मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यान्सरपीडित स्रष्टा चाम्लिङको उपचारार्थ सहयोग सङ्कलन

खोटाङ – क्यान्सरपीडित गीतकार, कवि एवं प्राज्ञ टीका चाम्लिङको उपचारका लागि हङ्कङमा करिब रु छ लाख आर्थिक सहयोग जुटेको छ । खोटाङ सेवा समाज हङ्कङको पहलमा रु पाँच लाख ७३ हजार पाँच सय सहयोग रकम जुटाइएको जनाइएको छ ।

उक्त रकम किरात राई साँस्कृतिक कलाकार सङ्घ नेपालको रोहबरमा हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा किरात राई साँस्कृतिक कलाकार सङ्घले सङ्कलन गरेको रु २८ हजार ६० समेत प्रदान गरेको जनाइएको छ ।

खोटाङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका स्रष्टा चाम्लिङको उपचारका लागि खोटाङ सेवा समाज हङ्कङका उपाध्यक्ष धर्मराज राईको संयोजकत्वमा सहयोग सङ्कलन अभियान थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला निवासी प्राज्ञ कवि तथा वरिष्ठ गीतकार चाम्लिङको क्यान्सर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

गीतसँगै कविता तथा कथा÷समालोचनामा उत्तिकै कलम चलाउँदै आएका चाम्लिङ नेपाल प्रज्ञा–प्रतिष्ठान, गीतकार सङ्घ नेपाल, बेलायती प्रतिभा प्रष्ठिानलगायतमा आबद्ध छन् । चाम्लिङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार हात पारिसकेका छन् ।

चाम्लिङको उपचारका लागि खोटाङ कलाकार समाजकातर्फबाट दुई पटक गरी रु चार लाख ८५ हजार तीन सय ६६ सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिए । “सहयोग सङ्कलन अभियान जारी छ । अहिले फेरि करिब रु तीन लाखजति सङ्कलन भइसकेको छ”, उनले भने ।

चाम्लिङले ‘हर्कजङ्ग–छलिशोभा किरात कला पुरस्कार-२०८१’ प्राप्त गरेका छन् । कला संस्कृति संरक्षक मनिकुमार राईले आफ्नो स्व बुबाआमाको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट रु २३ हजार तीन सय ३३ राशिको पुरस्कार चाम्लिङको काव्य कृति ‘बागी कविता’लाई प्रदान गरिएको हो ।

किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्यसमितिको मातहतमा रहनेगरी विसं २०६८ मा स्थापना गरिएको पुरस्कार सङ्घको १९औँ स्थापना दिवसमा प्रदान गरिएको महासचिव पदम थुलुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?