मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुस्तक

पठन मोह: यी हुन् हालै सार्वजनिक भएका नयाँ कृति

काठमाडौँ– पछिल्लो समय बजारमा नेपाली साहित्यका नयाँ नयाँ कृतिहरु आइरहेका छन् । पछिल्लो समय लेखन बजार फराकिलो बन्दै गएको देखिन्छ ।

केही वर्षयता पुस्तक लेखेर पनि जीविकोपार्जन गर्न सक्ने अवस्था बनिसकेको छ । प्रकाशन गृहले पनि नयाँ लेखकका पुस्तक समेत प्रकाशित गरिरहेका छन् ।

यसैबीच हामीले हालै बजारमा सार्वजनिक भएका केही पुस्तकका बारेमा जानकारी दिन गइरहेका छौँ ।

महिला आन्दोलनको सहखोजी

‘महिला आन्दोलनको सहखोजी’ पुस्तकमा महिलावादी दृष्टिकोणका साथै नेपाली महिला इतिहासको दस्तावेजीकरण गरिएको छ । पुस्तकमा महिलाका हरेक कोणबाट विषयवस्तु समावेश भएका छन् ।

पुस्तक द स्टोरी किचन, सन्धानको आयोजना र त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभागको सहकार्यमा प्रकाशित भएको हो । पुस्तकमा २१ जना पत्रकारहरूका २२ वटा विभिन्न विषयका लेखहरु समावेश गरिएको छ ।

 विशृङ्खलित सपना

कथाकार गोपी मैनालीको कथा संग्रह ‘विशृङ्खलित सपना’ हालैमात्र राजधानीमा सार्वजनिक भएको हो । सङ्ग्रहमा सामाजिक विषयवस्तलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।

कृतिमा मानवीय संवेदना र अनुभूतिलाई समेत सूक्ष्म रुपमा समेटिएको छ । यसअघि उनका ‘अवसाद अभिनयी(निबन्धसङ्ग्रह),’ ‘आँखाभरी रमिता मनभरी वेदना(नियात्रा दैनिकी),’ ‘घाउ आफैंलाई दुख्छ (निबन्धसङ्ग्रह)’ लगायतका कृतिहरु प्रकाशित भएका छन् ।

देशभक्त राजनेता कीर्तिनिधि विष्ट

हालै सार्वजनिक भएको पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको जीवन र संघर्षका बारेमा लेखिएको पुस्तक ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’लाई नईं प्रकाशनले प्रकाशन गरेको हो । पुस्तकमा पूर्वप्रधानमन्त्री विष्टको राजनीतिक जीवनको योगदान, राष्ट्रप्रति उनको प्रेम, राष्ट्रियता, उच्च नैतिक छवि, इमान र जमानको चित्रलाई उतारिएको छ ।

पुस्तकमा जीवनी र संस्मरण खण्ड समावेश छन् । नईं प्रकाशनको एक सय ८३ औं कृतिमा रुपमा आएको पुस्तकमा प्रधानमन्त्री केपी शर्मा वली, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, सिपी मैनाली, पशुपतिशमशेर राणा, कमल थापा, भद्रकुमारी घलेलगायत ६९ जना व्यक्तित्वहरुले विष्टका सन्दर्भमा संस्मरण लेख लेखेका छन् ।

युवाको इतिहास

लेखक सुनल चुदालीको पुस्तक ‘युवाको इतिहास’ हालै सार्वजनिक भएको हो । आठराई प्रकाशनले प्रकाशन गरेको पुस्तकमा युवा आन्दोलन तथा परिवर्तनका लागि युवाहरूको भूमिका समेटिएको छ । 

गणेशकवि श्यामदास वैष्णव

‘गणेशकवि : श्यामदास वैष्णव’ नेपाली साहित्यका धरोहर श्यामदास वैष्णवको जीवनीलाई समेटिएको पुस्तक हो । साहित्यकार नरेन्द्रराज प्रसाईंद्वारा लिखित कृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध पनि सविस्तार खुलाइएको छ ।

उनले कवि सिद्धिचरण श्रेष्ठलाई युककवि, लक्ष्मी प्रसाद देवकोटालाई महाकवि पदवी दिलाउन र विजय मल्ल, गोविन्द गोठाले, पारिजात, वानिरा गिरी जस्ता साहित्यका स्रष्टालाई माथि उठाउने काम गरेका थिए । कृतिलाई नई प्रकाशनले प्रकाशन गरेको हो ।

पहेँलो छाता

प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लड्की’ आख्यानलाई नेपाली अनुवाद गरिएको ‘पहेंलो छाता’ पुस्तकलाई हालै मात्र चितवनमा सार्वजनिक गरिएको हो ।

पुस्तकलाई नेपाली अनुवाद आख्यानकार मीनराज बसन्तले गरेका हुन् । भारती उपमहाद्वीपको जातीय र भाषिक मुद्दालाई कलात्कमक ढंगले कथा बुनिएको पुस्तकले नेपालमा दलितमुक्ति आन्दोलन, नेपाली समाजका कथालाई केही सतही भएर बुझ्न सघाउँछ ।

मञ्जरी

मञ्जरी रेणुका भट्टराईको खण्डकाव्य कृति हो । हालैमात्र सार्वजनिक भएको कृतिमा प्रगतिशील वैचारिक चेतना, सामाजिक, धार्मिक अन्धविश्वासलाई सरल संरचनामा चिणन गरिएका छन् ।

जसमा नारी संवेदना र समस्यालाई उठान गरी समाधानको पाटोलाई समेत उठान गरिएको छ । यस खण्डकाव्यलाई संवेदना, करुणा र जागृतिको त्रिवेणीका रुपमा समालोचकहरुले लिएका छन् ।

अभिलाषाका झारहरू

कवि राजेन्द्र ओझा ‘नयन’को पहिलो कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’ हालै बजारमा आएको हो । सरल र सहज भाषाशैलीमा सिर्जना भएको ओझाको कविताहरुमा मौलिक शैलीमा रचनाहरु समावेश छन् । वर्गीय विभेद, प्रेम र अध्यात्म र दार्शनिक प्रभाव समेत पाइन्छ ।

प्रदीप्त मन

जुनू घिमिरेको कवितासङ्ग्रह ‘प्रदीप्त मन’ हालै मात्र राजधानीमा सार्वजनिक भएको हो । सङ्ग्रहमा समकालीन समयको स्वरलाई सरल र वोधगम्य शैलीमा प्रस्तुत गरिएका छन् । सुन्दर शब्द र इमान्दारिता भाव अभिव्यक्त गरिएको घिमिरेको सङ्ग्रहलाई जुपिटर पब्लिकेसन्सले बजारमा ल्याएको हो । यस अघि उनको ‘पसिनाको घर’ कवितासङ्गह प्रकाशित भइसकेको छ ।

डोलीभर्ना

हालै बजारमा आएको ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’ संस्कृति, रहनसहन, मनोविज्ञान र आचरणले निम्त्याएको दुर्दशालाई सम्प्रेषण गरिएको छ । यस कृतिले नेपालको सुदूरपूर्वको पहाडी परिवेशलाई सरल तरिकाले चिनाउन खोजिएको लेखकको दाबी छ ।

माबोले सामाजिक, राजनीतिक र सांस्कृतिक मनोविज्ञानलाई प्रयोग गर्दै मानवीय अनुभवहरूलाई सरल रूपले कथाहरु तया पारेका छन् । माबोको यो पहिलो कथासङ्ग्रह हो । सो कथा संग्रहलाई सांग्रीला बुक्सले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?