काठमाडौँ– केही दशकयता नेपालमा विदेशी फिल्मको दबदबा बढिरहेको छ । इन्टरनेटको विकासले दर्शकले विदेशी फिल्म हेर्न थालेसँगै नेपाली फिल्मलाई घरेलु बजारमा लगानी सुरक्षित गर्न पनि हम्मे हम्मे परिरहेको छ ।
केही वर्षयता सामाजिक कथामा नेपाली फिल्महरु निर्माण भइरहेपछि दर्शकले फरक स्वादका लागि विदेशी फिल्म हेर्न थालेका छन् । अर्कातिर नेपालका मल्टिप्लेक्स हलले पनि नेपालीभन्दा विदेशी फिल्मलाई बढी प्राथमिकता दिने गरेका छन् ।
वर्षमा एकाध फिल्मलाई छोड्ने हो भने प्रायः फिल्मले विदेशी फिल्मका तुलनामा कम शो पाउँछन् । यसले गर्दा नेपाली निर्माता बेलाबेलामा हल सञ्चालकसँग भड्किने गरेका छन् ।
यतिबेला भने नेपालका हलमा तीन नेपाली फिल्म प्रदर्शनरत छन् । तीमध्ये दयाहाङ राई र मिरुना मगरको ‘घरज्वाइँ’ पाँचौ हप्तामा प्रदर्शनरत छ भने वर्षा शिवाकोटीको ‘मोदीबेनी’ दोस्रो हप्तामा प्रदर्शनरत छ तर धेरै हलले यो फिल्म दोस्रो हप्तामै हटाइसकेका छन् । तुलनात्मक रुपमा यी फिल्मले पनि कम शो पाएका छन् ।
आजबाट प्रदर्शनमा आएको फिल्म ‘नम्बरी सुन’ ले पनि न्यून शो पाएको छ ।
यी बाहेक हलमा अङ्ग्रेजी फिल्म ‘डेडपुल एण्ड उल्भरिन’ ‘बोर्डरल्याण्ड’, ‘डिस्पिकेवल मी ४’ प्रर्दशनरत छन् । यी फिल्ममध्ये ‘डेडपुल एण्ड उल्भरिन’ ले उत्साहजनक व्यापार गरेको छ । त्यसो त मार्भल युनिभर्सको सुपरहिरोमा आधारित यो फिल्म विश्वभर नै चर्चामा छ ।
त्यस्तै हिन्दी फिल्म ‘औरोँ मे कहाँ दम था’, ‘कल्की’, ‘ब्याड न्यूज’, ‘रायन’ पनि हलमा प्रदर्शन भइरहेका छन् । यी फिल्म नेपालमा सबैभन्दा धेरै हल भएको क्युएफएक्स चेन अन्तर्गतका हलमा प्रदर्शन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया