ रिलिज भएको २४ घण्टामा सबैभन्दा धेरै हेरिएको केपप म्युजिक भिडियो बन्न सफल भएको थियो । यो गीतको भिडियो युट्युबमा सबैभन्दा पहिले १ अर्ब भ्युज भएको केपप भिडियो पनि बन्न सफल भयो । त्यसबाहेक सन् २०१९ मा रिलिज भएको ‘किल दिस लभ’ ले पनि २४ घण्टामा ५ करोड ६७ लाख भ्युज बटुल्दै कीर्तिमान राखेको थियो ।
सन् २०१९ मै ब्ल्याकपिङ्कले फोर्ब्सको ३० अण्डर ३० मा पर्ने पहिलो महिला केपप ब्याण्ड बनेर इतिहास रचेको थियो भने सन् २०२२ मा टाइम्सले यो ब्याण्डलाई इन्टरटेनर अफ द इयरको मान्यता दिएको थियो ।

ब्याण्डको स्थापना हुने बेला शुरुमा ‘पिङ्क पङ्क’ राख्ने प्रस्ताव आएको वाईजी इन्टरटेनमेन्टका संस्थापक याङ ह्युन सुकले बताएका छन् । सन् २०१७ मा एसबीएस रेडियोसँगको कुराकानी क्रममा उनले पछि मात्र यो ब्याण्डको नाम ‘ब्ल्याकपिङ्क’ जुरेको खुलासा गरेका हुन् ।
गुलाबी अर्थात् पिङ्क रंगलाई सुन्दरताको प्रतिक मानिन्छ । तर, पिङ्कको अगाडि कालो अर्थात् ब्ल्याक राख्दा यसले ‘सुन्दरतामात्रै सबैथोक होइन’ भन्ने सन्देश दिने वाईजी इन्टरटेनमेन्टको भनाइ छ ।
ब्ल्याकपिङ्क शब्दले ‘यो ब्याण्डमा सुन्दरतामात्रै नभएर ठूलो प्रतिभा पनि रहेको’ अर्थ लाग्ने उक्त कम्पनीको बुझाइ छ ।
सन् २०२० मा जिम्मी किमेललाई दिएको अन्तरवार्तामा यो ब्याण्डकी कलाकार रोजेले भनेकी छिन्, ‘यी दुई रंगले हाम्रो प्रतिनिधित्व गर्ने हाम्रो बुझाइ थियो, किनकी केटी भएपनि हामी धेरै उग्र छौँ भन्ने पनि बुझाउँछ ।’
ब्ल्याकपिङ्कका फ्यानहरु ‘ब्लिङ्क’ भनेर पनि चिनिँदै आएका छन् ।
सन् २०२२ मा ‘बर्न पिङ्क’ एल्बम रिलिज गरेको यो ब्याण्डले सोही नामबाट वर्ल्ड टुरमा निस्केको थियो । टुरका क्रममा ब्ल्याकपिङ्कले एशिया, युरोप र अमेरिकी महादेशका ६६ वटा स्थानमा प्रस्तुति दिएको थियो ।

२०२२, अक्टोबर १५ मा दक्षिण कोरियाली राजधानी सोलमा साङ्गीतिक प्रस्तुतिसँगै शुरु भएको यो टुर सन् २०२३ को सेप्टेम्बर १७ मा दक्षिण कोरियाको सोलमै अन्तिम प्रस्तुतिसँगै सम्पन्न भएको थियो ।
सो टुरका क्रममा यो ब्याण्डले अमेरिका, क्यानाडा, बेलायत, स्पेन, जर्मनी, फ्रान्स, डेनमार्क, नेदरल्याण्ड्स, थाइल्याण्ड, चीन, साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेशिया, इण्डोनेशिया, सिंगापुर, ताइवान, फिलिपिन्स, जापान, मेक्सिको, अस्ट्रेलिया, भियतनामजस्ता देशमा साङ्गीतिक प्रस्तुति देखाएको थियो ।
यी साङ्गीतिक प्रस्तुतिमा १८ लाखभन्दा धेरै फ्यानहरु सहभागी रहेका थिए भने यी शोहरुबाट १४ करोड ८३ लाखभन्दा धेरै आम्दानी भएको थियो ।
यसै टुरमा आधारित रहेर ‘बर्नपिङ्क’ कै नाममा कन्सर्ट फिल्म ३१ जुलाईदेखि सीमित हलहरूमा स्क्रिनिङ हुँदै आइरहेको छ ।
ब्याण्ड स्थापना भएको आठौं वर्ष पुगेको अवसरमा उक्त कन्सर्ट फिल्म ‘ब्ल्याकपिङ्क वर्ल्ड टुर: बर्नपिङ्क’ नेपालमा पनि यही शुक्रवार रिलिज हुने नेपाल वितरण कम्पनी बटरफ्लाई फिल्मले जानकारी दिएको छ ।
यो फिल्मको निर्देशन मिन गेउन र ओ युनडोंगले गरेका हुन् भने फिल्ममा ब्याण्डका सदस्यहरु जेनी, जिसो, लिसा र रोसेलाई चित्रण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया