मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निरन्तर कानमा ‘इयरफोन’ लगाउँदा कस्तो असर पर्छ ?

प्रविधिको विकाससँगै अधिकांश व्यक्तिले पछिल्लो समय हेडफोन या इयरफोन प्रयोग गर्ने गर्छन् । कानमा इयरफोन लगाएर सुन्ने र काम गर्ने पनि कतिपयको बानी हुन्छ ।

इयरफोन सुनेर कुनै काम गर्नु पनि एक खालको लत नै हो । कतिपयलाई त रातमा गीत नसुन्ने हो भने निद्रा नै नलाग्ने समस्या पनि हुन्छ । अझ कतिले त कानमा इयरफोन नलगाइकन बस्नै नसक्ने अवस्था पनि हुन्छ भने कतिपयले यसलाई फेसनका रूपमा पनि अपनाएका हुन्छन् ।

तर, यसरी निरन्तर कानमा इयरफोन प्रयोग गर्नु राम्रो हो त? चिकित्सकहरू नियमित इयरफोन प्रयोग गर्दा कानमा समस्या हुने बताउँछन् । यसैबीच जोय नेपालका लागि सुस्मिता फुयाँलले नाक, कान, घाँटी रोग विशेषज्ञ डा. निरज रौनियार सँग कानमा इयरफोन लगाउँदा आइपर्ने समस्याका बारेमा कुराकानी गरेकी छिन् ।

इयरफोनको प्रयोग गर्नु कानको स्वास्थ्यका हिसाबले कति उचित हो ?

पहिलो कुरा त इयरफोन, हेडफोन जस्ता उपकरणहरुको प्रयोग सकभर नगर्ने र अत्यावश्यक भएको हकमा मात्रै प्रयोगमा ल्याउँदा राम्रो हुन्छ । अर्को मुख्य कुरा के छ भने हामीले इयरफोनको भोल्युम कति तेज बनाएर सुनेका छौँ र सानो आवाजमा बजाएका छौँ भन्ने कुराले इयरफोनले कानमा गर्ने असरको विषयमा प्रष्ट बनाउन सकिन्छ ।

यदि तपाईंलाई इयरफोनको प्रयोग गर्नैपर्ने अवस्था छ भने एकदमै सानो आवाज बनाएर गीत सुन्ने कुराकानी गर्ने गर्नुपर्छ । ठूलो आवाज त झनै सकेसम्म सुन्दै नसुन्नहोस् । यसले कानभित्र रहेका विभिन्न स्नायुलाई असर गरेर मान्छेले कानै नसुन्ने समस्यासम्म हुनसक्छ ।  इयरफोनमा ठूलो आवाजमा सङ्गीतहरु सुन्दा त्यसले कानको जालीलाई असर पार्छ । हामीलाई ठूलो आवाज सुन्ने बानी लाग्दै गएमा हामीले हाम्रो कानमा भएका संवेदनाहरु कम महसूस गर्ने हुन्छौँ ।

ठूलो आवाजमा इयरफोनमा गीत सुन्दा कस्तो किसिमको असर देखापर्छ ?

लामो समयसम्म इयरफोनमा आवाज सुनिरहँदा चक्कर लाग्ने समस्या बढी हुन्छ । ठूलो आवाज धेरैबेरसम्म सुन्दा त्यसले टाउकोमा असर गर्ने गर्छ । यस्तै, नियमित ठूलो स्वरमा आवाज सुन्ने तथा ठूलो आवाजमा बाहिरै पनि गीन बजाउँदा मान्छेको स्थायी तथा अस्थायी श्रवणशक्ति गुम्ने जोखीम बढी हुन्छ । कानमा धेरै कोषिकाहरू हुन्छन् ।

कपालको कोषिका भनेर चिनिने सानो कपाल जस्तो संरचनाहरू छन् जसले कानबाट मस्तिष्कसम्म ध्वनि प्रवाह गर्ने काम गर्छन् । धेरै ठूलो आवाजले यी कोषिकामा गम्भीर समस्या निम्त्याउन सक्छ, जसले ध्वनि प्रसारणको सम्पूर्ण प्रक्रियामा बाधा पुर्‍याउँछ । नियमित इयरफोन वा हेडफोनहरू लगाउँदा कानभित्र हावा छिर्ने मार्गमा अवरोध सिर्जना हुन्छ ।

यो अवरोध नै कानको संक्रमणको सामान्य कारण बन्न सक्छ । इयरफोन प्रयोग गर्दा कानमा ब्याक्टेरियाको विकास हुन्छ । हेडफोन प्याकमा त्यसैले पनि चेतावनीको संकेत राखिएको हुन्छ । यदि इयरफोनको प्रयोग बढ्यो भने यसले कानमा संक्रमणको जोखीम बढाउन सक्छ । हानिकारक ब्याक्टेरिया तपाईंको कानबाट इयरफोन चलाउने अर्को व्यक्तिमा सर्ने भएकोले इयरफोन सकेसम्म अर्को व्यक्तिलाई चलाउन दिनु हुँदैन । दैनिक लामो समयसम्म इयरफोन प्रयोग गर्दा कान दुख्ने समस्या सबैभन्दा धेरै देखिन्छ । प्राकृतिकभन्दा धेरै आवाज इयरफोनको माध्यमबाट कानसम्म पुग्छ भने यसले उपकरणमार्फत उत्पादन हुने आवाजलाई प्राकृतिक रुपमा सहजै स्वीकार्न सक्दैन । बाहिरी कानमा अत्याधिक दबाब पर्ने र कानको पर्दामा पर्ने असरले पनि कान दुख्ने समस्या बढ्ने गर्छ । इयरफोनहरु धेरै साना भएपनि यसबाट निस्कने आवाजले तपाईंको कानको पर्दामा ठूलो नकारात्मक प्रभाव पार्न सक्छ ।

