मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेरिस ओलम्पिक

को हुन् पौडीबाज मार्संद, जो एक्लैले पेरिस ओलम्पिकमा चार स्वर्ण जिते ?

काठमाडौँ– फ्रान्सको राजधानी पेरिसमा जारी ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण जित्ने को होला ? गत जुलाई २६ देखि शुरु भएको ओलम्पिकमा शुक्रबारसम्म ८० राष्ट्रले पदक जितेका छन् । तीमध्ये ५३ राष्ट्रले कम्तीमा एउटा स्वर्ण पदक जितेका छन् ।

सबैभन्दा धेरै स्वर्ण पदक चाहीँ अमेरिका र चीनले जितेका छन् । हालसम्म दुबै राष्ट्रले समान ३३ वटा स्वर्ण जितिसकेको छ । तेस्रो स्थानको अस्ट्रेलियाले १८ वटा स्वर्ण जित्दा जापानले १६ स्वर्ण जितेको छ । बेलायत र आयोजक फ्रान्सले भने समान १४ स्वर्ण जितेका छन् ।

अझ फ्रान्सले जितेका १४ मध्ये ४ स्वर्ण त एउटै खेलाडीले पाएका हुन् । सुन्दा अचम्म लाग्नसक्छ, तर फ्रान्सका पौडीबाज लियोन मार्संद एक्लैले यो ओलम्पिकमा ४ स्वर्ण जितेका छन् ।

ओलम्पिकको पौडीअन्तर्गत उनले २ सय मिटर ब्रेस्टस्ट्रोक, २ सय मिटर बटरफ्लाई, २ सय मिटर इन्डिभिजुअल मेड्ली र ४ सय मिटर इन्डिभिजुअल मिड्लेमा स्वर्ण पदक जितेका हुन् । त्यसबाहेक उनले यस ओलम्पिकमा ४ गुणा १ सय मिटरको मिड्ले रिलेमा पनि फ्रान्सेली टिमबाट काँस्य पदक जितेका छन् ।

उनले यो ओलम्पिकमा ४ मिड्लेमा स्वर्ण जित्ने क्रममा पौडीका महारथि अमेरिकी पौडीबाज माइकल फ्लेप्सको ओलम्पिक कीर्तिमान समेत तोडेका छन् । २२ वर्षे मार्संदले ४ मिनेट २.९५ मिलिसेकेण्डमा फ्लेप्सको ओलम्पिक कीर्तिमान भंग गर्ने क्रममा फ्लेप्स दर्शकदीर्घामै थिए । उनले दर्शकदीर्घाबाटै मार्संदको जितमा खुशी व्यक्त गरेका थिए ।

हुन पनि मार्संद र फ्लेप्सबीच धेरै समानता देख्न पाइन्छ । फ्लेप्सले मार्संदको उच्च प्रसंशा समेत गर्दै आएका छन् । फ्लेप्सकै पूर्वप्रशिक्षक बब बोम्यानले मार्संदलाई प्रशिक्षण दिँदै आएका छन् । मार्संदबारे फ्लेप्सले भनेका छन्, ‘धेरै जनाले मेरो कीर्तिमान भंग हुँदैन भनेका थिए । तर, यसो होइन । र, मेरा लागि यो प्रिय छ ।’

को हुन् मार्संद ?

सन् २००२ मा फ्रान्सको टुलुजमा जन्मेका मार्संदका आमाबुबा दुबै जना पौडीबाज नै हुन् । दुबै जनाले फ्रान्सका तर्फबाट ओलम्पिक पनि खेलिसकेका थिए । उनका बाबु जेभियर मार्संदले फ्रान्सको तर्फबाट सन् १९९६ को एटलान्टा ओलम्पिक र सन् २००० को सिड्नी ओलम्पिकमा सहभागिता जनाएका थिए भने आमा सेलिन बोनेटले पनि सन् १९९२ मा बार्सिलोना ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

सानैदेखि मार्संदलाई खेलप्रति रुची थियो । सानो उमेरमा उनी जुडो र रग्बी खेल्थे । तर, ७ वर्षको उमेर भएपछि भने उनी पौडीतर्फ आकर्षित भए । सानोमा आफू पातलो भएको र पानीमा रहँदा चिसो महसुस हुने भएकाले केही समयपछि नै पौडी त्यागेको उनले फ्रान्सको लेकिप अखबारसँग खुलासा गरेका छन् । यद्यपि छुट्टीका बेला भने आफू पौडीमा रमाउने गरेको उनको भनाइ छ ।

उनी पौडीका प्रायः सबै विधामा रुची राख्थे । खासगरी बटरफ्लाई, ब्रेस्टस्ट्रोक र फ्रिस्टाइल उनलाई मनपर्ने पौडीका विधा हुन् । आफ्ना बाबुको सल्लाहमा उनले सन् २०१७ मा केबल १५ वर्षको उमेरमा ३ सय मिटर इन्डिभिजुअल मिड्लेमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि बल्ल उनले मिड्लेमा बढी रुची राख्न थाले ।

उनले सन् २०२१ को फ्रेन्च इलाइट पौडी प्रतियोगितामा ४ सय इन्डिभिजुअल मिड्ले ३ मिनेट ०९.६५ सेकेण्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान पनि राखेका थिए । उनले सन् २०२१ मा टोकियोमा आयोजित ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।

त्यसबेला उनले ४ सय मिटर इन्डिभिजुअल मिड्लेमा छैटौँ भए भने ४ गुणा १ सय मिड्ले रिलेमा दशौँ स्थानमा सीमित रहन पुगे ।

उनी पौडी खेलबारे थप जानकारी लिन र प्रशिक्षणका लागि अमेरिका गए । सन् २०२१ मा उनी अमेरिकाको एरिजोनामा बस्न थालेका थिए । उनी अमेरिकी पौडीबाज माइकल फ्लेप्सबाट अत्यन्त प्रभावित थिए । उनले उनै फ्लेप्सका प्रशिक्षक बब बोम्यानसँग प्रशिक्षण लिन थाले ।

उनले सन् २०२३ मा जापानको फुकुओकामा सम्पन्न विश्व एक्वाटिक्स प्रतियोगितामा ४ सय मिड्ले केबल ४ मिनेट २.५० सेकेण्डमा पूरा गर्दै विश्व कीर्तिमान नै राखे ।

यस पटकको ओलम्पिकमा भने उनले सबैलाई चकित पार्दै ४ वटा स्वर्ण जितेका छन् । ओलम्पिकमा सहभागी धेरै राष्ट्रले एउटा पनि स्वर्ण जित्न नसकेको अवस्थामा एउटै खेलाडीले ४ स्वर्ण जित्नु कम आश्चर्यको कुरा चाहीँ होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?