मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘आन्छनका कथा’ र ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक

काठमाडौँ – कथाकार चन्द्र मादेन आन्छन ‘आन्छनका कथा’ र कवि अमरदीप सुनुवारको कविता सङ्ग्रह ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा ती कृतिको लोकार्पण गरेका हुन्।

आन्छनको कृतिमा ‘आमा अलप भइन्’, ‘नेता जी र माइली आमा’, ‘जनमुक्ति योद्धाको बिलौना’, ‘खलनायक मामा र महानायक भान्जा’, ‘भङ्गेरीको पीडा’ र ‘एकै रातमा नयाँ जिन्दगी’लगायत शीर्षकमा नेपाली समाज र समसामयिक विषयवस्तु समेटिएका १० वटा कथा छन् ।

त्यस्तै स्रष्टा अमरदीपको कृतिमा ‘नदीको शपथ’, ‘आस्थाका आयामहरु’, ‘मेरु लिखु नदी’, ‘साइक्याट्रिक महामारी’, ‘आधुनिक चराहरु’, ‘जेब्राक्रसको मूल्य’ र ‘सगरमाथालाई ज्ञापनपत्र’ लगायतका विभिन्न विषयवस्तु र घटना र परिस्थिति समेटिएका कविता छन् ।

समारोहमा कुलपति राईले पहिलेका कृतिमा अरुका विषयवस्तु र घटनामा आधारित भएर कथा, कविता लेखिने गरेकामा पछिल्ला समय स्रष्टाहरुले आफ्नै बारेमा लेख्दा वास्तविक विषयवस्तु सबैले बुझ्ने गरी बाहिर आउने बताए । अहिले समाजमा आफ्नो अस्तित्वको बोध र उपस्थिति जनाउनका लागि लेखनकला अघि बढाउन लागिएको पाइएको उनको टिप्पणी थियो ।

बालप्रतिभा कार्की र पाण्डेलाई पुरस्कृत

साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधि दाहालको छैटौँ स्मृति दिवसका अवसरमा बालप्रतिभा दिनेश कार्की र आस्ना पाण्डेलाई पुरस्कृत गरिएको छ ।

दाहाल यज्ञनिधि सुधा सदनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति राईले दरबार हाइस्कुलबाट कक्षा आठको परीक्षामा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रतर्फ कार्की र छात्रातर्फ पाण्डेलाई जनही रु १० हजारसहित सम्मान गरे ।

त्यसअवसरमा कुलपति राईले साहित्यकार ज्ञानमणि नेपाललाई मरणोप्रान्त रु एक लाख ५० हजार नगद र ताम्रपत्रसहित सम्मान प्रदान गरे । नेपाली साहित्य र इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिएबापत उनलाई सम्मान गरिएको हो । सो सम्मान नेपालका छोरा सन्तोषले ग्रहण गरे ।

विसं २०१० साउन ५ गते जन्मिएका दाहालको २०७५ साउन २५ गते निधन भएको थियो । लामो समयसम्म दरबार हाइस्कुलमा अध्यापन गराउने उत्कृष्ट उद्घोषक दाहालले आमनेपाली र साहित्यप्रेमीको मन जित्न सफल भएका थिए ।

उनका ‘जदौँ निबन्ध’ र ‘दाहाल यज्ञनिधिका कविता’ प्रकाशित छन् । कथित तल्लो जातिले कथित माथिल्लो जातिलाई अभिवादनमा प्रयोग गरिने जदौँ शब्दलाई रेडियो नेपालमार्फत व्यापक जनमानसमा फैलाएको श्रेय उनलाई नै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?