काठमाडौँ – आगामी मङ्सिर पहिलो साता कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको सय दिने काउन्टडाउन शुरु भएको छ ।
स्थानीय आयोजक कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले शनीबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा लोगो र मस्कटसहित सय दिने दिनको काउन्टडाउन सार्वजनिक गरेको हो ।
प्रस्तावित लोगोमा सातवटा रंगमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अङ्कित लोगो राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्तावको रूपमा पठाइएको छ । उक्त लोगोको रचयिता भने विकास तमखु रहेका छन् ।
यस्तै कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ ।
यस्तै कर्णाली प्रदेशले सार्वजनिक सूचनामार्फत कर्णाली खेल गीतको शब्द रचना तयार गरी सङ्गीत गरिएको गीतको समेत शनिबार मन्त्री भण्डारीले सार्वजनिक गरेका थिए ।
उक्त कर्णाली खेल गीतका शब्द रचनाकार जाजरकोटका रामकुमार शाही ‘क्षितिज समर्पण’ रहेका छन् भने उक्त गीतमा सङ्गीत सन्तोष श्रेष्ठले गरेका छन् ।
दशौं राष्ट्रिय खेलकुद मङ्सिर २ देखि ९ गतेसम्मका लागि तय भएको छ । प्रतियोगिताको मुख्य आयोजना स्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
यस्तै हुम्लामा हक्की खेल मैदान, रारामा कबड्डीको खेल मैदान र जुम्ला, कालीकोट, दैलेख र रुकुम पश्चिममा इनडोर कवर्डहल तयार भएको छ
जाजरकोटमा टेबल टेनिसको लागि खेल पूर्वाधार तयार रहे पनि केही मर्मत सुधार गर्नु पर्नेछ । प्रतियोगितामा ३६ वटा खेलहरू समावेश भए पनि पूर्वाधार अभावकै कारण दशौं राष्ट्रिय खेलकुदमा २४ खेल मात्र हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया