मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

एमआईटीदेखि हार्वर्डसम्म: यी हुन् विश्वका सबैभन्दा उत्कृष्ठ ठानिएका दश विश्वविद्यालय

काठमाडौँ- शिक्षा नै जीवनको आधार हो । अहिलेको समयमा ज्ञान विवेक र रोजगारी मात्रै होइन, शिक्षाको स्तरले कुनै मान्छेको मान प्रतिष्ठा पनि निर्धारण गर्छ । शिक्षा भए सबैतिर अवसर नै अवसर भेटिन्छ भने शिक्षा नहुँदा आएको अवसर पनि गुम्ने हुन्छ ।

अहिले सबै अभिभावक आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन् । अझ अहिले त नेपालमा राम्रो शिक्षा दिनकै लागि छोराछोरीलाई विदेशका ठूला कलेज र विश्वविद्यालयमा भर्ना गर्ने चलन नै चलेको देखिन्छ । आज हामी संसारका १० सबैभन्दा उत्कृष्ट विश्वविद्यालयका बारेमा चर्चा गर्न चाहन्छौँ ।

बेलायती शैक्षिक परामर्शदाता कम्पनी क्वाकारेल्ली सिमन्ड्स (क्यूएस) ले विश्वभरका विश्वविद्यालयको वरियता सार्वजनिक गर्दै आएको छ । क्यूएसले जारी गरेको यसै वरियताका आधारमा हामी विश्वका १० उत्कृष्ट विश्वविद्यालयका बारेमा चर्चा गर्दैछौँ ।

विश्वका १० उत्कृष्ट विश्वविद्यालयको सूचीमा बेलायत र अमेरिकाका समान ४ वटा विश्वविद्यालय परेका छन् ।

त्यसैगरी यो सूचीमा सिंगापुर र स्विट्जरल्याण्डका पनि एक एक वटा विश्वविद्यालय समेटिएका छन् । आखिर कुन हुन् त संसारका सबैभन्दा उत्कृष्ट विश्वविद्यालय ?

मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)

क्यूएसको विश्वविद्यालय वरियतामा मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) शीर्ष स्थानमा रहेको छ । अमेरिकाको मासाचुसेट्स राज्यको क्याम्ब्रिजमा रहेको एमआईटीलाई क्यूएसले कुल १०० अंकमा शत प्रतिशत अंक दिएको छ । त्यसैगरी, ‘एकेडेमिक रेपुटेसन’ र ‘साइटेसन्स पर फ्याकल्टी’ मा पनि यो विश्वविद्यालयले १०० मा १०० अंक ल्याएको छ ।

इम्पेरियल कलेज लण्डन

विश्वको सबैभन्दा उत्कृष्ट विश्वविद्यालयको सूचीमा इम्पेरियल कलेज लण्डन दोस्रो नम्बरमा परेको छ । क्यूएसले बेलायतको राजधानी शहर लण्डनमा रहेको विश्वविद्यालयलाई कुल १०० मा ९८.५ अंक दिएको छ । त्यसैगरी, ‘एकेडेमिक रेपुटेसन’ शीर्षकमा यो विश्वविद्यालयले ९८.५ अंक प्राप्त गरेको छ । ‘साइटेसन्स पर फ्याकल्टी’ मा भने यो विश्वविद्यालयलाई ९३.९ अंक दिइएको छ ।

अक्सफोर्ड विश्वविद्यालय

सबैभन्दा उत्कृष्ट विश्वविद्यालयको सूचीमा बेलायतको अक्सफोर्ड विश्वविद्यालय तेस्रो स्थानमा परेको छ । बेलायतको अक्सफोर्डमा रहेको यो विश्वविद्यालयले १०० मा ९६.९ अंक प्राप्त गरेको छ । क्यूएसले ‘एकेडेमिक रेपुटेसन’ शीर्षकमा अक्सफोर्ड विश्वविद्यालयलाई १०० मा शत प्रतिशत अंक दिएको छ भने ‘साइटेसन्स पर फ्याकल्टी’ मा भने ८४.८ अंक मात्रै दिएको छ ।

हार्वर्ड विश्वविद्यालय

हार्वर्ड विश्वविद्यालय संसारकै सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयको वरियतामा चौथो नम्बरमा परेको छ । अमेरिकाको मासाचुसेट्स राज्यमा रहेको हार्वर्ड विश्वविद्यालयले कुल १०० मा ९६.८ अंक पाएको छ । एकेडेमिक रेपुटेसन र साइटेसन्स पर फ्याकल्टी शीर्षकमा क्यूएसले यो विश्वविद्यालयलाई शत प्रतिशत अंक दिएको छ ।

क्याम्ब्रिज विश्वविद्यालय

विश्वका सबैभन्दा उत्कृष्ट विश्वविद्यालयको सूचीमा बेलायतको क्याम्ब्रिजले पाचौँ स्थान हासिल गरेको छ । बेलायतको क्याम्ब्रिजमा रहेको यो विश्वविद्यालयले कुल १०० मा ९६.७ अंक पाएको छ । त्यसैगरी, क्यूएसले क्याम्ब्रिजलाई एकेडेमिक रेपुटेसन शीर्षकमा शत प्रतिशत अंक दिँदा साइटेसन्स पर फ्याकल्टी शीर्षकमा भने ८४.६ अंक दिएको छ ।

स्ट्यानफोर्ड विश्वविद्यालय

संसारका सबैभन्दा उत्कृष्ट विश्वविद्यालयको सूचीमा स्ट्यानफोर्ड विश्वविद्यालय छैठौँ स्थानमा परेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको स्ट्यानफोर्ड विश्वविद्यालयलाई क्यूएसले कुल १०० मा ९६.१ अंक दिएको छ । त्यसैगरी, एकेडेमिक रेपुटेसन शीर्षकमा यो विश्वविद्यालयले शत प्रतिशत र साइटेसन्स पर फ्याकल्टीमा ९९ अंक पाएको छ ।

फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी, ज्युरिच

स्विट्जरल्याण्डको फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी, ज्युरिच क्यूएसको उत्कृष्ट विश्वविद्यालयको वरियतामा सातौँ स्थानमा रहेको छ । क्यूएसले यो विश्वविद्यालयलाई कुल १०० मा ९३.९ अंक दिएको छ । त्यसैगरी, एकेडेमिक रेपुटेसन शीर्षकमा यो विश्वविद्यालयले ९८.८ अंक पाएको छ भने साइटेसन्स पर फ्याकल्टी शीर्षकमा ९७.९ अंक पाएको छ ।

सिंगापुर राष्ट्रिय विश्वविद्यालय

सिंगापुरको राष्ट्रिय विश्वविद्यालय क्यूएसको वरियतामा आठौँ स्थानमा परेको छ । क्यूएसले यस विश्वविद्यालयलाई १०० मा ९३.७ अंक दिएको छ । त्यसैगरी, एकेडेमिक रेपुटेसन शीर्षकमा सिंगापुर राष्ट्रिय विश्वविद्यालयले ९९.५ र साइटेसन्स पर फ्याकल्टी शीर्षकमा ९३.१ अंक पाएको छ ।

युनिभर्सिटी कलेज लण्डन

विश्वको सबैभन्दा उत्कृष्ट विश्वविद्यालयको सूचीमा युनिभर्सिटी कलेज लण्डन नवौँ स्थानमा रहेको छ । कुल १०० मा यो विश्वविद्यालयले ९१.६ अंक पाएको छ । त्यस्तै, क्यूएसले युनिभर्सिटी कलेज लण्डनलाई एकेडेमिक रेपुटेसन शीर्षकमा ९९.५ र साइटेसन्स पर फ्याकल्टीमा ७२.२ अंक दिएको छ ।

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्याल्टेक)

संसारका सबैभन्दा उत्कृष्ट १० विश्वविद्यालयको सूचीमा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्याल्टेक) पुछारमा रहेको छ । क्याल्टेकलाई क्यूएसले कुल १०० मा ९०.९ अंक दिएको छ । त्यसैगरी, एकेडेमिक रेपुटेसन शीर्षकमा यो विश्वविद्यालयले ९६.५ र साइटेसन्स पर फ्याकल्टीमा शत प्रतिशत अंक पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?