ध्वनि कानबाट मस्तिष्कसम्म पुग्छ र यसले स्नायु प्रणालीलाई असर गर्छ । जसले गर्दा मान्छेको कुनैपनि कुरामा गहिराइमा ध्यान दिने र एकाग्र बन्ने क्षमतामा कमी आउँछ । साथै लामो समयसम्म इयरफोनबाट गीत सुन्ने या अरु ठूलो आवाज सुनिरहँदा नाक, कान, घाँटीमा इन्फेक्सन हुने गर्दछ । कानसँगै नाक र घाँटीमा पनि विविध समस्याहरु देखापर्छ ।

यसको असर सबै उमेर समूहमा एकै हुन्छ कि बालक, वयस्क र वृद्धवृद्धामा फरक–फरक हुन्छ ?

यसको असर उमेर अनुसार फरक हुन्छ । बालबालिकाहरुको हकमा यसको प्रयोग गर्दा उनीहरुको मानसिक विकास राम्ररी हु्न पाउँदैन । उनीहरु हेडफोन र इयरफोनको लतमा परेपछि बाहिरी समाज, साथी र परिवारकै हकमा पनि कम खुल्ने हुन्छन्, उनीहरु एकोहोरो प्रवृत्तिका बन्छन् । यसकारण बालबालिकाहरुलाई यसको प्रयोग कमै मात्रामा गर्न दिनुपर्छ । यस्तै वयस्कको हकमा भने उनीहरु यो उमेरमा काम र पढाइमा व्यस्त हुन्छन् ।

खासै इयरफोनको प्रयोग गर्ने समय र वातावरण मिललिरहेको हुँदैन । तर वयस्कले पनि यसको धेरै प्रयोग गर्दा कान कम सुन्ने, अरुसँग कुरा गर्ने नरुचाउने जस्ता समस्या हुनसक्छ । यस्तै, बुढेशकालमा इयरफोन र हेडफोनको प्रयोग गर्दा उसै पनि ४० वर्ष पार गरेका व्यक्तिहरुको श्रवण शक्ति अन्य कम उमेरका मानिसको तुलनामा ४० प्रतिशत कम भइसकेको हुन्छ र यी उपकरणहरुको प्रयोग गर्दा झन सुनाइमा समस्या आउनसक्छ ।

हेडफोनको प्रयोग दिनमा कति समय गर्ने ? कसरी सावधानी अपनाउन सकिन्छ ?

सामान्यतया १५–२० मिनेट भन्दा बढी समय लगातार हेडफोन र इयरफोनको प्रयोग गर्नुहुँदैन । दिनभर इयरफोन लगाएर गीत सुन्ने, फोनमा कुरा गर्ने काम त गर्दै नगर्नुहोस् । धेरैमा एक घण्टा प्रयोग गरेपछि कानलाई पनि विश्राम दिनुहोस् । इयरफोनमा गीत सुन्दा र कुरा गर्दा अडियो भोल्युम भनेको जस्तैः फुल साउन्ड पन्ध्र छ भने सात–आठ सम्म मात्रै बनाएर सुन्नुपर्छ । रातभर कानमा इयरफोन लगाएर सुत्ने भुल कहिले नर्गनुहोस् ।

इयरफोन र हेडफोनमा कुन उपकरणले बढी कानमा समस्या ल्याउँछ ? तपार्इं यी दुईमध्ये कुन प्रयोग गर्न सझाव दिनुहुन्छ ?

इयरफोन भनेको कानभित्रै जालिको छेउमा राखिने उपकरण हो । तर हेडफोन भनेको कानको बाहिरी आवरणमा राखेर गीत सुन्ने गरिन्छ । यसो हुँदा के हुन्छ भने यदि तपाईंको अडियोको साउन्ड एक्कासी ठूलो भयो या कसैले भोल्युम बटममा प्रेस गरेर अत्याधिक ठूलो बनाइदियो भने इयरफोन लगाएको हकमा यसले कानलाई निकै असर गर्ने हुन्छ ।

कानको श्रवण शक्तिमा ह्रास आउन सक्छ तर यदि हेडफोन प्रयोग गर्नुभएको छ भने चर्को आवाज पनि कानभित्रै नपुगेर कानको वरीपरी मात्रै गुञ्जिएर जाने गर्छ । यसो हुदाँ हेडफोनको प्रयोग अलि सुरक्षित हुन्छ । इयरफोन धेरै समय कानमा लगाउँदा कान दुख्ने, बाहिरी आवाज नै निकै कम सुनिने जस्तो समस्या हुनसक्छ । हेडफोनको प्रयोगले इयरफोनले जति समस्या निम्त्याउँदैन ।

कस्ता व्यक्तिहरुले इयरफोनको प्रयोग गर्नु हुँदैन?

जन्मजात कान कम सुन्ने समस्या भएका, कानबाट पिप रगत आउने समस्या भएका, बालबालिका र उमेर ढल्किएका बुढा व्यक्तिहरुले इयरफोनको प्रयोग गर्नु हुँदैन । 

के इयरफोन लगातार प्रयोग गर्ने व्यक्तिमा मनोवैज्ञानिक तथा मानसिक असर पर्छ ?

पक्कै पनि यो मानसिक समस्यासँग सम्बन्धीत हुन्छ । उदाहरणका लागि यदि कोही एक व्यक्तिले दैनिक लामो समय यसको प्रयोग गर्छ भने उसमा एकोहोरो स्वभाव देखापर्छ । उक्त व्यक्ति अन्य व्यक्तिहरुसँग बोल्न र खुल्न रुचाउँदैन । ऊ सधै आफ्नै धुनमा रहन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?